७५० सीसी इन्जिनसहित रोयल इन्फिल्ड हिमालयन ७५० सार्वजनिक, यस्ता छन् फिचर

Nov 14, 2026 11:16 AM Merolagani



रोयल इन्फिल्डले भारतीय बजारमा आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल हिमालयन ७५० ‘लन्च’ गरेको छ । 

केही दिनअघि मात्रै कम्पनीले ईआईसीएमए २०२६ मा सार्वजनिक गरेको यो मोटरसाइकल शक्तिशाली इन्जिन,आधुनिक प्रविधि र नयाँ डिजाइनका कारण चर्चामा आएको छ।

बेलायतमा यसको मूल्य एलोय ह्विल भेरियन्टका लागि ६ हजार ९९९ पाउन्ड र स्पोक्ड ह्विल भेरियन्टका लागि ७ हजार २९९ पाउन्ड तोकिएको छ। नेपाली रुपैयाँमा यो क्रमशः करिब ८ लाख ९२ हजार र ९ लाख ३० हजार हुन्छ।

यसको टप भेरियन्ट एन्टार्कटिक सिल्भरको मूल्य ८ हजार ६९९ पाउन्ड अर्थात् करिब ११ लाख ९ हजार नेपाली रुपैयाँ तोकिएको छ। उक्त भेरियन्टमा एल्युमिनियम स्किड प्लेट, हिटेड ग्रिप्स, टप बक्स, ह्यान्डगार्ड र प्यानियरलगायतका जीभीआईका एसेसरिज उपलब्ध हुनेछन्।

भारतीय बजारमा यसको सार्वजनिक हुने मिति कम्पनीले घोषणा गरेको छैन। यद्यपि, छिट्टै बजारमा आउने अपेक्षा गरिएको छ।

इन्जिन र पावर

हिमालयन ७५० मा नयाँ ७४३ सीसी क्षमताको एयररओइल कुल्ड प्यारालल ट्विन इन्जिन दिइएको छ। उक्त इन्जिनले ७ हजार आरपीएममा ५५ बीएचपी अधिकतम पावर र ५ हजार आरपीएममा ६३ एनएम टर्क उत्पादन गर्छ।

यसमा ६ स्पिड गियरबक्स र स्लिप एन्ड असिस्ट क्लच दिइएको छ। कम्पनीका अनुसार इन्जिनले ३ हजार ५०० आरपीएमदेखि नै अधिकतम टर्कको ९० प्रतिशत उपलब्ध गराउँछ।

६५० सीसीको पुरानो प्यारालल ट्विन इन्जिनको तुलनामा नयाँ इन्जिनमा ठूलो स्ट्रोक, म्याग्नेसियम कभर, बढी भल्भ लिफ्ट र परिमार्जित सिलिन्डर बोरलगायतका विशेषता छन्।

सस्पेन्सन, टायर र ब्रेकिङ

नयाँ फ्रेममा आधारित हिमालयन ७५० मा अगाडि ४३ एमएमको सोवा अपसाइड डाउन फोर्क र पछाडि सोवा लिङ्क्ड मोनोसक सस्पेन्सन दिइएको छ। यसमा अगाडि १९ इन्च र पछाडि १७ इन्चका पाङ्ग्रा छन्।

ट्युबलेस स्पोक ह्विल भेरियन्टमा अगाडि ११० र पछाडि १५० सेक्सनका भर्डेस्टिन सेन्टाउरो एक्सआर टायर प्रयोग गरिएको छ। एलोय ह्विल भेरियन्टमा भने सिएट क्रसराड आरटी टायर उपलब्ध हुनेछन्।

ब्रेकिङका लागि अगाडि २८० एमएमका डबल डिस्क र पछाडि २५५ एमएमको डिस्क ब्रेक दिइएको छ। हिमालयन ४५० को तुलनामा नयाँ हिमालयन ७५० करिब ३० केजी भारी छ। यसको ग्राउन्ड क्लियरेन्स २०५ एमएम र इन्धन ट्यांकी क्षमता १७.८ लिटर रहेको छ।

डिजाइन र कलर विकल्प

हिमालयन ७५० पाँचवटा कलर विकल्पमा उपलब्ध हुनेछ। यसमा भाइकिन ब्रन्ज, साइबेरिया ह्वाइट, एन्टार्कटिक सिल्भर, टेक्टोनिक ब्ल्याक र एज्टेक ग्रिन रहेका छन्।

एड्भेन्चर मोटरसाइकलको पहिचान झल्काउने गरी यसको डिजाइन तयार गरिएको छ। गोलाकार एलईडी हेडल्याम्प, मस्कुलर फ्युल ट्यांकी, अग्लो विन्डस्क्रिन, स्प्लिट सिट, अपराइट ह्यान्डलबार र अग्लो स्थानमा राखिएको एक्जस्ट पाइप यसको मुख्य आकर्षण हुन्।

आधुनिक फिचर र प्रविधि

नयाँ हिमालयन ७५० मा ४ इन्चको टीएफटी डिस्प्ले दिइएको छ। यसले ओभर द एयर (ओटीए) अपडेट, कल तथा एसएमएस अलर्ट, गुगल म्याप मिररिङ र स्मार्टफोन कनेक्टिभिटी सपोर्ट गर्छ।

यसमा राइड बाइ वायर थ्रोटलसहित पाँचवटा राइडिङ मोड उपलब्ध छन्। कस्टम, रोड, ट्रेल, रोड स्पोर्ट र रेन मोडमार्फत चालकले आफ्नो आवश्यकता र सडकको अवस्थाअनुसार मोटरसाइकल चलाउन सक्नेछन्।

त्यस्तै, दुईवटा यूएसबी टाइप–सी चार्जिङ पोर्ट, क्रुज कन्ट्रोल, सेल्फ क्यान्सलिङ इन्डिकेटर र डुअल च्यानल कर्नरिङ एबीएस दिइएको छ।

यसमा चार तहमा समायोजन गर्न मिल्ने ट्र्याक्सन कन्ट्रोल सिस्टमसमेत छ। लो, मिडियम, हाई र अफ गरी चार विकल्पमा उपलब्ध यस प्रणालीले विभिन्न सडक तथा राइडिङ अवस्थाअनुसार मोटरसाइकलको नियन्त्रणमा सहयोग पुर्‍याउनेछ।