आन्दोलनका निम्ति तयार रहन ओलीले दिए निर्देशन

Nov 14, 2026 06:32 PM Merolagani



नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राजनीतिक प्रभावलाई पुनः स्थापित गर्न लाग्नुपर्नेमा जोड दिएका छन् । शनिबार (कात्तिक २८) एमाले वाग्मती प्रदेश कमिटीको बैठकमा उनले आउँदो निर्वाचन र राजनीतिक आन्दोलनका निम्ति तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन दिए ।

उनले एमालेलाई देशको सही विचार बोकेको, संगठित, प्रभावकारी र उज्यालो भविष्य भएको पार्टी हो भन्ने स्थापित गर्नुपर्ने बताए । केन्द्रीय कमिटीले निर्धारण गरेका दुई प्रमुख कार्यभार आन्दोलन र निर्वाचन रहेको उनले उल्लेख गरे । उनले पार्टीका सबै जनवर्गीय, पेसागत तथा सामुदायिक संगठनलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिए ।

कुनै पनि जनसंगठन शिथिल हुन नहुने भन्दै उनले पार्टीप्रतिको निष्ठामा कमी देखिएको बताए । उनले कार्यकर्ताको भूमिकामाथि समेत प्रश्न उठाए ।

उनले विशेष गरी वागमती प्रदेशमा एमालेको संगठनात्मक अवस्था कमजोर भएको उल्लेख गर्दै त्यसलाई सुधार्नुपर्ने बताए ।

कार्यक्रममा केपी ओलीले भने- 'नेकपा (एमाले) सिद्धियो भन्ने जुन कुरा छ, त्यो होइन भन्नका लागि हामीले दुइटा कुराबाट नेकपा (एमाले) सिद्धियो होइन, नेकपा (एमाले) देशको सबैभन्दा सही विचार बोकेको, सबैभन्दा संगठित, सबैभन्दा प्रभावकारी र सबैभन्दा कर्मठ र उज्यालो भविष्य भएको पार्टी हो भन्ने कुरा आन्दोलन र निर्वाचन बाट फेरि हामीले देखाउनुपर्छ । यसका लागि साथीहरू तयार रहन म आग्रह गर्न चाहन्छु । हामीले दुई कार्यभार भनेका छौँ केन्द्रीय कमिटीबाट । एउटा, आन्दोलनको कार्यभार । यो कुरा बेठिक भनेर मात्रै सप्रिनेवाला छैन । त्यसकारण हामीले आन्दोलनमा जान जरुरी छ र चुनावमार्फत एउटा यस्तो इम्प्रेसन, नयाँ इम्प्रेसन फेरि जगाउन, दिन जरुरी छ, ताकि मान्छेहरूले बुझून् । त्यसो भएको हुनाले हामीले सबै जनवर्गीय, पेसागत, सामुदायिक संगठनहरूलाई सञ्चालन गर्ने । हाम्रो कुनै पनि जनसंगठन शिथिल हुनु हुँदैन । जनसंगठनमा पनि कतिपय काम नलाग्ने, कतिपयमा अनौठो ढंगले पार्टीप्रतिको निष्ठामा गम्भीर कमी देख्छु म । पार्टी कार्यकर्तामा कार्यकर्ता हुँ भन्नका लागि यो लक्षण उपयुक्त हुँदैन, यो लक्षण हटाउनुपर्छ र मात्रै कार्यकर्ता हुन सकिन्छ । पार्टीप्रतिको निष्ठा छैन भने कार्यकर्ता हुँदैन । हाम्रो पार्टीप्रति निःसर्त निष्ठा हुनुपर्दछ । सर्तसाथ होइन, स्वार्थसाथ होइन । सर्त र स्वार्थबाट पार्टी मान्ने भनेको त त्यस्तो अवसरवादी त जति पनि भेटिन्छ । अब चुनाव आउन लागेका बेलामा त जे पनि हुन्छ । त्यसकारण हामीले त्यो बिल्कुलै भ्रममा पर्नु हुँदैन । वाग्मती प्रदेश नहुनुपर्ने गरी कमजोर भएको छ । अब यो सिलसिला अन्त्य हुनुपर्छ र वाग्मती प्रदेश नमुना एमालेमय, एमाले प्रदेश हुनुपर्दछ । कुनै समयमा राजधानीमा पनि एमालेको एकछत्र थियो । वाग्मती प्रदेशमा पनि यी ठाउँहरूमा एकछत्र थियो । यतिखेर हामी अलिक निकै नराम्ररी पछाडि परेका छौँ । अरूले भन्दा हामी आफैँ पछाडि परेका छौँ । कहिले–कहिले जनता हावाका भरमा कुइराको काग बनेर कुदेको देखिन्छ । के काम गरेर आयो त्यो मान्छेले, खोजी छैन । के पृष्ठभूमि, खोजी छैन । के इतिहास, खोजी छैन । के विचार छन्, उसका राम्रा विचार के छ, त्यो पनि थाहा छैन । देश बनाउने कतै कुरा छैन । चरित्र, आचरण, आर्थिक क्रियाकलाप, आर्थिक आचरण, सामाजिक क्रियाकलाप, ढोँगी, सोही, यथार्थमा भन्ने हो भने अत्यन्त खतरनाक छ । तर, मान्छे लहलहैमा पछि परेको छ । निर्लज्जताका साथ बोलेको छ त्यसको पक्षमा । यस्ता कुराहरू देखिन्छ । त्यसकारण यी कुराहरूबाट जनतालाई कसरी मुक्त गर्ने, त्यो हाम्रो अहोरात्र हो, हाम्रो काम हो । त्यसकारण अब त्यो भ्रममा परेर त्यसरी कुदेको लहलहैमा कुदेको जनतालाई पनि हामीले सम्झाउनैपर्छ, फर्काउनैपर्छ । यो काम हामीले गर्नुपर्छ । खासगरी युवाहरूलाई परिचालित गर्नुहोस्, युवाहरूमा जानुहोस्, युवाहरूलाई कार्यकर्ता बनाएर परिचालित गर्नुहोस् । युवाहरूलाई परिचालित गर्न सकिएन भने सफलता सजिलो हुँदैन ।'