उनले अदालतले निष्पक्ष न्याय दिने विश्वास व्यक्त गर्दै आफूहरूमाथि अन्याय नहुने जिकिर गरे । देउवाले पञ्चायतकालदेखि नै अदालतले निष्पक्ष न्याय दिएको स्मरण गरे ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिएको समयमा आफूलाई शाही आयोगमार्फत जेल हालिएको प्रसंग पनि उनले सुनाए । त्यति बेला राजाको प्रत्यक्ष शासन रहेका कारण सर्वोच्चले आफूलाई न्याय दिन सक्ला कि नसक्ला भन्ने आशंका रहे पनि अदालतले साहस गरेर आफूलाई रिहा गरेको उनले बताए ।
राजाको शासनकालमा समेत न्याय दिन सक्ने अदालतले अहिले पनि पार्टीको आधिकारिकता विवादमा निष्पक्ष न्याय गर्ने उनको विश्वास छ । उनले आफूहरूले न्याय पाउने र अन्ततः आफ्नो पक्षको जित हुने जिकिर गर्दै पार्टीका नेता–कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा शेरबहादुर देउवाले भने– 'मलाई नेपालको न्यायपालिकाप्रति पूर्ण विश्वास छ । सर्वोच्च अदालत कुनै आर्थिक प्रलोभनमा बिक्ने संस्था होइन । अदालतले निष्पक्ष र स्वतन्त्र रूपमा न्याय दिनेछ भन्ने मेरो दृढ विश्वास छ । पञ्चायतकालदेखि नै मैले न्यायपालिकाको भूमिका देख्दै आएको छु । राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनसत्ता हातमा लिएका बेला शाही आयोग गठन गरेर मलाई जेलमा राखिएको थियो । त्यस बेला पनि मैले आफ्नो परिवारलाई अदालतबाट न्याय पाउने विश्वास दिलाएको थिएँ । राजाको प्रत्यक्ष शासनका बेला समेत सर्वोच्च अदालतले शाहसपूर्वक न्याय दिएको इतिहास छ । त्यसैले अहिले पनि अदालतले निष्पक्ष न्याय गर्नेछ भन्नेमा म विश्वस्त छु । हामीले न्याय पाउनेछौँ र अन्याय हुनेछैन भन्ने विश्वास लिएको छु । म धेरै समय लिन चाहन्नँ । हाम्रो जित अवश्य हुनेछ भन्ने विश्वासका साथ अगाडि बढौँ । जनता हाम्रो साथमा छन्, पार्टी हाम्रो साथमा छ र देशको हित नै हाम्रो मूल उद्देश्य हो । जनताको विश्वास र साथ लिएर देश तथा जनताको सेवामा निरन्तर समर्पित हुँदै अघि बढौँ ।'