नेपाल आयल निगमले भने बजारमा ग्यासको आपूर्ति तथा वितरण सहज रहेको दाबी गर्दै आएको छ । चाडपर्वपछि ग्यासको ढुवानीमा केही समस्या देखिए पनि बजारमा वितरण प्रणालीमा कुनै ठूलो समस्या नरहेको निगमको दाबी छ । तर, उपभोक्ताको अनुभव भने सरकारी निकायको दाबीसँग मेल खाँदैन ।
काठमाडौंको घट्टेकुलोमा बस्दै आएकी सीता आचार्यले पछिल्ला दिनमा ग्यास पाउन असहज भइरहेको बताइन् । उनका अनुसार खाली सिलिन्डर पसलमा बुझाएको एक हप्ताभन्दा बढी भइसक्दा पनि ग्यास पाउन सकेकी छैनन् ।
‘चाडपर्व सकिएपछि खाली भएको ग्यास सिलिन्डर पसलमा छोडेको हप्ता दश दिन भयो । पसलले ग्यास आएको छैन भन्छ,’ उनले भनिन् । घट्टेकुलोकै अर्का उपभोक्ता सञ्जय शाहको अनुभव पनि उस्तै छ । उनले खाली सिलिन्डर बुझाएको लामो समय भइसक्दा पनि ग्यास नपाएको बताए । ‘खाली सिलिन्डर बुझाएको धेरै भयो । ग्यास आएको छैन भन्छन् व्यापारी,’ उनले भने, ‘पहिलेभन्दा अहिले ग्यास पाउन केही गाह्रो भइरहेको छ ।’
बालाजुका रमेश ज्ञवालीले पनि दुईवटा सिलिन्डर हुँदाहुँदै ग्यास अभावको समस्या भोग्नुपरेको बताए । उनका अनुसार एउटा सिलिन्डर खाली भएपछि पसलमा बुझाएको दुई हप्ता पुग्न लाग्दा पनि भरिएको सिलिन्डर पाउन सकेका छैनन् ।
‘दुईमध्ये एउटा खाली सिलिन्डर पसलमा बुझाएको दुई हप्ता भइसक्यो । तर, पसलवालाले ग्यास आएको छैन, आएपछि खबर गर्छु भन्दै झुलाइरहेका छन्,’ उनले भने ।
निगमको दाबी– आपूर्ति सहज छ, समस्या छैन
उपभोक्ताले ग्यास पाउन नसकेको गुनासो गरिरहँदा सरकारी निकायले भने बजारमा आपूर्ति सहज रहेको दाबी गर्दै आएको छ । नेपाल आयल निगमका अनुसार चाडपर्व सकिएपछि ग्यासको मागमा आएको परिवर्तन र ढुवानी व्यवस्थापनका कारण केही ठाउँमा वितरणमा ढिलाइ हुन सक्ने भए पनि समग्र आपूर्ति प्रणालीमा समस्या छैन ।
तर, निगमको दाबी र बजारको अवस्थाबीच अन्तर देखिएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उपभोक्ताले एकदेखि दुई हप्तासम्म ग्यास नपाएको बताइरहेका छन् । यसले ग्यासको वास्तविक आपूर्ति अवस्था र वितरण प्रणालीबारे प्रश्न उठाएको छ ।
उद्योगी भन्छन्– ढुवानीमा समस्या हुँदा बजारमा ग्यास कम
ग्यास उद्योगीहरूका अनुसार पछिल्ला दिनमा ग्यासको ढुवानीमा कमी आएको छ । ढुवानी प्रभावित हुँदा उद्योगबाट बजारसम्म पुग्ने ग्यासको परिमाणमा असर परेको उनीहरूको भनाइ छ ।
कतिपय ग्यास विक्रेताले समेत उद्योगबाट पर्याप्त ग्यास नआएको भन्दै उपभोक्तालाई सिलिन्डर उपलब्ध गराउन नसकेको बताइरहेका छन् । उद्योगबाट नियमित रूपमा ग्यास नआउँदा बजारमा वितरण चक्र प्रभावित भएको उनीहरूको भनाइ छ ।
यसरी एकातिर निगमले आपूर्ति सहज रहेको दाबी गरिरहेको छ भने अर्कोतिर उद्योगी तथा व्यवसायीले ढुवानीमा समस्या देखाइरहेका छन् । त्यसको प्रत्यक्ष मार भने ग्यासका लागि पसल धाउनुपर्ने उपभोक्ताले खेपिरहेका छन् ।
दैनिक खाना पकाउन एलपीजी ग्यासमै निर्भर रहेका सर्वसाधारणलाई समयमा सिलिन्डर उपलब्ध नहुँदा भान्साको व्यवस्थापनमै समस्या पर्न थालेको छ । विशेषगरी वैकल्पिक इन्धनको व्यवस्था नभएका परिवारलाई ग्यासको अनियमित आपूर्तिले थप सास्ती दिएको छ ।