सुवास निरौला
सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट हुँदै ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्यलाई मूर्तरूप दिन नयाँ ऊर्जा नीति तर्जुमा प्रक्रिया सुरु गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अब बन्ने जलविद्युत आयोजनाहरूको प्रकृतिअनुसार स्पष्ट कोटा निर्धारण गरेर मात्र नयाँ विद्युत खरिद सम्झौता (पीपीए) खुलाउने गरी नीतिगत गृहकार्य थालेको हो। नयाँ व्यवस्थाअनुसार नदी प्रवाहमा आधारित (आरओआर), अर्ध–जलाशययुक्त (पीआरओआर), पूर्ण जलाशययुक्त (स्टोरेज) र सौर्य (सोलार) लगायतका वैकल्पिक ऊर्जाको निश्चित प्रतिशत र परिमाण (कोटा) तोकिनेछ। हाल निजी क्षेत्रबाट पीपीएको माग उच्च भए पनि नेपाल विद्युत प्राधिकरणले बिजुली खेर जाने जोखिम देखाउँदै पीपीए रोकेको अवस्थामा मन्त्रालयले कोटा प्रणालीमार्फत निकास खोज्न लागेको हो।
ऊर्जा मन्त्रालयका सल्लाहकार एवम् स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का पूर्वअध्यक्ष गणेश कार्कीले ३० हजार मेगावाटको लक्ष्य भेट्टाउन कुन प्रकृतिका आयोजना कति क्षमतामा बनाउने भन्ने स्पष्ट खाका तयार भइरहेको बताए। “३० हजार भनेको के हो? केमा कति, कुनको कति बनाउने, कस्ता खालका प्रोजेक्ट बनाउने भनेर एउटा नीति बनाउन मन्त्रालय अगाडि बढिरहेको छ,” कार्कीले भने, “३० हजार मेगावाटमा स्टोरेज कति बनाउने, पीआरओआर कति बनाउने, रन अफ रिभर कति बनाउने र अल्टरनेटिभ इनर्जी भनेको सोलारलगायत अन्य ऊर्जा कति पुर्याउने भन्ने स्पष्ट नीति बनाएर त्यही अनुसारको कोटा खोल्दै पीपीए गर्ने सरकारको सोच हो।”
इपानसहितको कार्यदल गठन अन्तिम चरणमा
मन्त्रालयको कार्य महाशाखाले यससम्बन्धी प्राविधिक तथा नीतिगत मापदण्ड तय गर्न सरोकारवालाहरू सम्मिलित एक उच्चस्तरीय समिति गठनको तयारी गरेको छ। समितिमा मन्त्रालय, विद्युत प्राधिकरण, ऊर्जा विज्ञ र निजी क्षेत्रको तर्फबाट इपानका प्रतिनिधिहरू रहनेछन्। समितिको औपचारिक संरचना र सदस्यहरूको नामावली एक–दुई दिनभित्रै टुंगो लाग्ने कार्कीले जानकारी दिए। “कार्य महाशाखाले बनाउने समितिमा बाहिरको, भित्रको र इपानसहितका मान्छेहरू राखेर बनाउने कुरा भएको छ,” उनले थपे, “त्यो समिति बनेपछि त्यसैको सिफारिसका आधारमा पीपीएको कोटा निर्धारण प्रक्रिया अघि बढ्छ।”
बजेटको अन्योल र पीपीएको गतिरोध चिर्ने प्रयास
हाल चालू आर्थिक वर्षको बजेट वक्तव्यमा समावेश केही प्रावधानका कारण १० मेगावाटभन्दा माथिका आयोजनाको पीपीए प्रक्रिया अन्योलमा परेको छ। बजेटमा १० मेगावाटसम्मका आयोजनाको पीपीए खुला गर्ने भनिए पनि सोभन्दा माथिका आयोजनाको हकमा "उत्पादन र मागको सन्तुलन मिलाउने" तथा "वर्षायामको बिजुली प्रतिस्पर्धाका आधारमा घटाघटमा किन्ने" सर्त राखिएको छ।
संसद्बाट पारित बजेटको उक्त व्यवस्थाका कारण विद्युत प्राधिकरणले वित्तीय जोखिम मोलेर थप पीपीए गर्न हिचकिचाइरहेको छ। हिउँदमा विद्युत अपुग हुने र वर्षायाममा खेर जाने अवस्थाका बीच प्राधिकरण ‘टेक एन्ड पे’ को विवादमा फस्ने डरले अनिर्णित बनेको हो। नयाँ नीतिले आयोजनाको विविधीकरण सुनिश्चित गर्ने भएकाले प्राधिकरणको वित्तीय जोखिम समेत घट्ने विश्वास मन्त्रालयको छ।
पूँजी परिचालन र लगानीकर्तालाई स्पष्टता
प्रकृतिअनुसारको कोटा प्रणाली लागू भएपछि जलविद्युत क्षेत्रमा हुने अर्बौं रुपैयाँको लगानी थप सुरक्षित हुने अपेक्षा गरिएको छ। हाल अधिकांश लगानी आरओआर आयोजनामा मात्र केन्द्रित हुँदा हिउँदमा उत्पादन एक–तिहाइमा झर्ने समस्या छ।
नयाँ नीतिले जलाशययुक्त र पिकिङ आयोजनालाई प्राथमिकता दिँदै निश्चित कोटा र आकर्षक प्रतिफलको सुनिश्चितता गरेमा ठूलो संस्थागत पूँजी र वैदेशिक लगानी आकर्षित हुनेछ। साथै, आयोजनाहरूको वित्तीय व्यवस्थापन सहज भई शेयर बजारमार्फत सर्वसाधारणबाट पूँजी संकलन गर्ने बाटो समेत थप पारदर्शी र व्यवस्थित बन्ने निजी क्षेत्रको ठम्याइ छ।
सरकारले आन्तरिक खपत बढाउने र भारत तथा बंगलादेशमा विद्युत निर्यात गर्ने दीर्घकालीन रणनीति लिएकाले त्यसलाई थेग्न सक्ने गरी प्राविधिक मिश्रण मिलाउन नयाँ कोटा प्रणाली कोशेढुंगा साबित हुने कार्कीको भनाई छ।