बन्द उद्योग ब्युँताउन तीन विकल्प: लिज, शेयर विनिवेश कि सरकारी पूँजी? समितिमा प्रस्ताव पेस गरिँदै, कुन बाटो रोज्ला सरकारले?

Nov 29, 2026 11:11 AM Merolagani



सुवास निरौला
विगतमा चरम घाटा, राजनीतिक हस्तक्षेप र अव्यवस्थाका कारण बन्द भएका सरकारी स्वामित्वका रुग्ण उद्योगहरूलाई अब पूर्ण खारेजी (लिक्विडेसन) मा नलैजाने निष्कर्षमा सरकार पुगेको छ। 

विस्तृत सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) प्रतिवेदनले यी उद्योगहरूको भौतिक पूर्वाधार, जग्गा र ऐतिहासिक साख अझै कायमै रहेको देखाउँदै पुनर्जीवनका लागि स्पष्ट तीन वटा विकल्प सिफारिस गरेको छ।अध्ययन समितिले अघि सारेका ती विकल्प हुन्— उद्योगहरूलाई निश्चित अवधिका लागि निजी क्षेत्रलाई लिज (भाडा) मा दिने, सरकारले शेयर विनिवेश गरी सार्वजनिक–निजी साझेदारी मोडलमा लैजाने अथवा सरकार आफैँले थप पूँजी परिचालन गरेर कारखाना सञ्चालन गर्ने।

यी तीन विकल्प अगाडि आएसँगै बन्द उद्योग सञ्चालनको कार्ययोजनालाई औपचारिकता दिन सरकारले उच्चस्तरीय समितिमा प्रस्ताव पेस गर्ने अन्तिम तयारी पूरा गरेको छ। समितिमा प्रस्ताव लैजाने तयारी भइरहँदा नीतिगत तथा आर्थिक वृत्तमा अहिले सबैभन्दा पेचिलो प्रश्न उठेको छ— विगतको असफलता र वर्तमानको वित्तीय दबाबबिच सरकार अन्ततः कुन विकल्पमा जाला ?

समितिमा प्रस्ताव पेस गर्ने कार्यतालिका तय

अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बन्द रहेका सात वटा रुग्ण उद्योगको डीडीए सम्पन्न भइसकेको छ। मन्त्रालयले पहिलो चरणमा गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगलाई प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको छ।

अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक संस्थान समन्वय महाशाखाका एक अधिकारिका अनुसार तीन वटै उद्योगको मूल्याङ्कन प्रतिवेदन अध्ययन सकेर ‘सार्वजनिक लगानी व्यवस्थापन समिति’ मा पेस गर्न लागिएको हो। पहिलो चरणमा गोरखकाली रबर उद्योगको विस्तृत प्रतिवेदन अबको एक साताभित्र समितिमा पेस गरिने उनले जानकारी दिए। यसैगरी, उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको प्रतिवेदन पनि आगामी एक महिनाभित्र समितिमा पेस गर्ने तयारी गरिएको उनको भनाई छ।

सार्वजनिक लगानी व्यवस्थापन समितिको नेतृत्व अर्थमन्त्रीले गर्ने कानुनी व्यवस्था छ। समितिमा पेस हुने प्रतिवेदनमाथि विस्तृत छलफल गरेर उद्योगलाई सरकार आफैँले चलाउने, निजी क्षेत्रलाई लिजमा दिने वा शेयर विनिवेश गरेर व्यवस्थापन सुम्पिने भन्नेबारे ठोस सिफारिस गरिनेछ। समितिले अनुमोदन गरेको सोही सिफारिसका आधारमा अन्तिम निर्णयका लागि प्रस्ताव मन्त्रिपरिषदमा लगिने कार्ययोजना छ।

अध्ययनको निष्कर्ष : खारेजी होइन, पुनर्सञ्चालन

गत वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि बन्द रहेका सात वटा उद्योग सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो। सोही निर्णयअनुसार अर्थ मन्त्रालयले डीडीए गराएको थियो। बाँकी चार उद्योगहरूमा बुटवल धागो कारखाना, नेपाल ओरिएन्ट म्याग्नेसाइट, नेपाल मेटल कम्पनी र जनकपुर चुरोट कारखाना रहेका छन्।

अध्ययन समितिले कुनै पनि उद्योगलाई सधैँका लागि बन्द वा खारेज गर्न सिफारिस गरेको छैन। उद्योगहरू लामो समय बन्द रहँदा जग्गाको मूल्य आकासिएका कारण सम्पत्तितर्फको वित्तीय आकार निकै बढेको देखिएको छ। तर, विगतमा करोडमा लिइएको ऋणको साँवाब्याज वर्षौंसम्म नतिर्दा थपिँदै गएर अहिले अर्बौंको दायित्व सिर्जना भएको मन्त्रालयको भनाइ छ। यस्तो अवस्थामा उपयुक्त साझेदार भित्र्याउन सके उद्योगहरू फेरि नाफामा जान सक्ने प्रतिवेदनको ठम्याइ छ।

तीन विकल्पको लेखाजोखा : कुन बाटो कति व्यावहारिक ?

१. निजी क्षेत्रलाई लिज (भाडा) मा दिने विकल्प
बन्द उद्योगहरूको स्वामित्व र बहुमूल्य जग्गा पूर्ण रूपमा सरकारकै नाममा राखेर निश्चित अवधिका लागि निजी क्षेत्रलाई लिजमा दिनु सबैभन्दा कम जोखिमपूर्ण बाटो मानिएको छ। यस मोडलमा सरकारले दैनिक व्यवस्थापकीय झन्झट र सम्भावित वित्तीय घाटाको भार बोक्नुपर्दैन भने राज्यलाई निश्चित भाडा आम्दानी भइरहन्छ। निजी क्षेत्रले आफ्नै लगानीमा आधुनिक मेशिनरी भित्र्याएर उत्पादन सुरु गर्न सक्छ।

२. शेयर विनिवेश र साझेदारी (Disinvestment Model)
अर्को भरपर्दो विकल्प सरकारी शेयर विनिवेश गरी निजी क्षेत्रलाई रणनीतिक साझेदारका रूपमा भित्र्याउनु हो। उद्योगमा सरकारले आफ्नो शेयर स्वामित्वको केही हिस्सा निजी क्षेत्रलाई बिक्री गरेर व्यवस्थापकीय जिम्मेवारी सुम्पिन सक्छ। यसले एकातिर उद्योगमा व्यावसायिक व्यवस्थापन र ताजा पूँजी भित्र्याउँछ भने अर्कोतिर उद्योग नाफामा जाँदा सरकारले नियमित लाभांश समेत पाउँछ। सार्वजनिक–निजी साझेदारीको यो अभ्यास अन्तर्राष्ट्रिय रूपमा निकै सफल मानिन्छ।

३. सरकार आफैँले पूँजी थपेर चलाउने विकल्प
तेस्रो विकल्पका रूपमा सरकार आफैँले राज्यको ढुकुटीबाट बजेट छुट्याएर उद्योग ब्युँताउने चर्चा पनि छ। तर, विगतको तीतो अनुभव हेर्दा यो विकल्प सबैभन्दा बढी जोखिमपूर्ण र आलोचित छ। सरकारी कर्मचारी वा राजनीतिक नियुक्तिका आधारमा चल्ने व्यवस्थापनले खुला बजारमा निजी क्षेत्रका उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा नै यी उद्योगहरू धराशायी बनेका थिए। फेरि पनि राज्यको ढुकुटीबाट अर्बौं रुपैयाँ लगानी गर्दा त्यो बालुवामा पानी खन्याए सरह हुने जोखिम विश्लेषकहरू औँल्याउँछन्।

सहजीकरणका लागि ऐन नै संशोधन गरेर निकास खोज्दै सरकार

सरकारले केवल प्रशासनिक निर्णयबाट मात्र रुग्ण उद्योग सञ्चालन सम्भव नदेखेपछि कानुनी गाँठो फुकाउन ऐनहरू नै संशोधनको प्रक्रिया अघि बढाएको छ। ‘लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ मार्फत औद्योगिक व्यवसाय ऐन, दामासाही ऐन र भूमिसम्बन्धी ऐनमा व्यापक सुधार प्रस्ताव गरिएको छ।

प्रस्तावित अध्यादेशमार्फत औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ३९ संशोधन गरी रुग्ण घोषित उद्योगहरूले पुनः सञ्चालन वा उत्पादन क्षमता सुधारका लागि प्रविधि, वित्तीय व्यवस्थापन, बजार र रोजगारी सुधारसहितको 'पुनरुत्थान योजना' (Revival Plan) उद्योग मन्त्रालयसमक्ष पेस गर्न सक्ने व्यवस्था गरिएको छ। मन्त्रालयले यस्तो योजना प्राप्त भएको ३० कार्यदिनभित्र अनिवार्य निर्णय गरिसक्नुपर्ने समयसीमा तोकिएको छ।

यसैगरी, उद्योगहरूलाई सिधै खारेजीमा जानबाट रोक्न दामासाही सम्बन्धी ऐन, २०६३ मा संशोधन प्रस्ताव गर्दै साहूहरूसँगको सहमतिमा ऋणको पुनर्तालिकीकरण गर्ने, नयाँ पूँजी तथा वित्तीय सहायता भित्र्याउने र व्यवसाय पुनर्गठन सम्झौता गर्न पाउने कानुनी बाटो खोलिएको छ।

त्यस्तै, उद्योगहरूको बहुमूल्य जग्गा व्यवस्थापनका लागि भूमिसम्बन्धी ऐन, २०२१ मा संशोधन प्रस्ताव गरी हदबन्दी छुट प्राप्त जग्गालाई उद्योगको वित्तीय पुनर्संरचनाका लागि बैंकमा धितो राख्न पाउने तथा प्रयोगविहीन जग्गालाई सरकारको पूर्वस्वीकृतिमा निश्चित अवधिका लागि उत्पादनमूलक प्रयोजनमा लिज (भाडा) मा दिन सकिने व्यवस्था गरिएको छ। यसले गर्दा सरकारले सिफारिस गरेका तीन वटै विकल्पलाई कानुनी रूपमै सहज बनाइदिएको छ।

सरकार कुन विकल्पमा जाला ?

वर्तमान आर्थिक यथार्थ हेर्दा सरकार आफैँले उद्योग चलाउने सम्भावना अत्यन्त न्यून देखिन्छ। राजस्व संकलनमा दबाब भइरहेको र विगतको ऋणको ब्याज बढेर दायित्व अर्बौं पुगेको अवस्थामा सरकार आफैँले अर्बौं रुपैयाँ थप पूँजी लगानी गर्ने जोखिम मोल्ने पक्षमा छैन।

मन्त्रालय स्रोतका अनुसार, गोरखकाली रबर उद्योगमा कर्मचारीको कुनै दायित्व नरहेको र ६ सय रोपनी जग्गा रहेकाले यसलाई लिज मोडल मा निजी क्षेत्रलाई दिने सम्भावना बलियो छ। अर्कोतर्फ, हेटौँडा र उदयपुर सिमेन्ट उद्योगमा भने कर्मचारीको दायित्व अझै बाँकी रहेकाले रणनीतिक साझेदार खोजेर शेयर विनिवेशको बाटो रोज्ने सम्भावना बढी छ। अबको केही साताभित्र सार्वजनिक लगानी व्यवस्थापन समितिमा हुने छलफल र त्यसपछि मन्त्रिपरिषद्ले लिने निर्णयले नै यी उद्योगहरू कुन मोडलमार्फत ब्युँतिनेछन् भन्ने अन्तिम दिशानिर्देश गर्नेछ।