एसियाली पूँजी बजारमा संस्थागत लगानीकर्ताको उपस्थिति कमजोर हुनुमा यहाँका सूचीकृत कम्पनीहरूमा संस्थापक परिवार, राज्य (सार्वजनिक क्षेत्र) र ठूला व्यापारिक घरानाको अत्यधिक नियन्त्रण (कन्ट्रोलिङ शेयरहोल्डिङ) हुनुलाई प्रमुख कारण मानिएको छ। अन्तर्राष्ट्रिय स्तरमै एसिया कमजोर देखिइरहँदा नेपालको पूँजी बजारको अवस्था भने त्योभन्दा पनि चरम असन्तुलित र जोखिमपूर्ण रहेको पछिल्ला तथ्याङ्कहरूले देखाएका छन्। नेपालमा दोस्रो बजारको कुल कारोबार रकममा ९८ देखि ९९ प्रतिशतसम्म हिस्सा व्यक्तिगत (खुद्रा) लगानीकर्ताकै रहँदा बजार संस्थागत परिपक्वताभन्दा पनि बजार हल्ला र तीव्र उतारचढावको चपेटामा पर्ने गरेको छ।
ओईसीडी प्रतिवेदनको निष्कर्ष : एसियाली बजार 'नियन्त्रित' प्रकृतिको
ओईसीडीले एसियाका १२ प्रमुख क्षेत्राधिकारहरू (अस्ट्रेलिया, चीन, हङकङ, भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम) तथा युरोपेली संघको तुलनात्मक अध्ययन गरेर यो प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनले एसियाली पूँजी बजारलाई छरिएको भन्दा पनि 'नियन्त्रित बजार'को रूपमा चित्रित गरेको छ।
प्रतिवेदन अनुसार एसियाका धेरैजसो बजारमा बहुमत शेयर केही निश्चित व्यक्ति, व्यापारिक समूह वा सरकारको नियन्त्रणमा छ:
-
उच्च कर्पोरेट नियन्त्रण: इन्डोनेसियामा सूचीकृत कम्पनीहरूको कुल शेयर स्वामित्वमध्ये ४८ प्रतिशत र फिलिपिन्समा ४६ प्रतिशत हिस्सा ठूला कर्पोरेट घरानाको नियन्त्रणमा छ।
-
सरकारी (सार्वजनिक क्षेत्रको) वर्चस्व: मलेसियामा ३३ प्रतिशत, चीनमा ३० प्रतिशत र भियतनाममा २१ प्रतिशत शेयर स्वामित्व सरकार वा सार्वजनिक निकायहरूको हातमा छ।
-
पारिवारिक र रणनीतिक व्यक्तिहरूको हिस्सा: थाइल्याण्डमा १५ प्रतिशत र भारतमा १२ प्रतिशत शेयर रणनीतिक व्यक्ति वा पारिवारिक समूहहरूको स्वामित्वमा छ।
यस्तो केन्द्रिकृत स्वामित्व संरचनाका कारण एसियाका अधिकांश देशमा संस्थागत लगानीकर्ताहरूको हिस्सा निकै न्यून छ। भियतनाममा कुल बजार पूँजीकरणमा संस्थागत लगानीकर्ताको हिस्सा जम्मा ५ प्रतिशत मात्र छ। यस्तै, इन्डोनेसिया र फिलिपिन्समा ६–६ प्रतिशत, चीनमा १० प्रतिशत, मलेसियामा ११ प्रतिशत र थाइल्याण्डमा १३ प्रतिशतमा सीमित छ।
यस क्षेत्रमा अस्ट्रेलिया (३६%) र जापान (३४%) मात्र त्यस्ता बजार हुन्, जहाँ संस्थागत लगानीकर्ताको हिस्सा तुलनात्मक रूपमा बलियो छ। भारतमा पनि यो अनुपात २४ प्रतिशत र दक्षिण कोरियामा २० प्रतिशत रहेको छ।ओईसीडीको विश्लेषण अनुसार, जब बजारमा संस्थागत लगानीकर्ताको हिस्सा न्यून हुन्छ र कम्पनीहरू पारिवारिक वा सरकारी नियन्त्रणमा हुन्छन्, तब अल्पमत शेयरधनीहरूको हकहित संरक्षण कमजोर बन्छ। संस्थागत लगानीकर्ताले कम्पनी व्यवस्थापनलाई जवाफदेही बनाउन, सुशासन कायम गर्न र साधारण सभामा मतदानमार्फत सही नेतृत्व छनोट गर्न खेल्नुपर्ने 'संरक्षकत्व' को भूमिका एसियामा निकै कमजोर देखिएको प्रतिवेदनले औँल्याएको छ।
नेपालको पूँजी बजार : खुद्रा लगानीकर्ताको महासागर, संस्थागतको खडेरी
एसियाली औसत १९ प्रतिशतलाई आधार मान्दा पनि नेपालको दोस्रो बजारमा संस्थागत लगानीकर्ताको उपस्थिति नगन्यप्रायः छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) र सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार नेपालको पूँजी बजार प्राविधिक र संख्यात्मक रूपमा व्यापक विस्तार भए पनि गुणात्मक रूपमा अझै पूर्णतः खुद्रा लगानीकर्ताकै भरमा चलेको छ।
१. व्यक्तिगत लगानीकर्ताको अत्यधिक वर्चस्व
नेपालमा प्राथमिक बजार (आईपीओ) मा सर्वसाधारणको आकर्षण अभूतपूर्व छ। पछिल्लो तथ्याङ्क अनुसार:
-
डिम्याट र मेरो शेयर खाता: देशमा कुल डिम्याट खाताको संख्या करिब ८१ लाख ३८ हजार (झन्डै ८२ लाख) पुगेको छ। कुल खोलिएका डिम्याट खातामध्ये लगभग शतप्रतिशत हिस्सा व्यक्तिगत लगानीकर्ताहरूकै छ। यसमध्ये प्राथमिक शेयर भर्नका लागि प्रयोग हुने 'मेरो शेयर' मा मात्रै ७२ लाख २९ हजारभन्दा बढी खाता सक्रिय छन्।
-
दोस्रो बजार कारोबार (TMS): नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन कारोबार प्रणाली (टीएमएस) मा आबद्ध भई दोस्रो बजारमा शेयर किनबेच गर्न खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजार नाघेको छ।
-
कारोबार हिस्सा: संख्यात्मक मात्र होइन, कारोबार रकमका आधारमा पनि नेप्सेमा खुद्रा लगानीकर्ताकै एकाधिकार छ। नेप्सेको दैनिक कारोबारमा ९८ देखि ९९ प्रतिशतसम्म हिस्सा व्यक्तिगत लगानीकर्ताहरूकै रहने गरेको नेप्सेको भनाई छ।
२. संस्थागत लगानीकर्ताको नाम मात्रको उपस्थिति
नेपालमा बैंक, वित्तीय संस्था, बीमा कम्पनी, सामूहिक लगानी कोष (म्युचुअल फन्ड), नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र दर्जनौँ पब्लिक/प्राइभेट इन्भेस्टमेन्ट कम्पनीहरू अस्तित्वमा छन्। तर, दोस्रो बजारमा यिनीहरूको सक्रियता निराशाजनक छ:
-
सङ्ख्यात्मक अवस्था: सीडीएससीको तथ्याङ्क अनुसार शेयर बजारमा संस्थागत लगानीकर्ताका रूपमा कारोबार डिम्याट खाता खोल्ने कम्पनीहरूको संख्या करिब ९ हजार १४८ छ।
-
कारोबारमा हिस्सा: करिब नौ हजारको हाराहारीमा संस्थागत खाताहरू भए पनि दोस्रो बजारको कुल दैनिक वा वार्षिक कारोबार रकममा संस्थागत लगानीकर्ताको हिस्सा जम्मा १ देखि २ प्रतिशत मात्रै रहने गरेको नेप्सेका एक उच्च अधिकारिले बताए।
अर्थात्, दैनिक अर्बौं रुपैयाँको शेयर किनबेच भइरहँदा ९८ प्रतिशतभन्दा बढी पूँजी बजारको गहन वित्तीय विश्लेषण गर्न नसक्ने, वित्तीय विवरणको प्राविधिक पक्ष नबुझ्ने र बजारको हल्लाको पछि लाग्ने खुद्रा लगानीकर्ताको हातबाटै घुमिरहेको छ।
संस्थागत लगानीकर्ता कमजोर हुँदा बजारमा पर्ने नकारात्मक असर
पूँजी बजारका जानकारहरूका अनुसार संस्थागत लगानीकर्ताहरू बजारका 'सन्तुलनकर्ता' हुन्। उनीहरूसँग वित्तीय अनुसन्धान गर्ने दक्ष जनशक्ति, दीर्घकालीन वित्तीय स्रोत र जोखिम व्यवस्थापन गर्ने क्षमता हुन्छ। तर, नेपालमा संस्थागत लगानीकर्ता कमजोर हुँदा पूँजी बजारले दीर्घकालीन समस्याहरू झेलिरहेको छ।
क) चरम अस्थिरता र भावनात्मक कारोबार :
संस्थागत लगानीकर्ता नहुँदा बजार पूर्ण रूपमा खुद्रा लगानीकर्ताको मनोविज्ञान, सामाजिक सञ्जालका हल्ला, क्लबहाउस र फेसबुक समूहका आधारहीन टिप्पणीबाट निर्देशित हुने गरेको छ। यसले गर्दा कम्पनीको वित्तीय स्वास्थ्य जस्तोसुकै भए पनि 'पम्प एन्ड डम्प' गर्ने समूहहरूले सजिलै शेयर मूल्यमा चलखेल गर्ने अवसर पाउँछन्।
ख) वित्तीय अनुशासन र सुशासनको अभाव :
ओईसीडी प्रतिवेदनले जोड दिएझैँ संस्थागत लगानीकर्ताले कम्पनीहरूको वित्तीय अनुशासन, सञ्चालक समितिको जवाफदेहिता र कार्यकारीहरूको कार्यसम्पादनमाथि निरन्तर निगरानी राख्छन्। नेपालमा संस्थागत लगानीकर्ता नै निष्क्रिय रहँदा सूचीकृत कम्पनीहरूका साधारण सभा औपचारिकतामा सीमित हुने गरेका छन् भने प्रवर्द्धकहरूले अल्पमत शेयरधनीहरूको हितविपरीत निर्णय गर्दा समेत संस्थागत रूपमा आवाज उठाउने संयन्त्रको अभाव छ।
ग) दीर्घकालीन पूँजी परिचालनमा अवरोध :
जलविद्युत्, उत्पादनमूलक उद्योग र ठूला भौतिक पूर्वाधारका लागि दीर्घकालीन पूँजी आवश्यक पर्छ। तर, खुद्रा लगानीकर्ता छोटो समयमै पूँजीगत लाभ (Capital Gains) खोज्ने अल्पकालीन कारोबारी बनिदिँदा दीर्घकालीन रूपमा बजारबाट पूँजी निर्माण हुन सकेको छैन।
नियमन र सुधार : अन्तर्राष्ट्रिय अभ्यास र धितोपत्र बोर्डको पहल
ओईसीडी प्रतिवेदनले एसियाका विभिन्न देशहरूले संस्थागत लगानीकर्ताको भूमिका विस्तार गर्न चालेका कदमहरूको चर्चा गरेको छ। उदाहरणका लागि, भारतमा पूँजी बजार नियामक ‘सेबी’ ले म्युचुअल फन्डहरूलाई सूचीकृत कम्पनीको साधारण सभाका प्रत्येक प्रस्तावमा अनिवार्य मतदान गर्नुपर्ने र त्यसको कारण खुलाउनुपर्ने व्यवस्था गरेको छ। जसले गर्दा भारतमा सूचीकृत कम्पनीहरूको ८० प्रतिशत शेयर पूँजीमा सक्रिय संस्थागत मतदान हुने गरेको छ। यस्तै, जापान र दक्षिण कोरियाले कम्पनीहरूको मूल्य अभिवृद्धि गर्न ‘कर्पोरेट भ्यालु-अप’ र ‘स्टेवार्डशिप कोड’ लागू गरेका छन्।
नेपालमा पनि बजारलाई खुद्रा लगानीकर्ताको जोखिमपूर्ण सट्टेबाजीबाट मुक्त गरी परिपक्व बनाउन नीतिगत प्रयास सुरु भएको छ। नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत लगानीकर्ता नीति २०८३ (Institutional Investor Policy 2083) अघि सारेको छ।
यस नीतिको मुख्य उद्देश्य बजारमा संस्थागत लगानीकर्ताहरूको प्रवेशलाई प्रोत्साहन गर्नु, म्युचुअल फन्डहरूको दायरा फराकिलो बनाउनु, बजार निर्माता (मार्केट मेकर) लाई सक्रिय गराउनु र नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष तथा सामाजिक सुरक्षा कोषजस्ता ठूला सरकारी कोषहरूको पूँजीलाई वैज्ञानिक तवरले दोस्रो बजारमा परिचालन गर्नु रहेको छ।
ओईसीडीको प्रतिवेदनले एसियाली क्षेत्रमै संस्थागत लगानीकर्ताको उपस्थिति कमजोर रहेको तथ्य सार्वजनिक गरिरहँदा नेपालको स्थिति भने अझ बढी जोखिमपूर्ण धरातलमा उभिएको प्रष्ट हुन्छ। ८१ लाख भन्दा बढी डिम्याट खाता र ३५ लाखभन्दा बढी दोस्रो बजारका कारोबारी हुनु आफैँमा वित्तीय पहुँचको ठूलो उपलब्धि भए तापनि बजारको ९८ प्रतिशत कारोबार खुद्रा लगानीकर्तामै निर्भर रहनु दीर्घकालीन वित्तीय स्थायित्वका दृष्टिले खतरनाक हो।
पूँजी बजारलाई केवल सट्टेबाजीको थलो बन्न नदिन र वास्तविक अर्थतन्त्रको ऐना बनाउनका लागि संस्थागत लगानीकर्ताको हिस्सा कम्तीमा २० देखि ३० प्रतिशतसम्म पुर्याउनु अपरिहार्य देखिन्छ। यसका लागि धितोपत्र बोर्डले अघि सारेको संस्थागत लगानीकर्ता नीतिलाई कडाइका साथ कार्यान्वयन गर्दै पेन्सन फन्ड, बीमा कम्पनी र सामूहिक लगानी कोषहरूलाई दोस्रो बजारमा व्यावसायिक र जिम्मेवार ढङ्गले सहभागी गराउनु नै अबको मुख्य सुधारको बाटो हुनेछ।
तल हेर्नुहोस् ‘इन्स्टिच्युसनल इन्भेस्टर्स एन्ड क्यापिटल मार्केट सर्भिस प्रोभाइडर्स इन एसिया’