दोस्रो बजारमा मार्जिन कारोबारसम्बन्धी सूचना प्रवाहलाई थप पारदर्शी, सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले यस्तो व्यवस्था मिलाइएको नेप्सेले जनाएको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीद्वारा जारी सूचनाअनुसार ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया’ को परिच्छेद–८, दफा २१ मा रहेको सूचना सम्प्रेषणसम्बन्धी व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन लागिएको हो।
ब्रोकरले १२ बजेभित्र पठाउनुपर्ने, नेप्सेले वेबसाइटमा राख्ने
कार्यप्रक्रियामा भएको व्यवस्थाअनुसार धितोपत्र दलाल व्यवसायी (कारोबार सदस्य) हरूले मार्जिन कारोबार सुविधाअन्तर्गत गरेको शेयर कारोबारको विवरण अनुसूची–४ बमोजिमको ढाँचामा अर्को कारोबार दिनको मध्याह्न १२:०० बजेभित्र नेप्सेलाई उपलब्ध गराउनुपर्नेछ।
सोही दफाको उपदफा (२) बमोजिम कारोबार सदस्यहरूबाट प्राप्त भएको उक्त विवरणलाई नेप्सेले एकीकृत गरी अनुसूची–५ को ढाँचामा अर्को कारोबार दिनभित्रै आफ्नो वेबसाइटमार्फत सम्प्रेषण गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार नेप्सेले प्राविधिक व्यवस्था मिलाई आगामी सातादेखि सरोकारवाला तथा आम लगानीकर्ताका लागि वेबसाइटमै हेर्न मिल्ने गरी विवरण सम्प्रेषण गर्न लागेको स्पष्ट पारेको छ।
सूचना प्रवाह र पारदर्शितामा सुधार आउने अपेक्षा
हालसम्म ब्रोकरहरूबाट हुने मार्जिन कारोबारको एकीकृत विवरण नियमित रूपमा सार्वजनिक नहुँदा बजारमा कुन कम्पनीको शेयरमा कति मार्जिन सुविधा प्रवाह भइरहेको छ भन्ने तथ्य स्पष्ट हुन सकेको थिएन।
नेप्सेले आगामी सातादेखि सुरु गर्न लागेको यो व्यवस्थाले समग्र पूँजी बजारमा मार्जिन ट्रेडिङको वास्तविक अवस्था, जोखिम तथा कारोबारको आयतनबारे लगानीकर्तालाई अद्यावधिक सूचना प्राप्त गर्न सहज हुनेछ। यस कदमबाट दोस्रो बजारमा सूचनाको पारदर्शिता बढ्नुका साथै लगानीकर्ताको निर्णय क्षमता थप सबल हुने विश्वास नेप्सेले व्यक्त गरेको छ।