शेयरको मूल्य २० प्रतिशतसम्म घट्दा मार्जिन कल नगर्न राष्ट्र बैंकको निर्देशन

Jul 19, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा धितोमा राखिएको सेयरको मूल्य २० प्रतिशतसम्म घटे पनि मार्जिन कल नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरिएको व्यवस्थालाई बिहीबारबाट कार्यान्वयनमा ल्याउने क्रममा यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई मार्जिन कल सम्बन्धी नयाँ व्यवस्था आजैदेखि लागू गर्न भनेको छ ।

पुरानो व्यवस्था अनुसार धितोमा राखेको सेयरको मूल्य १० प्रतिशतसम्म घट्नासाथ बैंक तथा वित्तीय संस्थाहरुले सेयर कर्जा लिने ग्राहकलाई मार्जिन कल गरेर ऋणीलाई धितो थप्न वा ऋण तिर्न बाध्य पार्थे । अब भने २० प्रतिशतसम्म सेयरमूल्य घट्दा पनि बैंकहरुले मार्जिन थप्न वाध्य गर्न पाउँदैनन् ।

नयाँ व्यवस्था लागू भएसँगै शेयर बजारका लगानीकर्तालाई तत्काल केही राहात पुग्ने देखिएको छ ।


त्यस्तै मौद्रिक नीति मार्फत गरिएको बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा ऋण दिन पाउने सीमामा गरिएको संसोधित व्यवस्था पनि सँगसँगै कार्यान्वयनमा आएको छ । 

अब बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो प्राथमिक पूँजीको बढीमा २५ प्रतिशतसम्म मात्रै सेयर धितोमा ऋण प्रवाह गर्न पाउनेछन् । यसअघि यस्तो सीमा ४० प्रतिशत थियो ।

बैंक तथा वित्तीय संस्थाहरुको पूँजी चार गुणा बढेको अवस्थामा यो व्यवस्था परिमार्जन गरिएको हो । मार्जिन कर्जाको सीमा घटाइएपनि बैंकहरुको सेयर धितोमा कर्जा दिने क्षमतामा विस्तार हुने आँकडाले देखाउँछ ।

नयाँ ब्यवस्थापछि बैंक तथा वित्तीय संस्थाहरुले ८५ अर्ब रुपैयाँसम्म ऋण दिन पाउँछन्। २०७४ चैतसम्म सेयर कर्जामा ३३ अर्ब रुपैयाँ मात्र ऋण लगानी भएको छ। राष्ट्र बैंकले ४० प्रतिशतको सीमालाई २५ प्रतिशतमा झारे पनि बैंकहरुले अझै ५१ अर्ब रुपैयाँ ऋण बढाउने ठाउँ छ। 

शेयरधितो कर्जा प्रवाह गर्नसक्ने कुन बैंकको क्षमता कति ? तथ्याङ्कमा हेर्नुहोस्

यसैगरी, केन्द्रीय बैंकले व्यक्तिगत ओडी (ओभरडाफ्ट) मा घटाएको सीमा सम्बन्धी व्यवस्था समेत कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । मौद्रिक नीतिमार्फत ७५ लाखको व्यक्तिगत ओडीको सीमालाई घटाएर ५० लाखमा झारिएको थियो ।

यो व्यवस्था आउनुअघि ७५ लाखसम्म ओडी लिएकाहरुले आउँदो पुस मसान्तभित्र त्यसलाई घटाएर ५० लाखको सीमामा झारिसक्नुपर्नेछ ।

यस्तै, केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था, तिनले प्रवाह गर्ने सेवा, ब्याजदर, स्प्रेडदर, विपन्न वर्गको कर्जा लगायतसँग सम्बन्धमा मौद्रिक नीतिबाट भएको परिवर्तित व्यवस्था समेत कार्यान्वयनमा ल्याउन समेत निर्देशन जारी गरेको छ ।

यसले व्यक्तिगत ओभरड्राफ्ट चलाएकाहरुलाई भने केहि असहज हुने भएको छ । ७५ लाख रुपैयाँसम्म ऋण चलाएकाहरुले आगामी पुस मसान्तभित्र ओभरड्राफ्ट ऋणलाई ५० लाखमा सीमित गर्नुपर्नेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।