लाइफ इन्स्योरेन्स कर्पोरेशनलाई लाभांस घटाउनु पर्ने के आयो आपत ?

Nov 04, 2018 Merolagani

हतारिएर सेयर बेच्नेलाई घाटा धेरै

आइतबार सेयर बजार खुल्दै गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांस २४ प्रतिशतले घटेको सूचना बाहिरियो । जसका कारण कम्पनीको सेयर मूल्य छिनभरमा नै तिब्र गतिमा तल झर्यो । इन्स्योरेन्सले बीमा समितिको निर्देशन अनुसार प्राविधिक कारणले प्रस्तावित लाभांस घटाएको हो ।

आर्थिक वर्ष २०७३ ७४ को कमाईबाट कम्पनीले ३६ प्रतिशत बोनस तथा १.८९ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको थियो ।

उल्लेखित आर्थिक वर्षको बीमांकीय मूल्यांकन स्वीकृत भए पछि सोही आधारमा कम्पनीले लाभांस प्रस्ताव गरेको थियो ।

उक्त लाभांस प्रस्ताव स्वीकृतिका लागि बीमा समितिमा पठाइएको थियो । तर बीमा समितिले एलआईसीको दायित्व अर्थात प्रोभिजनको आकार सानो भएको भन्दै लाभांस घटाएर प्रोभिजनको आकार बढाउन निर्देशन दिएको थियो । समितिले एलआईसीलाई यस सम्बन्धमा कत्तिक ६ गते पत्राचार गरेको थियो ।

बीमा समितिको पत्र पाए पछि शनिबार बसेको एलआईसी सञ्चालक समितिको बैठकले पहिले प्रस्तावित लाभांसलाई घटाएर १२ प्रतिशत बोनस तथा ०.६३ प्रतिशत नगद लाभांस बितरण गर्ने परिमार्जित प्रस्ताव सार्वजनिक गरेको हो ।

बीमा समितिले ताके अनुसार गत असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले २ अर्ब तथा निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब रुपैंया चुक्ता पूँजी बनाउनु पर्नेमा त्यो समय आगामी पुस मसान्तसम्मका लागि थप गरिएको छ । सोही अनुसार बीमा कम्पनीहरु चुक्ता पूँजी वृद्धि गर्ने ध्याउन्नमा छन् ।

अहिले प्रस्तावित लाभांस बितरण गर्दा एलआईसीको चुक्ता पूँजी १ अर्ब ४९ करोड रुपैंया मात्र हुन्छ । पुस मसान्तसम्ममा एलआईसीले २ अर्ब रुपैंया चुक्ता पूँजी पुर्याउनु पर्ने हुन्छ । यसका लागि उसले गत आर्थिक वर्षको कमाईबाट यहि पुस मसान्तसम्ममा कम्तीमा पनि ३५ प्रतिशत बोनस बितरण गर्नु पर्ने हुन्छ ।

यस आधारमा आइतबार हतारिएर एलआईसीको सेयर बेच्नेहरुलाई घाटा भएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।