मुद्धतीको ब्याजदर बढाउने रेसमा कुमारीको अर्को अग्रता, १३% ब्याजदर प्रस्ताव

Dec 06, 2018 Merolagani



लगानीयोग्य पूँजी अभावले संकटग्रस्त बनेका वाणिज्य बैंकहरु एकपछि अर्को गर्दै मुद्धती खातामा प्रदान गर्ने ब्याजदर बढाउने प्रतिस्प्रर्धामा उत्रिन थालेका छन्। यसै क्रममा अन्य वाणिज्य बैंकभन्दा एक कदम अगाडि बढेर कुमारी बैंक (KBL) ले व्यक्तिगत मुद्धती खातामा १३ प्रतिशत ब्याजदरको सूचना निकालेको छ ।

कुमारी बैंकले १० हजार रुपैयाँदेखि जम्मा गर्न सकिने वार्षिक १३ प्रतिशत ब्याजदर मासिक रुपमा भुक्तानी हुने विशेष मुद्धती खातामा खातामा बचत आह्वान गरेको छ ।

त्यो पनि तीन वर्षसम्म अवधिको लागि । बैंकले साधारण बचत खाताको ब्याजदर पनि ७ प्रतिशत पुर्याएको छ । 

उसो त कुमारी बैंकको चालू आर्थिक वर्षको प्रथम त्रैमासमा नै कर्जा निक्षेप अनुपात ७९.९१ प्रतिशत, कोषको लागत ७.९१ प्रतिशत, र आधार ब्याजदर ११.०९ प्रतिशत रहेको थियो ।

नेपाल बैंकर्स संघले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदरको सीमा हटाएर बैंकलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न पाउने व्यवस्था गरे लगत्तै बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको हो । बैंकहरु बीचको भद्र सहमति तोडिएकै भोलिपल्ट जनताले १२ प्रतिशत र माछापुच्छ्रै बैंकले १२.५ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए ।

बिहीबार नै नयाँ ब्याजदर प्रकाशन गरेको अर्को वाणिज्य बैंक मेगाले पनि एक लाख मौज्दातमा पाँच वर्षसम्मको दीर्घकालनी बचतमा १२.५ प्रतिशतको ब्याजदर प्रस्ताव गरेको छ । बैंक अफ काठमाण्डू भने केही संयमित देखिएको छ । बैंकले एक सय दिनदेखि ६ महिना अवधिमा मुद्धतीमा १० प्रतिशत मात्र ब्याजदर प्रस्ताव गरेको छ ।

वाणिज्य बैंक मात्र होइन विकास बैंकहरु पनि उच्च ब्याजदर दिने होडमा उत्रिन थालेका छन् । लुम्बिनी विकास बैंकले पनि एक देखि दुई वर्ष अवधिको मुद्धती खातामा साढे १२ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले बचत खातामा नै ८ प्रतिशत ब्याजदर दिने भएको छ । उता कञ्चन डेभलपमेन्ट बैंकले पनि २०० दिने मुद्धतीमा १२.७५ प्रतिशत ब्याजदरको घोषणा गरेको छ ।

बुधबार बसेको नेपाल वित्त कम्पनी संघको बैठकले पनि मुद्धती निक्षेपमा अधिकतम १२ प्रतिशत भन्दा बढी व्याज दिने निर्णय गरेको छ। यसअनुसार गुडविल फाइनान्सले ३ महिनादेखी ५ वर्षे अवधिमा १२ प्रतिशत ब्याजदर दिने सूचना प्रकाशित गरेको छ ।

बैंकर्स संघको मंगलबारको बैठकले ब्याजदरमा यसअघि गरेको भद्र सहमति भङ्ग गर्दे व्यक्तिगत निक्षेपका हकमा ब्याजदर वाणिज्य बैंकले आफैले निर्धारण गर्न पाउने निर्णय गरेको थियो ।

यसअघि व्यक्तिगत मुद्धती निक्षेपमा अधिकतम १० र बचत खातामा ७ प्रतिशतसम्म मात्रै ब्याज दिन पाइने सहमति थियो । बैंकहरुले प्रकाशित गरेको ब्याजदरमा थप ०.५ प्रतिशत बिन्दु बढिसम्म ब्याज दिन सक्छन् । यस अनुसार वाणिज्य बैंकहरुले नै १३.५ प्रतिशतसम्म ब्याज प्रदान गर्न थालेपछि पूँजी बजारको प्रमुख घटक शेयर बजारमा बुधबार मात्र २२ अंक बढीको गिरावट देखिएको छ । बैंकहरुको ब्याजदर वृद्धिले बिहीबार शेयर बजारमा थप असर पुग्ने अनुमान गरिएको छ ।

बैंकहरु चालु आर्थिक वर्षको दोस्रो त्रैमासलाई ध्यानमा राखेर निक्षेप बाहिरिन नदिन पनि ब्याज बढाउन बाध्य भएका हुन् । ब्याजदर बढाउने प्रतिस्पर्धाले बैंकहरुको लागत बढेर ऋणको ब्याज अझ बढ्ने आँकलन गरिएको छ । एकपछि अर्काे गर्दै बैंकहरूले ब्याजदर बढाउन थालेपछि उद्याेगीहरू सरकारले हस्तक्षेप गर्नुपर्ने माग समेत गर्न थालेका छन् ।

बैंकहरुको यो निर्णयले बैंकहरुलाई कर्जा निक्षेप अनुपात सन्तुलनमा राख्न राहत मिल्ने भएपनि कर्जाको चर्को ब्याज तिरिरहेका व्यवसायी भने थप मारमा पर्ने अवस्था आएको छ ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।