कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेको अवितरित शेयर सहित कूल १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो ।
जसमध्ये सामूहिक लगानी कोषका इकाईलाई ५५ हजार कित्ता तथा कर्मचारीलाई २२ हजार कित्ता छुट्टाइएको थियाे । सामूहिक लगानी कोषकाे तर्फबाट कुनै आवेदन नहुँदा साे शेयर सहित १५ लाख ३३ हजार ७७० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ । आईपिओमा धितोपत्र बोर्डबाट सि आश्वा सदस्यको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिनेछ । यसका अलवा मेरो शेयर प्रयोगकर्ताले सो सफ्टवेयरबाट अनलाईन आवेदन गर्न सक्नेछन् ।
कम्पनीको आईपिओमा न्यूनतम पाँच हजार रुपैयाँ (५० कित्ता) देखि दश लाख रुपैयाँसम्म (१० हजार कित्ता) आवेदन गर्न पाउने व्यवस्था रहेको छ । कम्पनीको आईपिओ निष्काशन छिटोमा पुस २३ गते र ढिलोमा माघ १८ गते बन्द हुने बिक्री प्रबन्धक भिवोर क्यापिटलले जनाएको छ ।
मंसिर १६ गते आइतबार कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेर अवितरित भएको ४ लाख ५५ हजार ७७० कित्ता सहित कूल १५ लाख ५५ हजार ७७० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो ।
इक्रा रेटिङ्ग ग्रेड ५
कम्पनीले निष्काशन गर्न लागेको आईपिओले रेटिङ्ग कम्पनी इक्रा नेपालले इक्रा एनएपि आईपिओ ग्रेड ५ प्रमाणपत्र प्राप्त गरेको छ । जसले कम्पनीको आधारभुत अवस्था अत्यन्त कमजोर रहेको जनाउँछ ।
कस्तो छ कम्पनी ?
५५ करोड रुपैयाँ जारी पूँजी रहेको आयोजनामा संस्थापकको ७० प्रतिशत अर्थात ३८ करोड ५० लाख लगानी रहेको छ । आयोजनामा स्थानीयबासिन्दा र सर्वसाधारणको गरि ३० प्रतिशत अर्थात १६ करोड ५० लाख रुपैयाँ लगानी रहने छ ।
एक हजार ३०० जनाको ३५ करोड ५० लाख रुपैयाँ बराबरको संस्थापक शेयर रहेको सो आयोजनामा लुम्बिनी र टुरिजम विकास बैंकले ५५ करोड लगानी गरेका छन् ।
कूल एक अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निमार्ण भइरहेको छ ।
नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत उत्पादनको तयारी गरेको छ ।
वि.सं. २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको हो । प्रति मेगावाट लागत २३ करोड रुपैयाँ पर्ने यो आयोजनाले ८ वर्षसम्म कर्जा चुक्ता गर्ने कम्पनीले जनाएको छ ।
जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र जलविद्युतगृह निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चैत महिनाभित्रै परीक्षण उत्पादन शुरु गर्ने लक्ष्यसहित तिब्र गतिमा काम अघि बढाएको घलेम्दी हाइड्रो लिमिटेडका सचिव बिमल रिजालले जानकारी दिए ।
लगानी उठ्न ९ वर्ष लाग्ने
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित यस आयोजनाले साधारण शेयर निष्काशन गर्न प्रकाशित गरेको विवरण पत्रमा आयोजनामा हुने साधारण लगानी फिर्ता हुन ८.७८ वर्ष समय लाग्ने जनाएको छ । डिस्काउन्टमा लगानीमा फिर्ता हुन लाग्ने समयावधि २०.७० वर्ष रहेको छ ।
यसअनुसार कम्पनीको साधारण शेयरमा लगानी गर्ने शेयरधनीले कम्तिमा ९ बर्ष लाभांशका लागि कुर्नुपर्ने देखिन्छ । कम्पनीले प्रकाशित गरेको विवरण पत्र अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको नेटवर्थ ७९.७० पैसा रहने उल्लेख छ । त्यस्तै कम्पनीमा लगानी गर्ने लगानीकर्ताले यस आर्थिक वर्षमा दुई करोड ६२ लाख ५७ हजार नोक्सनी रहने प्रक्षेपण गरिएको छ । जसअनुसार आयोजनामा लगानी गर्दा प्रतिकित्ता ४ रुपैयाँ ७७ पैसा नोक्सानी व्यहोर्नुपर्नेछ ।
आर्थिक वर्ष ०७७/७८ मा सम्ममा कम्पनीले दुई करोड ३५ लाख नाफा आर्जन गर्ने उल्लेख गरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ५२ पैसा कायम हुने र प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७४ पैसा आम्दानी गर्ने विवरणपत्रमा उल्लेख छ ।
वि.सं. २०७० पुसमा विद्युत विकास विभागबाट ४ र २०७४ चैतमा थप १ मेगावाट गरि कूल ५ मेगावाटको अनुमति पाएको यस आयोजनाको विद्युत उत्पादन अनुमतिको अवधि ३० वर्ष रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति वि.सं २१०५ पुससम्म बहाल रहनेछ ।
यसकारण लम्बियो निमार्ण समय र लागत
आयोजना ४ मेगावट हुँदा ६४ करोडमा सम्पन्न गर्ने लक्ष्इ थियो । पछि क्ष्मता बढाइएपछि ९४ करोड लागतमा वि.सं. २०७४ चैतभित्र उत्पादन शुरु गर्ने लक्ष्य राखिएको थियो । तर सुरुमा प्रतिमेगावाट १६ मेगावटमा सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाको लागत विविध कारणले कम्पनीको निमार्ण समयावधि लम्बिदाँ कम्पनीको लागत प्रतिमेगावाट २३ करोड प्रतिमेगावाट पुगेको छ ।
आयोजना निमार्णमा ढिलाइ हुने कारणमा भूकम्प, नाकाबन्दी, भौगोलिक विकटता र बैसरीमा कालीगण्डकी थुनिने गरी आएको पहिरोका कारण निर्माणमा ढिलाइ भएको कम्पनीका सदस्य राजेश शाक्यले बताउँछन्। वनसम्बन्धी कानून र झन्झटिलो प्रशासनिक प्रक्रिया पनि आयोजना ढिलाइ हुनुको अर्को कारण भएको उनको भनाइ थियो ।
पहिले चार मेगावाट रहेको उक्त आयोजनाको क्षमता बढाएर ५ मेगावाट बनाइएको छ । भूकम्पपछि विद्युतगृह परिवर्तन गर्नुपरेका कारण क्षमता बढाइएको हो । चार मेगावाट हुँदा ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको सो आयोजनाको निर्माण अवधि लम्बिएर क्षमता बढेसँगै लागत बढेर एक अर्ब १५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
म्याग्दीका उद्योगी व्यापारीको अगुवाइमा वि.सं. २०७१ कात्तिकदेखि निर्माण शुरु गरिएको उक्त आयोजनाको २०७४ भदौमा एक हजार ६९५ मिटर सुरुङ निर्माण गरिएको थियो । आउटलेट (फोरवे) तर्फको एक हजार र बाँधबाट निर्माण गरिएको ६९५ मिटर सुरुङ प्लास्टर गर्ने काम भइरहेको छ ।
निलगिरिखोलाको बायाँ किनारमा विद्युतगृह निर्माणमा दैनिक करीब १०० मजदुर परिचालन भएका छन् । जलविद्युतगृहको छानो छाउने र प्लास्टर गर्ने काम बाँकी छ । आयोजनाको हेड (पावरहाउस देखि फोरवेसम्मको भाग) को दूरी १७५ मिटर अग्लो छ ।
घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सवस्टेशनमार्फत घलेम्दीको विद्युत केन्द्रीय प्रसारणलाइनमा उक्त विद्युत जडान गरिने जनाइएको छ ।