संस्थागत लगानीकर्ताको ब्यक्तिगत ब्यवहार

Mar 02, 2019 Merolagani

- आनन्द कुमार भट्टराई।
शेयर बजारमा संस्थागत लगानीकर्ताको भूमिका महत्वपूर्ण हुन्छ। यिनमा विशेषज्ञता हुनुको साथै सूचनामा समेत सहज पहुँच हुन्छ। अर्कोतर्फ यिनले अल्पकालिन भन्दा पनि दिर्घकालीन हिसाबले लगानी गर्दछन् तर अल्पकाल मै राम्रो प्रतिफल प्राप्त भएमा भने मुनाफा बुक गर्न पछि पर्दैनन्। यिनको यस्तो ब्यवहारले गर्दा बजार घटेको बेलामा यिनलाई खरिद बढाउन तरलताको समस्या भोग्नुपर्दैन

ब्यक्तिगत लगानीकर्ताको ब्यवहार संस्थागत लगानीकर्ताको विपरित हुन्छ। यिनले बजार बढन थालेपछि बजारको उच्चतम बिन्दुतिर खरिद बढाउँछन् र खरिद गर्ने वितिकै बढोस् भन्ने चाहना राख्छन् तर बढ्नुको सट्टा घट्न थाल्यो भने तुरन्तै घाटामा बिक्री गरि बाहिरिन्छन्। अर्थात धैर्यताको कमी हुन्छ जुन शेयर बजारमा लगानी गर्नेको लागि अति आवश्यक हुन्छ।

संस्थागत लगानीकर्ताले लगानी गर्दा जहिले पनि शेयरको बजारमूल्य र शेयरको फेयर अर्थात वास्तविक मूल्यको तुलना गरेर सकेसम्म शेयरको वास्तविक मूल्यभन्दा बजारमूल्य कम अथवा त्यसकै आसपास भएको बेलामा खरिद गर्ने प्रयास गर्दछ।

शेयरको बजार मूल्य र वास्तविक मूल्यमा धेरै अन्तर नभएको बेलामा के-कस्तो तत्वले बजार मूल्यलाई प्रभाव पारेको छ र त्यस्ता तत्व निकट भविष्यमा साम्य हुन्छ की हुँदैन भनी विश्लेषण गर्दछन्। आफ्नो विश्लेषणबाट यदि त्यस्ता तत्वहरुको प्रभाव धेरै समय नरहनेमा विश्वस्त भएमा लगानी गर्न अलमलिँदैनन् ।

सफल संस्थागत लगानीकर्ताको लगानी ब्यहार

विश्वकै सफल लगानीकर्ता वारेन बफेटले सन् १९८८ मा कोकाकोला कम्पनीको एक अर्ब डलरको शेयर खरिद गरे। सन् १९८७ को अमेरिकाको मार्केट क्य्रासले सबै शेयरहरुको बजारमूल्य आधारभूत सूचकहरुको आधारमा हुन आउने मूल्यकै आसपास थियो । त्यति बेला उनले कोकाकोला कम्पनीको शेयरमा आँखा लगाए र त्यसको विश्लेषण गरे।

तत्कालिन अवस्थामा कोकाकोला कम्पनी पेय पदार्थको क्षेत्रमा एउटा प्रभावशाली(Dominent) कम्पनीको रुपमा थियो। यसको साथै कोकाकोला एउटा आईकनको रुपमा स्थापित हुनुको साथै कोकाकोला अमेरिकी सस्कृतिको परिचयको रुपमा समेत थियो र विश्वब्यापी रुपमा राम्रो सञ्जाल कायम गर्न सफल भएको थियो।

यसको नाम र विश्वब्यापी पहुँचले अरु कम्पनीको तुलनामा प्रतिस्पर्धात्मक लाभ बढी थियो। यसरी नै अरु कुनै कम्पनीले कोकाकोलाको बजार हिस्सा खोस्न सक्दैन भन्नेमा वारेन बफेट विश्वस्त भएपछि एक अर्ब डलरको शेयर खरिद गरे। उनले खरिद गरेपछि भएको कोकाकोलाको स्टक स्प्लिटलाई समायोजन गर्दा उनले खरिद गरेको शेयरको मूल्य ‍औसतमा २.५ डलर हुन आउँछ ।

तत्कालिन अवस्थामा कोकाकोलाको शेयर खरिदबाट वारेन बफेटको लगानी दर्शन प्रस्ट हुन्छ जुन कि उनले बेन्जामिन ग्राहमबाट लिएका थिए – "त्यस्तो अवस्थाको कारण पत्ता लगाउने काममा ध्यान दिनुस जब बजार मूल्य वास्तविक मूल्य भन्दा कम हुन्छ ।"

तत्कालिन कोकाकोलाको अवस्थाले बफेटको अवधारणा – "खराब कम्पनीको शेयर उच्चमूल्यमा खरिद गर्नु" लाई "ठूलो कम्पनीको शेयर राम्रो मूल्यमा खरिद गर्नु" तर्फ परिवर्तन गर्यो। उनले खरिद गरेपछिको २७ वर्षमा कोकाकोलाको यिनको लगानीमा १७ गुणा वृद्धि भयो र निरन्तर वार्षिक ११ प्रतिशतको प्रतिफल दिईरहेको छ जुन अमेरिकाको न्यून ब्याजदरको तुलना निकै बढी हो।

कोकाकोलाको बर्तमान लाभांश १.५६ डलर छ जुन लागतमूल्य २.५० डलरको ६२ प्रतिशत हुन आउँछ । साथै कोका कोलाको वर्तमान ६ प्रतिशतको लाभांशको वृद्धिदरलाई कायम राख्न सकेमा सन् २०२६ मा लाभांशदर २.५ डलर हुन्छ अर्थात लगानीको शतप्रतिशत।

एउटा अर्को उदाहरणः प्राविधिक क्षेत्रको कम्पनीप्रति सदैव नकारात्मक रहँदै आएका वारेन बफेटले सन् २०१६ को पहिलो त्रैमासिकमा एप्पल कम्पनीको ९८ लाख कित्ता शेयर खरिद गरे जब त्यसको शेयरमूल्य प्रति शेयर १०० डलर थियो।

त्यसउप्रान्त उनले पटक पटक खरिद गर्दै २५ करोड कित्ता पुर्याएका छन्। उनको यो ब्यवहारलाई लगानीकर्ताले उनको अवाउट टर्न (About Turn) को रुपमा लिए। यहाँ पनि उनले एप्पलको दुरगामी सफल भविष्यको लेखाजोखा गरेर नै लगानी बढाएका हुन् ।

हाम्रो मुलुकको सन्दर्भमा संस्थागत लगानीकर्ताको विपरित ब्यवहार

विश्वकाे जुनसुकै देशमा पनि ब्यक्तिगत लगानीकर्ताको ब्यवहारमा समानता पाईन्छ। हल्लाको पछि दगुर्ने, मूल्य उचालिएको बेलामा खरिद गर्ने, मूल्य तल झर्दा खरिद गर्नुको सट्टा बिक्री गर्ने तथा आफूले खरिद गर्ने बितिकै मूल्य बढोस् भन्ने चाहना राख्ने र बिक्री गर्ने बितिकै मूल्य झरोस् भन्ने चाहना राख्ने जस्ता ब्यहारलाई साझा ब्यवहारको उदाहरणको रुपमा लिन सकिन्छ ।

ब्यक्तिगत लगानीकर्ताले आफूसँग भएको सीमित श्रोत र साधन अल्पकालको लागि लगानी गर्ने हुनाले बजारमा प्रेषित हुने विभन्न खबर तथा हल्लाले उनिहरुमा डर र लालचको भावनाले बढी प्रभाव पारेको हुन्छ जुन उनिहरुको लगानी निर्णयमा प्रतिबिम्बित हुन्छ ।

तर, संस्थागत तथा दिर्घकालीन लगानीकर्ताहरु श्रोत र साधनको मामलामा मजबुत अवस्थामा रहने तथा कम्पनीको समग्र आर्थिक अवस्थाको विश्लेषण गर्न सक्ने विज्ञताको साथै कम्पनीको सूचनामा समेत सहज पहुँच हुने भएकोले बजारको विश्लेषण गर्न सक्षम हुन्छन्।

यस्ता लगानीकर्ताले कम्पनीको उल्लेख्य मात्रामा शेयर खरिद गर्ने हुनाले शेयरको माग तथा आपूर्तिमा नियन्त्रण गर्न सक्छन्। बजार तल जाँदा खरिद बढाएर र माथि जाँदा आपूर्ति बढाएर यिनले बजारको मूल्यमा हुने अनावश्यक उतार चढावलाई नियन्त्रण गरेर बजारलाई स्वभाविक गति बढ्नमा मद्दत गर्दछन् ।

तर वास्तविक रुपमा त्यस्तो हुन सकेको छैन। म्यूचुअल फण्डहरुको विगत देखिनै खुद सम्पती मूल्यमा आएको ह्रास तथा अन्य संस्थागत लगानीकर्ताहरु समेत निष्क्रिय जस्तो रहेको अवस्थालाई हेर्दा दीर्घकालीन सोचको अभाव टड्कारो किसिमले देखिएको छ ।

नेपालमा शेयर बजारका संस्थागत लगानीकर्ताहरु नभएका होईनन्। म्युचुवल फण्डहरु, बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, बृहत श्रोत साधनका धनी कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष तथा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका अनेकौ प्राईभेट लिमिटेड कम्पनी तथा ब्यक्तिगत ठूला लगानीकर्ता जस्ता संस्थागत लगानीकर्ताहरुको उपस्थिति उल्लेख्य रुपमा छ। यिनले चाहेमा बजारबाट ठूलो संख्यामा शेयर प्रशोचन गरेर बजारलाई स्थिरता प्रदान गर्न सक्छन् । तर यस्ताे प्रयास हालसम्म भएकाे देखिँदैन।

बजारको वर्तमान अवस्थाको कारणः

अहिलेको बजारको अवस्थाको मूल कारणमा तीन वटा तत्वहर जिम्मेवार रहेको भन्ने कुरा लगानीकर्ता तथा विभिन्न सञ्चारमाध्यममा आएको विचारहरूबाट थाहा हुन्छ ।

अत्यधिक आपूर्तिः पूँजी वृद्धिको कारणले बजारमा शेयर संख्या बर्गेल्ती थपिएका छन्। थपिएका सबै शेयर बजामा बिक्रीको लागि आउने हो भने आपूर्ति निश्चय पनि अत्यधिक हुन्छ तर परिस्थिति त्यस्तो छैन। किनकी हिजो जो सँग १०० कित्ता शेयर थियो उससँग अहिले बोनस र हकप्रद गरेर करिब ४०० कित्ता छ भने उसले ४०० कित्ता नै बिक्रीका लागि राख्दैन ।

अर्को तर्फ पूँजी वृद्धि भए अनुरुप तत्कालिन अवस्थाको लगानीकर्ताको संख्यामा ४ गुणा वृद्धि समेत भएको छैन। हो, यदि पूँजी वृद्धिकै अनुपातमा लगानीकर्ताको संख्या पनि त्यही अनुरुप बढेको भए आपूर्ति सन्तुलन हुन सक्थ्यो ।

यसलाई यसरी पनि बुझ्न सकिन्छ – कुनै वर्ष आलुको उत्पादन दुई गुणा बढी भयो भने उक्त सबै आलु बजारमा बिक्रीको लागि आउँछ। उत्पादकले आधा आलु अहिले बिक्री गर्छु र आधा आलु पछि बिक्री गर्छु भनेर भन्दैन।

किनकि नष्ट भएर जाने वर्गमा पर्ने आलु सबै उत्पादक तथा बिक्रेताले छिटै बिक्री गर्न चाहन्छ। अपवादको रुपमा शितभण्डारमा राखेर एक वर्षसम्म आपूर्तीलाई अल्पकालको लागि नियन्त्रण गर्न त सकिन्छ तर त्यो जोखिमपूर्ण यस अर्थमा हुन्छ की अर्को वर्ष पनि आलुको उत्पादन राम्रो भएर मूल्य झरे भने उत्पादक तथा बिक्रेताको लगानी डुब्न जान्छ। यसरी उत्पादन भएजति सबै आलु बजारमा आउने हुनाले आपूर्ति ह्वात्तै बढेर मूल्य तल आउँछ।

तर शेयर बजारमा अवस्था ठिक विपरित हुन्छ। मूल्य तल झरेमा लगानीकर्ताले शेयर होल्ड गरेर बसेमा त्यो सडेर जाँदैन। वर्षान्त पछि बोनस तथा नगद लाभांशले उसको मूल्यलाई केहि मात्रामा भए पनि समायोजन गरेकै हुन्छ। त्यसैले यहाँ समस्या आपूर्तिको नभएर खरिदकर्ताको अभाव हो।

अहिले बहुसंख्यक ब्यक्तिगत लगानीकर्तासँग तरल मुद्राको अभाव भएकोले खरिद बढाउनसक्ने अवस्थामा छैनन् र संस्थागत तथा ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकोले नयाँ माग सिर्जना हुन सकेको छैन।

ब्याजदरः ब्याजदरलाई लगानीकर्ता तर्साउने डण्डाको रुपमा लिईएको छ। ब्याजदर एउटा उचाईमा पुगेर स्थिर अवस्थामा छ। यो बढ्दैन भन्ने तथ्यमा लगानीकर्ता विश्वस्त भएमा यसले खासै असर पार्दैन किनकी जति पार्नुपर्ने असर अहिले सम्म पारिसक्यो।

तर, बजारमा छापा माध्यमहरुमा विभिन्न हल्लाहरु आउँछन् – कसैले ब्याजदर अर्को ४/५ वर्षसम्म घट्दैन बरु बढ्दै जान्छ भन्छन्, कसैले तरलता समस्या अझ भयावह भएर जान्छ भन्छन्, सरकार तथा नियामक निकायले ब्याजदर नियन्त्रण गर भन्दा एक प्रतिशत बिन्दु मात्र घटाउनुपर्यो भने बैंकरहरुको कोकोहोलो सुनिन्छ कि बैंकिङ्ग क्षेत्र तहस नहस हुने भयो।

गत विगत वर्षहरुको ट्रेण्ड हेर्ने हो भने  पनि ८० देखि ८५ प्रतिशत सरकारी खर्च भएको तथ्याङ्क छ। त्यस आधारमा पनि अबको ४.५ महिनामा बैंकिङ्ग प्रणालीमा कम्तीमा पनि ५ खर्ब रकम भित्रिने अवस्था छ जसले तरलतालाई सहज बनाई ब्याजदर तल झर्न मद्दत गर्छ ।       

लगानीकर्ताको मनोबलमा कमीः शेयर बजारमा लगानीकर्ताको मनोबल तथा आत्मविश्वासले ठूलो भूमिका खेलेको हुन्छ। शेयर बजारलाई लगानीकर्ताको मनोभावनाले डोर्याई रहेको हुन्छ। त्यसैले विश्वका अरु देशमा लगानीकर्ताको मनोभावनामा नकारात्मक प्रभाव पार्ने तत्वहरुलाई दुरुत्साहित गरि मनोबल उच्च पार्ने प्रयास गरिन्छ।

सन् २०१४ र २०१५ को बीचमा चीन सरकारले लगानीकर्तालाई लगानी गर्न उत्साहित गरेपछि बजार माथि गएको थियो। त्यस क्रममा २ महिनाको बीचमा ३ करोड ८० लाख नयाँ लगानीकर्ता थपिएका थिए जसको कारणले  सन् २०१५ को मध्य जुनमा बजार क्र्यास हुन गयो तर पुनः सरकारी हस्तक्षेप पछि बजार ८० प्रतिशतले बढ्न गएको थियो ।

जसले जेसुकै भने पनि शेयर बजार मुलुकको अर्थतन्त्र हो भन्ने कुरालाई कसैले नकार्न सक्दैन। विदेशी लगानीकर्ताले शेयर बजारको आकार हेरेर आफ्नो लगानी अवधारणा बनाउने तथ्यलाई हेक्का राख्नैपर्छ। तर हाम्रो सन्दर्भमा लगानीकर्तामा अहिले आत्मविश्वासको खडेरी परेको छ। सरकार तथा नियामक निकाय र लगानीकर्ता बीचको विभिन्न मुद्दाहरु तार्किक निष्कर्षमा पुग्न नसकेको कारणले लगानीकर्ता त्रसित मानसिकतामा छन् ।

त्यसैले लगानीकर्ताका कतिपय माग सरकारले सम्बोधन गरिसक्दा पनि त्यसको सकारात्मक प्रभाव लगानीकर्तामा पर्न सकेको छैन। माननीय अर्थमन्त्रीबाट सरकारले दिनेकुरा दिईसकेको र अब रेस्पोन्स गर्ने पालो लगानीकर्ताको हो भनेर भन्दा पनि त्यसले कोरामिनको काम गर्न सकेको छैन।

यसो हुनुको कारणमा अझैपनि लगानीकर्तालाई बोनस तथा हकप्रद शेयरको पूँजीगत लाभ गणना र स्थायी लेखा नम्बर (प्यान नम्बर) को भूतले सताई रहेको छ जस्तो छ। अर्कोतर्फ यसले कुनै पनि पक्षलाई फाईदा पुग्न सकेको छैन।

बजार तल्लो बिन्दुमा आएको कारणले कारोबारको न्यूनता तथा घाटाको कारोबारले गर्दा लगानीकर्ता नोक्सानीमा छन् भने सरकारको राजश्वमा समेत गम्भिर धक्का पुगेको छ। त्यसैले केही समयपछि हुन गईरहेको लगानी सम्मेलनलाई मध्यनजर राख्दै सरकारले लगानीकर्तालाई शेयर बजारको अभिभावकत्व ग्रहण गरेको आभास दिनुपर्ने बेला भईसकेको छ।

संस्थागत लगानीकर्ताको लागि सुनौलो अवसरः

अहिलेको अवस्था संस्थागत लगानीकर्ताको लागि सुनौलो अवसरको रुपमा रहेको छ। यस्तो अवसर धेरै कम मात्र आउँछ। जस्तोकी सन् २०११ जुन १५ मा आएको थियो जब नेप्से २९२.३१ को बिन्दुमा पुगेको  थियो। त्यतिबेलाको आसपास जसले लगानी गरे तीनले अब कहिले पनि बजार तल गयो बनेर रुनु पर्दैन। त्यतिबेला पनि संस्थागत लगानीकर्ता नभएका होईनन् तर, मात्र २ करोडको हाराहारीको कारोबारलाई हेर्दा संस्थागत लगानीकर्ताले लगानी बढाएको अवस्था देखिँदैनथ्यो ।

त्यो ईतिहास हो र ईतिहासको सन्दर्भमा वारेन बफेटको भनाई “What we learn from history is that people don’t learn from history.” संस्थागत लगानीकर्ताको हकमा ठ्याकै लागू हुन्छ। संस्थागत लगानीकर्ताले अहिले पनि वारेन बफेटले जस्तो नसोच्ने हो भने तिनलाई कठै भन्नु बाहेक केहि गर्न सकिँदैन ।

संस्थागत लगानीकर्ताले के विश्लेषण गर्ने ?

अहिले बजार तल झर्नुको मुख्य कारणहरु संस्थागत लगानीकर्ताले वारेन बफेटले जस्तै विश्लेषण गर्नुपर्छ। त्यस्ता कारणहरुको निराकरण निकट भविष्यमा हुने सम्भावना छ कl छैन तथा लगानी गरिने कम्पनीको भविष्यको कार्यसम्पादन कस्तो हुन्छ त्यसको विश्लेषण गर्नुपर्छ । माथि भनिए जस्तै ती कारणहरुको विश्लेषण यसरी गर्न सकिन्छः

  • अधिक आपूर्तlको समस्या संस्थागत लगानीकर्ताको प्रवेशले केही हद सम्म समाधान हुन्छ। अर्कोतर्फ संस्थागत लगानीकर्ताको प्रवेशले नयाँ लगानीकर्ता आकर्षित भई मागमा वृद्धि हुन जान्छ ।
  • बैंकलाई ब्रोकर लाईसेन्स दिने विषयमा धितोपत्र बाेर्ड अगाडि बढीसकेकाले निकट भविष्यमा नै मोफसलमा ब्रोकर सञ्जाल फैलिन गई मागको सिर्जना हुन जान्छ ।
  • हाल स्थापित ब्रोकरहरु पनि अनिवार्य पूर्वाधारमा धितोपत्र बाेर्ड केहि लचक भएमा शाखा सञ्जाल बढाउन तत्पर छन्। यसो हुन सकेमा यसले पनि थप मागको सिर्जना हुन जान्छ।
  • ब्याजदर थप बढ्ने अवस्था नरहेको र अबको ४.५ महिनामा विगतको खर्चको ट्रेण्ड अनुसार प्रणालीमा कम्तीमा ५ खर्ब रुपैयाँ सरकारको खर्च भई भित्रिने भएकोले तरलताको अवस्था सहज भई ब्याजदर घटने सम्भावना रहेको।

अतः संस्थागत लगानीकर्ताले अहिलेको अवस्थामा आफुसँग भएको विज्ञता तथा सूचनाको आधारमा वारेन बफेटले सोचे जस्तै सोचेर ब्यवहार गर्नु फलदायी हुनसक्छ।

अन्त्यमा, मार्केट मेकरको भूमिका निर्वाह गर्ने घोषणा गरिसकेको नागरिक लगानी कोष र समाजिक सुरक्षा विकास समिति (जसले शेयरमा समेत लगानी गर्नसक्ने भनिएको छ र जसको लागि पेन्सन, उपदान जस्तो दायित्व लामो अवधिपछि मात्र सिर्जना हुन्छ), बैंक तथा वित्तिय संस्था, बीमा कम्पनीहरु, कर्मचारी सञ्चय कोष तथा ठूला लगानीकर्ताहरुको लागि यो जतिको सुवर्ण अवसर विरलै आउँछ ।

(नोटः यो लेखकको ब्यक्तिगत विश्लेषण हो। यसैको आधारमा शेयर खरिद बिक्री गर्नु पूर्व आफैँले विश्लेषण गर्नु उपयुक्त हुन्छ।)

(लेखक भट्टराइ अर्थ मन्त्रालयका अवकास प्राप्त उपसचिव हुन्।)

comments powered by Disqus

बजारमा उछाल आउँदा आईपिओकै मूल्यमा शेयर, ६८ कम्पनीको २०० भन्दा तल

Apr 24, 2019

पछिल्ला दिनहरुमा शेयर बजार परिसुचक नेप्सेमा उछाल आइरहेको छ । निरन्तर बढेर सोमबार सामान्य करेक्सन देखिएको बजार त्यस पछिका दिनमा पनि बढिरहेको छ । बजार निरन्तर बढ्दै गर्दा ६८ कम्पनीहरुको शेयर मूल्य २०० रुपैंयाभन्दा तल छ । ...