रसुवागढी र साञ्जेनले बैशाख ६ गतेदेखि डेढ अर्बको आईपिओ जारी गर्ने

Apr 09, 2019 Merolagani



रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीले आगामी बैशाख ६ गतेदेखि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएका छन्। पछिल्लो समय जनताको जलविद्युत कम्पनी अन्तर्गत समेटिएका दुबै कम्पनीको गरि करिब एक अर्ब ५० करोडको शेयर सर्वसाधारणमा निष्काशन हुन लागेकाे हाे।

मंगलबार प्रकाशित भएको आह्वानपत्र अनुसार रसुवागढी हाइड्रोपावरले जारी पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने एक अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको एक करोड २ लाख ६३ हजार १५० कित्ता शेयर निष्काशन गर्नेछ।

निष्काशित शेयरमध्ये चार प्रतिशत बराबरको ४ लाख १० हजार ५२६ कित्ता कर्मचारीहरुलाई र ५ लाख १३ हजार १५७ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाएर बाँकी रहेको ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणमा निष्काशन हुनेछ।

उता साञ्जेन जलविद्युत कम्पनीले कुल जारी पूँजी ३ अर्ब ९५ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्नेछ। 

निष्काशित शेयरमध्ये चार प्रतिशत बराबरको २ लाख १९ हजार कित्ता कर्मचारीहरुलाई र २ लाख ७३ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाएर बाँकी रहेको ४९ लाख ८२ हजार २५० कित्ता शेयर सर्वसाधारणमा निष्काशन हुनेछ।

यसरी हेर्दा रसुवागढीको ९३ लाख ३९ हजार ४६७ कित्ता र साञ्जेनको ४९ लाख ८२ हजार २५० कित्ता गरी कूल १ करोड ४३ लाख २१ हजार ७१७ कित्ता शेयर निष्काशन हुनेछ।

पाँच हजारदेखि पाँच लाख रुपैयाँसम्म आवेदन दिन सकिने

दुवै कम्पनीले निष्काशन गर्ने आईपिओमा लगानीकर्ताले न्यूनतम प्रतिकित्ता ५० कित्ताका लागि पाँच हजार रुपैयाँदेखि अधिकतम ५ हजार कित्ताका लागि पाँच लाख रुपैयाँसम्मको आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरु ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सकिन्छ। त्यसको अलावा मेरो शेयर प्रयोगकर्ताहरुले सो सफ्टवेयर मार्फत पनि आईंपिओ भर्न सक्नेछन्।

उक्त दुबै आयोजनाको आईपिओ छिटोमा बैशाख १० गते बन्द हुनेछ भने सो समयमा आवश्यक माग नभएको खण्डमा भने ढिलोमा जेठ ५ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था छ।

शतप्रतिशत नै भुक्तानी गर्नुपर्ने

जनताको जलविद्युत आयोजना अन्तर्गत समेटिए पनि यी दुबै कम्पनीहरुको आईपिओमा भने लगानीकर्ताले अंकित मूल्यमा शतप्रतिशत रकम नै भुक्तानी गर्नुपर्ने हुन्छ।

रसुवागढीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटका सन्दिप कार्कीले जनताको जलविद्युत आयोजनामा समेटिएका अन्य कम्पनीहरुले पहिलो चरणमा कल इन एड्भान्स बापत १० प्रतिशत रकम संकलन गर्ने व्यवस्था भएपनि यी दुबै आयोजनाको भौतिक प्रगति ५० प्रतिशत बढी भैसकेकाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले नै भुक्तानी गर्नुपर्ने बताए।

जनताको जलविद्युत आयोजना अन्तर्गत शेयर निष्काशन हुने अन्य कम्पनीको हकमा भने अग्रम दश प्रतिशत रकम संकलन गरि बाँकी ९० प्रतिशत रकम आयोजनाको भौतिक प्रगति ५० प्रतिशतभन्दा बढी निमार्ण सम्पन्न भएपश्चात मात्र संकलन गर्न सक्ने व्यवस्था रहेको छ।

रसुवागढी हाइड्रोपावरले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने साञ्जेनले १४.८ मेगावाट क्षमताको साञ्जेन माथिल्लो र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

साञ्जेनका दुबै आयोजनाहरु २०७६ पुस मध्यसम्म र रसुवागढी जलविद्युत आयोजनाले २०७६ फागुनदेखि व्यवसायिक विद्युत उत्पादन गर्ने प्रक्षेपण छ।

शेयर बिक्री प्रबन्धक

रसुवागढीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा सह निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई र सनराइज क्यापिटल छन्।

यस्तै साञ्जेन जलविद्युत्को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह निष्काशन तथा विक्री प्रबन्धक सनराइज र एनएमबि क्यापिटललाई तोकिएको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।