शेयर बजारमा करेक्सन जारी, कारोबार रकम १० करोड घट्यो

Nov 13, 2019 03:38 PM Merolagani



सोमबार मन्त्रीमण्डल परिवर्तन हुने र कम्पनीहरुले घोषणा गरेको उच्च लाभांशका कारण उकालो लागेको नेप्से परिसूचक त्यसपछिका दुई कारोबार दिन करेक्सन भएको छ। बुधबार नेप्से ४.८० अंक घट्दा कारोबार रकम १० करोड घटेको छ।

सोमबार नेप्से १३ अंक बढेको थियो। त्यही मौकामा अल्पकालीन लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लाग्दा नेप्सेमा निरन्तर २ दिन करेक्सन भएको हो।

पछिल्लो समयमा लगानीकर्ताहरुको कमजोर मनोबलका कारण बजार बढ्न नसकेको एक लगानीकर्ताले बताए। नियामक निकायहरुले लगानीकर्ताहरुको माग सम्बोधन नगरेका कारण मनोबल घटेको उनको भनाई छ।

कम्पनीहरुले पहिलेको तुलनामा बढी प्रतिफल वितरण गरिरहेका छन्। देशको आर्थिक वृद्धिदर पनि राम्रो छ। यती हुँदाहुँदै पनि लगानीकर्ताहरु बजार प्रवेश गर्न हिच्किचाइरहेका छन्। नियामक निकायहरुले लगानीकर्ताहरु माग सम्बोधन गरे बजार बढ्ने उनले बताए।

 

बुधबार १५४ कम्पनीको २७ करोड ५४ लाख २७ हजार रुपैयाँ बराबरको ९ लाख ८ हजार कित्ता शेयर ४ हजार १२७ पटकमा कारोबार भएको छ। यो मङ्गलबारको तुलनामा १० करोड कम हो।

यस दिन सेन्सेटिभ इन्डेक्स १.३९, फ्लोट ०.३१ र सेन्सेटिभ फ्लोट ०.३५ अंक घटेको छ।

बजार घट्दा पनि साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। पछिल्ला समयमा म्याचिङ्ग कारोबार भइरहेको यस कम्पनीको शेयरमूल्य यस दिन ६३ रुपैयाँ बढेर ८५८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस दिन व्यापार उपसमूहको परिसूचक ५.०९, वित्तको ०.२ र अन्यको ०.०१ प्रतिशत बढेको छ। म्युचुअल फन्ड उपसमूहको १.२२, उत्पादनको ०.८४, जीवन बीमाको ०.८१, बैंकिङ्गको ०.५, जलविद्युतको ०.४९, होटलको ०.४४, विकास बैंकको ०.१८ र निर्जीवन बीमाको ०.१२ प्रतिशत घटेको छ।

उच्च लाभांश घोषणाका कारण एनएमबि बैंकको शेयरमा लगानीकर्ताहरु आकर्षित भइरहेका छन् । यस दिन बैंकको ३ करोड १२ लाख ९८ हजार रुपैयाँ बराबरको ८२ हजार ६७९ कित्ता शेयर खरीद-बिक्री भएको छ।

 

 

माछापुच्छ्रे र साल्ट ट्रेडिङ्गको यस दिन २ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको १ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सबैको लघुवित्तको शेयरमूल्य यस दिन ६.४६, आँधिखोला लघुवित्तको ५.७१, मिथिला लघुवित्तको ५.१८ र माउन्टेन हाइड्रोको ३.९५ प्रतिशत बढेको छ।

यस दिन नेपाल इन्स्योरेन्सको शेयरमूल्य ५.५१, नेपाल इन्भेष्टमेन्टको ४.३५, सपोर्ट माइक्रोफाइनान्सको ३.३९, स्वदेशी लघुवित्त र प्राइम लाइफको ३.३७ प्रतिशत घटेको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।