के अहिले शेयर बजारमा लगानी गर्ने समय हो ?

Dec 01, 2019 06:00 PM Merolagani

- आनन्द कुमार भट्टराई।
विश्वका नाम कहलिएका शेयर बजारका सफल पण्डितहरु सबैले शेयरबजार तल आएको बेलामा ठूलो संख्यामा शेयर उठाउँछन् र जब बजार उल्लेख्य रुपमा माथि जान्छ अनि बिक्री गरि पुनः बजार तल झर्ने समय कुरेर बस्छन् र बजार तल आउँदा पुनः खरीद गर्छन्।

यो क्रममा उनीहरुले खरीद गरिसकेपछि बिक्रीको लागि २/३/४ वर्ष सम्म पनि कुर्छन र उल्लेख्य नाफा हुने अवस्थामा मात्र खरिद बिक्री गर्छन्।

तर यहाँ मूल प्रश्न भनेको कुन मूल्यमा खरीद गर्ने भन्ने हो। शेयर बजार एउटा निश्चित दायरामा पेण्डुलम जस्तो दायाँ-बायाँ गरिरहेको हुन्छ। जसरी घडीको पेण्डुलम पनि दायाँ तिर एउटा निश्चित बिन्दु भन्दा पर जाँदैन त्यसै गरि शेयर बजार पनि तल आउने एउटा निश्चित बिन्दु हुन्छ। त्यो भनेको स्टक एक्सचेञ्जको औसत मूल्य आम्दानी अनुपात हो। अर्थात कुनै पनि स्टक एक्सचेञ्जमा सूचीकृत सबै कम्पनीको औसत मूल्य आम्दानी अनुपात।

हाम्रो देशमा नेपाल स्टक एक्सचेञ्जले यस्तो विवरण निकाल्ने गरेको छैन। तर भारतको इतिहास हेर्ने हो भने औसत मूल्यआम्दानी अनुपात १०.२८ भन्दा तल आएको र २८.५ भन्दा माथि गएको छैन। त्यसैले सफल भ्यालु इन्भेष्टरले १०.२८ लाई कुर्दैन किनकी त्यो अवस्थामा शेयरको सप्लाई एकदमै कम भई आफूले खोजेको संख्यामा पाउन गार्हो हुने भएकोले तिनले औसत मूल्य आम्दानी/अनुपात १२/१३ मा आए पछि क्रमशः शेयर उठाउँदै जान्छन्।

अब नेपालको अवस्थालाई हेरौं। नेप्से सन् २०११ जुन १५ मा २९२.३१ मा हुँदा बैंकिङ्ग सेक्टरको औसत मूल्य आम्दानी अनुपात १०.०४ (तत्कालीन समयको उपलब्ध भएसम्मको डाटाको आधारमा यो लेखकले आफैँ गणना गरि निकालेको। यसमा CBL, CCBL, JBNL, MEGA, NBL PRAVU तथा SANIMA बैङ्क समावेश छैन) थियो भने मूल्य/नेटवर्थ अनुपात १.८४ थियो। जबकी २०७५/०५/१७ गते मूल्य आम्दानी अनुपात १५.३४ थियो। त्यति बेला जुन लगानीकर्ताले कम्पनीको आधारभूत सूचकलाई ध्यानमा राखेर कम मूल्य आम्दानी अनुपात र मूल्यनेटवर्थ अनुपात भएका शेयरमा लगानी गरे तिनले अहिले बजार पुनः तल्लो बिन्दुमा आउँदा समेत गुमाउनु नपरेको प्रमाण माथिको तालिकाबाट प्रष्ट हुन्छ।

त्यसैले लगानीकर्ताहरुले खेलाडीबाट फिजाईएको अर्थमन्त्रीको भूतको त्रासमा आफ्नो लगानी सस्तो मूल्यमा बिक्री गरि फाल्दै जाने हो की प्रमाणित तथ्याङ्कको आधारमा शेयर मूल्यको विश्लेषण गरि लगानी गर्ने हो त्यसको निर्णय आफैँले गर्नुपर्छ।

  • बजारले लगानीकर्ताबाट के अपेक्षा गरेको छ ?

बजारमा लगानीकर्ताको मनोभावनाले ठूलो भूमिका खेलेको हुन्छ। त्यसैले बजारले आफू उकालो लाग्नको लागि लगानीकर्ताको सकारात्मक मनोभावनाको अपेक्षा गरेको हुन्छ।

नेप्सेमा सूचीकृत प्रायः सबै कम्पनीका आर्थिक सूचकहरु सकारात्मक रहेको तथा मुलुकको आर्थिक अवस्थाको चित्रण गर्ने मानकहरु पनि सकारात्मक नै रहेको अवस्थामा पनि केही ठूला तथा खेलाडी लगानीकर्ताहरुबाट आम लगानीकर्ताको दिमागमा अर्थमन्त्रीको भूतलाई दरो किसिमले प्रत्यारोपण गर्न सफल भएका थिए ।

सोही कारणले आम लगानीकर्ताको मनोभावना सरकार, अर्थमन्त्री तथा बजार प्रति नकारात्मक हुन गई बजारले गति लिन नसकेको हो भन्ने आम बूझाई छ। त्यसैले बजारले लगानीकर्ताको सकारात्मक मनोभावनाको अपेक्षा गरेको छ र यस्तो हुने बितिकै बजारलाई माथि जानबाट कसैले रोक्न सक्दैन। त्यसैले लगानीकर्तालेः

  • सर्वप्रथम त आफ्नो दिमागबाट अर्थमन्त्रीको भूतलाई टपक्क टिपेर फाल्नुपर्छ।
  • हल्लाको पछि लागेर खरीद बिक्री गर्ने बानी त्यागी कम्पनीको आधारभूत सूचकहरुको विश्लेषण गरि लगानी निर्णय लिनुपर्छ।
  • के अहिले शेयर बजार यो बिन्दुमा आउने गरि मुलुकको अवस्था डामाडोल भएको छ त ? त्यसको विश्लेषण गर्नुपर्छ।

दुई तिहाईको सरकार, आर्थिक वृद्धि ७.१ प्रतिशतले बढ्ने अनुमान, आयातको वृद्धिदर घटेको छ भने  निर्याततर्फ बढोत्तरी देखिएको छ, ठूला परियोजनाको सम्झौता भई कार्यान्वयनमा गएका छन्  (नागढुङ्गा नौविसे सुरुङ्ग मार्ग, भैरहवा विमास्थल, पोखरा विमानस्थल, काठमाण्डौं निजगढ द्रुत मार्ग,) डुईङ्ग विजनेशमा नेपालको प्रगतिले विदेशी लगानी आकर्षित हुने अवस्था रहेको, वैदेशिक लगानी बढ्दै गएको, सन् २०२० लाई पर्यटन वर्षको घोषणा र तदनुकुल होटल ब्यवसायमा भित्रिएको वैदशिक लगानी तथा रोजगारी श्रृजना, उच्च आर्थिक वृद्धि गर्ने नेपालको प्रयासमा विश्व बैंङ्कबाट सघाउने प्रतिबद्धता, मुगलिङ्ग पोखरा सडकको स्तरोन्नतीको लागि एशियाली विकास बैंकको करिब २० अर्कको ऋण सहयोगको  समझौता, २१६ मेगावाटको माथिल्लो त्रिशुली (१ जलविद्युत आयोजनाको लागि करिब ५१ अर्ब रुपैयाँको वैदेशिक ऋण सम्झौता तथा अर्थ ब्यवस्था सुधारोन्मुख रहेको नेपाल राष्ट्र बैंकको समीक्षा, मार्जिन कारोबारको शुरुवात ( जसमा हाल बजार वियरिश ट्रेण्डमा रहेकोले लगानीकर्ता आकर्षित हुन सकेका छैनन्) आदी जस्ता मुलुकको सकारात्मक पक्षहरुको बारेमा लगानी गर्नु पूर्व विश्लेषण गर्नु उपयुक्त हुन्छ।

  • अर्थमन्त्री भनौं या सरकार भनौ तिनले मुलुकको कुनै एक वर्ग, क्षेत्रको लागि नभई सबै वर्ग, क्षेत्रको उत्थानको लागि नीति निर्माण तथा कार्यान्वयन गर्नुपर्छ। नयाँ नीतिको कार्यान्वयनको परिणाम अल्पकालमा प्रायः नकारात्मक देखिएता पनि दीर्घकालमा सकारात्मक नै देखिन्छ। माथि उल्लेख गरिएका सकारात्मक पक्षहरुको परिणाम देखिँदै जाँदा त्यसको असर शेयर बजारमा अवश्य पर्छ भन्ने कुरा लगानीकर्ताले हेक्का राख्नुपर्छ।
  • शेयर बजार अहिलेको अवस्थामा आउनुमा अर्थमन्त्रीको केही नकारात्मक टिप्पणी कारक त होला तर उनले ब्यक्त गरेका पछिल्ला अभिब्यक्तीलाई लगानीकर्ताले वास्ता नगर्नु लगानीकर्ताको भूल हो र त्यसको परिणाम नै शेयर बजार यो बिन्दुमा आउँदा पनि लगानीकर्ता अझै सचेत हुन सकेका छैनन् र त्यसको फईदा ठूलाले उठाई रहेका छन् ।

 उदाहरणको लागि, अर्थमन्त्रीले कुनै  मञ्चमा भनेका थिए 'तिर्खाएको घोडालाई पानी भएको ठाउँमा ल्याई दिएको छु'  तर यसको संकेत लगानीकर्ताले बुझ्न नसक्नुमा लगानीकर्ताले आफ्नो दिमागमा अर्थमन्त्रीको भूतलाई पालेर राखिरहनु हो। वास्तवमा अर्थमन्त्रीको संकेत शेयर बजारलाई वास्तविक ठाउँमा ल्याई दिएको छु अब शेयर खरीद गर्ने नगर्ने लगानीकर्ताको इच्छा हो भन्ने कुरालाई लगानीकर्ताले मनन् गर्न सकेनन्।

अतः लगानीकर्ताले अर्थब्यवस्थाको सुधारोन्मुख पक्षहरुको विश्लेषण गरि मुलुकले अगामी दिनमा प्रगती गर्दै जान्छ भन्ने विश्वास छ भने शेयरमा निर्धक्क भएर लगानी गर्ने तर्फ विचार गर्ने बेला भनेको अहिले नै हो ।

  • बजारले सरकारबाट के अपेक्षा गरेको छ ?
  • सर्वप्रथम त खेलाडी र ठूला तथा टाठा बाठा लगानीकर्ताले बजारलाई आफू अनुकूल तल माथि गर्न प्रयोग गर्ने १० कित्ते रणनीतिलाई निस्तेज गर्नुपर्छ। त्यसको लागि अहिले १० कित्ताभन्दा कम कित्ताको कारोबार मूल्यलाई इण्डेक्स गणनामा समावेश नगरिने प्रचलनलाई अबिलम्ब १०० कित्ता वा १ लाख  रुपैयाँ गरिनुपर्छ। यति मात्र गर्न सकियो भने मूल्यमा हुने चलखेललाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।
  • शेयर बजारका लगानीकर्तामा अहिले आत्मविश्वासको अत्यधिक कमीको कारण त्रसित मानसिकतामा छन्। जसरी अभिभावकले बालकलाई दुई तीन पटक प्याट्ट प्याट्ट हिर्काउँदा बालक त्रसित बनेको हुन्छ र त्यसपछि अभिभावकले चकलेट दिएर फकाउन खोजे पनि चकलेटको लोभ देखाएर फेरि पनि पिट्ने हो की भन्ने शंका लागि जसरी बालक चकलेटको लोभ छोडी पछि हट्छ ठीक त्यस्तै अवस्था अहिले लगानीकर्ताको छ। त्यसैले सरकारबाट अहिले लगानीकर्ताको त्रसित मानसिकतालाई निर्मूल गरि गुमेको आत्म विश्वासलाई फिर्ता ल्याउन गतिलै किसिमले लगानीकर्ताको पिठ्युँमा धाप मार्नुपर्ने अवस्था छ।
  • शेयर बजार तथा समग्र अर्थ ब्यवस्थाको लागि नकारात्मक पक्षको रुपमा रहेको राजश्व तथा सरकारी खर्चमा सुधारको लागि ठोस कार्यक्रम ल्याउनुपर्ने हुन्छ। त्यसैगरि बैंकबाट प्रवाह हुने ऋणको ब्याजमा देखिने गरि कमी आउन नसकेको अवस्थालाई सम्बोधन गर्नुपर्छ।
  • स्टक डिलरशिपको कामको शूरुवात हुन नसक्नु, मार्केट मेकरको शुरुवात हुन नसक्नु, एनआरएनलाई शेयर बजारमा भित्र्याउने भनिए पनि त्यसले सार्थकता पाउन नसक्नु, क्लोज आउटको समस्याको समाधान हुन नसक्नु आदी शेयर बजारसँग सम्बन्धित पक्षहरुमा देखिएका समस्यालाई  समाधान गरि अत्यधिक शेयर सप्लाईको समस्या समाधान गर्नुपर्छ।

अन्त्यमा लगानीकर्ताहरुको जानकारीको लागि २०७६/०८/१२ गतेको मूल्यको आधारमा बैंकिङ्ग सेक्टरका २७ वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात, मूल्य नेटवर्थ अनुपात तथा ग्राहम नम्बरको गणना तल तालिकामा प्रस्तुत गरिएको छ।

 

(** लाभांश घोषणा भएर बूकक्लोज हुन बाँकी रहेको कम्पनीको हकमा बोनस शेयर समेत कूल शेयर कायम गरिएको तथा बजार मूल्य बोनस शेयर बमोजिम समायोजन गरि प्रतिशेयर नगद लाभांश घटाएर कायम गरिएको छ।)

माथिको तालिकाको अध्ययनबाट लगानीको दृष्टिकोणले अहिलेको अवस्था १५ महिना अघिको भन्दा अझै उपयुक्त रहेको देखिन्छ। २०७५ भाद्रमा बैंकिङ्ग सेक्टरको २७ कम्पनीमध्ये ग्राहम सुत्रको आधारमा ११ कम्पनी लगानीको हिसाबले सुरक्षित थिए भने अहिले १६ कम्पनी सुरक्षित घेरा भित्र रहेका छन्।

कम्पनी प्रति जनमानसको विश्वास, कम्पनीको सुशासन तथा अन्य विविध कारणले कतिपय कम्पनीको शेयर मूल्य ग्राहम नम्बर भन्दा कममा सहजै पाउन सकिँदैन। त्यसैले त्यस्ता कम्पनीको शेयर खरीद गर्दा समग्र पक्षको विश्लेषण गरि खरीद निर्णय लिनु उपयुक्त हुन्छ। 

नोटः माथिको विश्लेषण उपलब्ध तथ्याङ्क तथा चलेका सुत्रका आधारमा प्रस्तुत गरिएको हो। यसैको आधारमा शेयर खरीद बिक्री गर्नुभन्दा पहिले आफैँले पनि विश्लेषण गरि निर्णय लिनु राम्रो मानिन्छ।

(उपराेक्त लेख अर्थ मन्त्रालयका अवकाश प्राप्त उपसचिव भट्टराईका निजी विचार हुन् )

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।