अमेरिकी रोजगारी सिर्जना अपेक्षाभन्दा बढी

Dec 08, 2019 04:43 PM Agency



सन् २०१९ को नोभेम्बर महिनामा अमेरिकी अर्थतन्त्रले अपेक्षा गरेभन्दा धेरै रोजगारी सिर्जना गरेको छ । रोजगारी सिर्जना दर विगत १० महिनाकै सबैभन्दा धेरै हो । 

अमेरिकी श्रम मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत महिना २ लाख ६६ हजार रोजगारी सिर्जना भएको छ । यस अवधिमा बेरोजगारी दर ३.६ प्रतिशतबाट घटेर ३.५ प्रतिशतमा झरेको छ । सो अवधिमा १ लाख ८० हजार मात्रै रोजगारी सृजना हुन सक्ने विश्लेषण गरिएको थियो ।

अमेरिकी अटो निर्माता कम्पनी जनरल मोटर्स (जीएम) मा हड्ताल गरिरहेका कर्मचारीहरू काममा फर्किएपछि रोजगारी वृद्धिमा सहयोग पुगेको बताइएको छ ।

चीनसँग जारी व्यापार युद्धले अमेरिकामा व्यावसायिक मनोबल र लगानी प्रभावित हुने डर रहेपनि अमेरिकी अर्थतन्त्रले निरन्तर सुधारको गति लिइरहेको छ ।

चाल्स स्वाबका प्रबन्ध निर्देशक रिचार्ड फ्लिनले रोजगारी तथ्यांक अपेक्षाभन्दा निकै धेरै भएको बताए । रिचार्डले भने, विश्व अर्थतन्त्र सुस्ताइरहेको बेला व्यापार अनिश्चय पनि कायमै छ । तर पछिल्लो रोजगारी तथ्यांकले भने श्रम बजार र उपभोक्ता मनोबल दुवै सुदृढ भएको देखाएको छ ।

यस अवधिमा पार्ट–टाइम काम गर्नेको संख्या ४३ लाख २० हजारमा आएको छ । यो ३० वर्षको औसतभन्दा कम हो ।

गत वर्षको सोही अवधिको तुलनामा तलब वृद्धि ३.१ प्रतिशतले बढेको छ । रोजगारी सृजना अप्रत्याशीत रहेपनि संशोधित तथ्यांकमा भने घटेर आउन सक्ने बताइएको छ । एजेन्सी




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।