'जब राति बुढी ताति', पुस २९ गते एकैदिन २५ कम्पनीको साधारण सभा

Dec 30, 2019 02:40 PM Merolagani



'जब राति बुढी ताति' भन्ने उखान नेपाली समाजमा निकै प्रचलित उखान हो। समय सकिएपछि हतार हतार काम गर्ने नेपाली प्रवृत्तिलाई नेपालको शेयर बजारमा सूचीकृत २५ कम्पनीहरुले अन्तिम एकै दिनमा साधारण सभा आह्वान गरेर थप चरितार्थ गरेका छन्।

आर्थिक वर्षको समाप्त भएको ६ महिनाभित्र साधारण सभा सम्पन्न गर्ने समय रहँदा पनि अन्तिम दिनमा कारवाहीबाट बच्न दुई दर्जन बढी कम्पनीहरुले साधारण सभा बोलाउनुले नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरु आफ्ना लगानीकर्ताहरु प्रति कति गैरजिम्मेवार छन् भन्ने देखाउँछ।

नेप्सेमा सूचीकृत कूल २१५ कम्पनीहरुमध्ये २५ सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष समाप्त भएर  चालु आवको दोस्रो त्रैमासको अन्तिम दिन पुस २९ गते एकै दिनमा वार्षिक साधारण सभा आह्वान गर्दा लगानीकर्ताहरु सभामा भाग लिनबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ। उक्त दिन ७ वटा विकास बैंक, ७ वटा फाइनान्स कम्पनी, ७ वटा लघुवित्त कम्पनी, दुईवटा हाइड्रोपावर तथा तारागाँउ रिजेन्सी र नेपाल दुरसञ्चार कम्पनीले साधारण सभा बोलाएका छन्।

यसैगरि पुस २८ गते ७ वटा कम्पनी, पुस २७ गते ३ वटा, पुस २६ गते ४ वटा,  पुस २५ र २४ गते ५/५ वटा, पुस २३ गते ४ वटा कम्पनीहरुले साधारण सभा आह्वान गरेका छन्। पुस १५ देखि २२ गतेसम्म ८ वटा कम्पनीको साधारण सभा बोलाइएको छ भने पुस १४ गतेभन्दा अगाडि १३ वटा कम्पनीले पुसभित्रै साधारण सभा सम्पन्न गरेका छन्। 

कम्पनी ऐन २०६३ को दफा ७६ अनुसार पब्लिक कम्पनीको रुपमा संस्थापना भएका कम्पनीहरुले पहिलो वर्ष एक वर्षभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने व्यवस्था छ। सोही बमोजिम सूचीकृत भएका सम्पूर्ण कम्पनीहरुलाई पुस महिना भित्र नै साधारण सभा गर्नैपर्ने बाध्यता हुन्छ।

पुस महिनाभित्रै आफनो कम्पनीको वार्षिक साधारण सभा गर्नुपर्ने बाध्यतामा रहेका कम्पनीहरुले पुस महिनाको अन्तिम दिन साधारण सभा बोलाएका हुन्। संस्थागत सुशासन खस्किन नदिन पनि कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास भित्रमा नै वार्षिक साधारण सभा गर्नुपर्ने हुन्छ।

वार्षिक साधारण सभा बस्नका लागि आव समाप्त भएको ६ महिना समय अवधि हुँदाहुँदै पनि अन्तिम समयमा मात्रै काम गर्ने नोपली प्रवृत्ति यहाँ पनि हाबी भएको देखिन्छ। पुसको अन्तिम दिन २९ गते नै २५ कम्पनीले सभा बोलाउनुले पनि सूचीकृत कम्पनीहरु लगानीकर्ताहरु प्रति जिम्मेवार हुन नसकेको  विश्लेषकहरु बताउँछन्। 

कम्पनीहरुले समयमा नै साधारण सभा गरेर नियमनकारी निकायले तोकेको नियम पूरा गर्नभन्दा झारा टार्ने नियतले यसरी सभा बोलाउने गरेको उनीहरुको तर्क छ। अन्तिम दिन एकैपटक साधारण सभा आह्वान गर्दा आफ्ना गल्तिहरु समेत ढाकछोप गर्न सघाउ पुग्ने भएकाले धेरै कम्पनीहरुले अन्तिम दिनलाई नै रोज्ने गरेका छन्।

पुस महिनामा कुन कुन कम्पनीले सम्पन्न गर्दैछन् साधारण सभा हेर्नुहोस् :-


सर्वसाधारण लगानीकर्ताहरुले कम्पनीको अन्य आन्तरिक बैठकहरुमा भाग लिन  नपाउने हुँदा साधारण सभा नै यस्तो थलो हो जहाँ उनीहरुले कम्पनीको गलत क्रियकलापहरुमा खबरदारी र राम्रो कार्यको प्रशंसाका साथै सुझाव दिएर सहि दिशानिर्देश गर्न सक्छन्। तर अधिकांश कम्पनीहरुले एकैदिन सभा बोलाउँदा लगानीकर्ताहरु सभामा भाग लिनबाट बञ्चित हुनुपर्ने देखिएको हो।

यसरी धेरै कम्पनीको एकैदिन अझ एकै दिनको पनि एकै समयमा साधारण सभा आयोजना हुँदा लगानीकर्ताहरुलाई कुन कम्पनीको सभामा भाग लिने भन्नेमा पनि दुबिधा हुन जान्छ भने कम्पनीको समग्र अवस्था विश्लेषण गरि सभाका लागि लगानीकर्ताले तयारी गर्न पनि मुस्किल पर्ने देखिन्छ।

यस्तै सूचीकृत कम्पनीहरुले यसरी तोकिएको समय (आव समाप्त भएको ६ महिनाभित्र) मा वार्षिक साधारण सभा नगरेमा नेप्सेले गर्ने कम्पनी वर्गिकरणमा यस्ता कम्पनीको स्तर खस्कने गर्दछ। पुस मसान्तमा साधारण सभा सम्पन्न गर्न नसक्ने सूचीकृत कम्पनीहरुले बिलम्व शुल्क वापत जरिवाना नेप्सेमा बुझाउनुपर्ने हुन्छ। त्यसकारण पुस मसान्त अन्तिम एकै दिनमा सबै कम्पनीलाई साधारण सभा सम्पन्न गर्ने हतारो छ।

यदि कम्पनीहरु लगानीकर्ता (शेयरधनी) प्रति जिम्मेवार हुने थिए भने समयमा साधारण सभा बोलाउने थिए। यसले कम्पनीहरुले लगानीकर्ताको सभामा भाग लिएर आफ्नो कुराहरु राख्न पाउने अधिकारको ठाडै अवमुल्यन गर्ने गरेको छ।

साधारण सभामा सार्वसाधारण लगानीकर्ताले पनि भाग लिएर कम्पनी र कम्पनीका सञ्चालक प्रतिको असन्तिुष्टिहरु सभा मार्फत राख्ने गर्दछन्। सर्वसाधारण आरोपबाट जोगिनका लागि पनि अधिकाशं कम्पनीहरुले एकैदिन साधारण सभा बोलाएर आफूलाई मनलाग्दी एजेन्डाहरु सभाबाट पारित गराउन लागेको आशंका लगानीकर्ताहरुमा रहेको पाइन्छ।

वार्षिक साधारण सभाले कम्पनीहरुको वार्षिक मूनाफाबाट शेयरधनीलाई प्रतिफल वितरण गर्नेका साथै कम्पनीको प्रगति सहित वार्षिक कार्य योजनाहरुलाई पनि पारित गर्ने गर्दछ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।