सभामुखको निर्वाचन हुँदै

Jan 26, 2020 04:05 PM Merolagani



प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ। सो पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ।

सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण छन्।

यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो। सो दिनको बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामाबारे बैठकलाई जानकारी गराएका थिए।

तत्कालीन सभामुख कृष्णबहादुर महराले आफू महिलामाथिको यौन दुव्र्यवहारको विवादमा परेपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिएका थिए। हाल उनी पुर्पक्षका लागि थुनामा छन्। सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ।

गत पुस ४ गते शुरु भएको सङ्घीय संसद्को चालु पाँचौँ अधिवेशनअन्तर्गत राष्ट्रियसभाका बैठक नियमित भए पनि प्रतिनिधिसभाको सभामुखमा रिक्तता र त्यसमा राजनीतिक सहमतिमा भएको ढिलाइका कारण बैठक स्थगन हुँदै आएको थियो।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।