सुरुवाती समयमा थोरै ब्रोकर र सीमित लगानीकर्ता बजारमा थिए। ब्रोकर कम्पनीका अफिस समेत थिएनन् । उनीहरू लगानीकर्ताका घर/ घर गएर सेवा दिन्थे । सुरुवाती चरणमा ब्रोकर झोला बोकेरै काम चलाउँथे । उनीहरूको आम्दानीले अफिस खोल्ने हैसियत समेत थिएन ।
बिस्तारै कारोबार बढ्न थाल्यो । डिल्लीबजारमा रहेको नेप्सेकाे कार्यालय साँघुरिन थाल्यो । लगानीकर्ताको भीड समेत बढ्न थाल्यो । नेप्सेले आफ्नै भवन बनाएपछि सिंहदरबार प्लाजामा कार्यालय सर्यो । प्लाजामा रहेको कार्यालयमा दिनको १२ देखि दुई बजेसम्म मानिसहरू अटाइ नअटाई हुन थाले ।
बजारलाई सेमी अटोमेसन इन्ट्रानेट प्रविधि मार्फत शेयर कारोबार ब्रोकर कार्यालयमा सारियो । एशियाली विकास बैङ्कको तीन करोडको सहयोगमा बेलायतको कमड्याक भन्ने कम्पनीले उक्त सफ्टवेयर बनाएको हो । उक्त सफ्टवेयर तीन वर्षसम्मको लागि बनाइएको थियो । याे व्यवस्था तत्कालीन नेप्सेका महाप्रबन्धक रेवत बहादुर कार्कीको पालामा भएको हो ।
बिश्ववमा इन्ट्रानेट प्रविधि फेज आउट हुँदै गएको थियो भने स्टकहरुमा अनलाइन प्रविधि भित्रिँदै थिए । छिमेकी राष्ट्रहरूले समेत अनलाइन प्रविधि मार्फत कारोबार थालिसकेका थिए । लगानीकर्ताको माग अनलाइनको हुन थाल्यो । अनलाइन प्रविधिकाे सुरुवाती पहल तत्कालीन नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले गरेका थिए ।
नेप्सेले आन्तरिक रूपमा अनलाइन ल्याउन अध्ययन सुरु गर्यो । अन्तर्राष्ट्रिय कम्पनीहरू र स्टकहरूले चलाएको अनलाइन प्रविधिको बारेमा जानकारी माग्न थालियाे। बिभिन्न कम्पनीले बिभिन्न प्रस्ताव गर्न थाले ।
पाकिस्तानको इन्फोटेक कम्पनीले सफ्टवेयर बनाइदिने प्रस्ताव त्यही बेलामै गरेको थियो । विश्वमा चलेका राम्रा रेडिमेड सफ्टवेयर राख्न भन्दै मूल्यको अध्ययन सुरु भयो । जसमा फुल प्याकेजका लागि ७० लाख डलर सम्मको मूल्य प्रस्ताव आयो। जुन किन्नै नसकिने चर्को थियो । मिलिनियम आईटीले समेत प्रस्ताव गर्यो । त्यो समेत धेरै महँगो थियो । भारतको नेशनल स्टकले त्यही बेला रणनीतिक साझेदारीको प्रस्ताव गरेको थियो।
सबैतिर बुझेपछि अन्त्यमा खरिद गर्नै नसकिने र धान्नै नसकिने एएमसि चार्ज ( बार्षिक मर्मत खर्च ) ले गर्दा नेप्सेले रेडिमेड सफ्टवेयर चाहेर पनि किन्न सकेन । म्याचिङ इन्जिन मात्रै किन्ने सोच बनायो । त्यसको मूल्य समेत त्यो समयमा २५ करोड रुपैयाँ पर्ने र त्यसको एएमसि चार्ज २० प्रतिशत तिर्नुपर्ने भएपछि नेप्सेले सबै योजना बन्द गर्यो । किनकि पहिले नै २५ करोड तिर्नुपर्ने त्यसको बर्षेनी २० प्रतिशत एएमसि चार्ज अर्थात् करिब पाँच करोड रुपैयाँ पर्ने भएपछि केही समय अनलाइनको विषयले विश्राम पायो ।
पछि अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गर्दा धेरै देशले आफ्नै देशको लोकल कम्पनीले बनाउने गरेको बुझिएपछि नेपालकै योमरी भन्ने कम्पनी हालको वाइकोले सफ्टवेयर निमार्ण गर्न सकिने भन्दै प्रस्ताव गर्यो । किनकि उसले पहिलेको सेमी अटोमेसनमा मर्मत संभारकाे जिम्मा लिएको थियो ।
२०७२ सालमा नेप्सेले सफ्टवेयर बनाउन अन्तर्राष्ट्रिय टेन्डर निकाल्याे । जसमा स्वदेशी र विदेशी कम्पनीहरूले आवेदन दिए। तिनीहरू मध्येबाट नेपालको योमरी जुन हालको वाइको भन्ने कम्पनीले टेन्डर पार्यो । वाइकाे सँग नेप्सेले २०७२ फागुनमा १८ महिनासम्ममा सफ्टवेयर निमार्ण गरिसक्ने गरी सम्झौता गर्यो । नेप्सेले सफ्टवेयर र त्यसमा प्रयोग हुने हार्डवेयर दुवैको भ्याट सहित १९ करोड ८१ लाख रुपैयाँमा सझाैता गरेको जनाएको छ । जसमा भ्याट बाहेक आठ करोड ५० हजार रुपैयाँको हार्डवेयर र नौ करोड १६ लाख रुपैयाँमा सफ्टवेयर दिने सम्झौता भएको नेप्सेका अधिकारी बताउँछन् । त्यसको एएमसि चार्ज बेग्ला बेग्लै रहेको अधिकारीले बताए । जसमा हार्डवेयरको वार्षिक एएमसि चार्ज ६ प्रतिशत छ भने सफ्टवेयरको १२ प्रतिशत हाल नेप्सेले बुझाउँदै आएको छ ।
सम्झौता गरिए अनुसार यतिबेला नेप्सेले सबै हार्डवेयरको रकम भुक्तानी गरिसकेको छ भने सफ्टवेयरको तीन करोड रुपैयाँ मात्रै भुक्तानी गरेको छ। बाँकी रकम अझै उसले वाइकोलाई दिएको छैन ।
- सम्झौता अनुसार यस्ताे सफ्टवेयर
वाइको एक्लैले उक्त सम्झौता गरेको थिएन । उसले भारतीय कम्पनी इन्फोनाइटसँग साझेदारी गरेको थियो । सम्झाैता अनुसार नै उसले नेप्सेका लागि टेलर मेड सफ्टवेयर बनाउने तयारी सुरु गर्यो । उसले सुरुवातमा रिक्वरमेन्ट इन्जिनियरिङ गर्यो । नेप्सेले निर्धारण गरेको रिक्वारमेन्ट अनुसार उसले एसआएस तयार पार्यो । उक्त एसआएस ठीक भए नभएको हेर्न नेप्सेले एक बाह्य विज्ञ सदस्य सहितको कमिटी नै बनाएको थियो । उक्त कमिटीले अनुमति दिए अनुसार उसले डिजाइन तयार गर्यो । सोही रिक्वाएरमेन्ट अनुसार उसले हाइ र लो लेभल दुवै किसिमको कोडिङ गर्यो । उसले टेलर मेड इन्ट्रिगेटेड एप्लिकेशन बनाएको हो । उसले बनाएको सफ्टवेयरमा २० वटा मोडल छन् । यो फुल प्याकेज हो । यसका २० वटा मोडल एक आपसमा जोडिएर काम गर्छन् । उसले विश्व स्ट्याण्डर्ड प्राइस एण्ड टाइमको आधारमा म्यचिङ इन्जिन तयार गरेको छ । यो एप्लिकेशन सफ्टवेयर हो ।
नेप्सेको सफ्टवेयर बनाउने कम्पनी नेपालमा सन् १९९७ मा स्थापना भएको कम्पनी हो। सफ्टवेयर निर्माण गर्ने यो कम्पनी योमरी ग्रुप अर्न्तगत पर्छ । एलआइएस भन्ने उसको अर्को कम्पनी पनि छ । जसले विदेशी कम्पनीहरुका लागि सफ्टवेयर निर्माण गर्दछ । सन् २०१४ देखि विदेशमा समेत सफ्टवेयर निर्यात गर्दै आएको कम्पनीलई याे वर्ष सबैभन्दा बढी सफ्टवेयर विदेश निर्यात गरेको भनेर उद्योग मन्त्रालय अन्तर्गतको निकासी प्रवर्धन केद्रले पहिलो पटक पुरस्कृत समेत गरेको छ । उसले २० करोड रुपैयाँ बराबरको सफ्टवेयर विदेश निर्यात गरेको थियो । वार्षिक ४० करोड रुपैयाँ बराबरको काम गर्ने गरेको कम्पनीले नेपाल टेलिकम, नेपाल प्रहरी, पर्यटन विभाग, नेप्से लगायतको सफ्टवेयर निर्माण गरेको छ ।
सफ्टवेयर निर्माण गर्दा परेको मुद्दा, धितोपत्र बोर्डले गरेको छानबिन, बोर्डले तोकेको मापदण्ड अर्को भागमा