आईपीओ निष्काशन गरेको लिबर्टी इनर्जीले आगामी चैतदेखि विद्युत उत्पादन गर्ने, राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिँदै

Mar 12, 2020 09:39 AM Merolagani



जलविद्युतको ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी चैत महिनाबाट २५ मेगावाट बिजुली थपिन लागेको छ। दोर्दी गाउँपालिकामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण सकिने भएसँगै यस आयोजनाबाट २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो।

विसं २०७१ असोजबाट निर्माण थालिएको सो आयोजना आगामी चैत्र मसान्तसम्म व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम तीव्र भइरहेको प्रवद्र्धक राजेन्द्र वस्तीले बताए।

लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजनाको निर्माण हालसम्म ९७ प्रतिशत सम्पन्न भइसकको उनको भनाइ छ। उनका अनुसार बाँध क्षेत्र निर्माण, विद्युत्गृह, इलेक्ट्रोमेकानिकललगायतको काम केही प्रतिशत मात्र गर्न बाँकी रहेको छ। यहाँ विद्युत्गृहमा उपकरण जडान गर्ने, सिभिल निर्माण गर्ने काम बाँकी रहेको आयोजनाले जनाएको छ।

विसं २०७४ मै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्माण निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ। “सम्झौताअनुसार अब यस आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने आगामी चैत ३० गतेसम्म रहेको छ, यस मितिभित्रै आयोजनाबाट बिजुली उत्पादन शुरु हुन्छ”, प्रवद्र्धक वस्तीले भने।

यसरी आयोजनाको काम बढ्दा लागत पनि ६७ करोड ६० लाखभन्दा बढी लाग्ने अनुमान आयोजनाको रहेको छ। तीन अर्ब ९६ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल रु चार अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ। आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ।

आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ। आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र दुई हजार सात सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युतगृहमा झारिने बताइएको छ। यस आयोजनामा १२ दशमलव पाँचका दुई गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ।

यस आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिबर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता भएको छ। जिल्लामा यस आयोजनासहित दोर्दी करिडोरमा मात्र पाँच आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। यी सबै आयोजनाको निर्माणपश्चात् वार्षिक करोडौँको बिजुली उत्पादन हुने भएको छ।

जिल्लामा यसअघि आधा दर्जन जलविद्युत् केन्द्रबाट बिजुली उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेको छ। यस आयोजनाले मङ्गलबारदेखि आयोजना प्रभावित र जिल्लावासीका लागि १५ करोड रुपैयाँबराबरको शेयरसमेत खुला गरेको छ। एक हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म शेयर हाल्न पाउने र आगामी चैत ३० गतेसम्म खुला रहने आयोजनाले जनाएको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।