दुई कम्पनीको शेयरमूल्य समायोजन

Mar 13, 2020 07:59 AM Merolagani



सेञ्चुरी कमर्सियल बैंक र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा यी दुबै कम्पनीको फागुन ३० गते शुक्रबार बोनस शेयरमा शेयरमूल्य समायोजन भएको हो।

यी दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले सेञ्चुरी बैंक (CCBL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १७७ रुपैयाँ ४५ पैसा कायम गरेको छ।

बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेर बैंकको नवौं साधारणसभा आह्वान गरेको छ। बैंकले आगामी चैत १४ गते शुक्रबार आर्मी आफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे सभा बोलाएको हो।

सभामा बैंकले गत आर्थिक वर्षको कमाइबाट २ प्रतिशत बोनस र कर सहित ४.७५ प्रतिशत नगद गरी कुल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

यस अनुसार बैंकले १६ करोड ८३ लाख बोनस र ३९ करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने छ।

हाल ८ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको २ प्रतिशत बोनस शेयर वितरणपश्चात पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ।

त्यसैगरी, वोमी माइक्रोफाइनान्स (WOMI) को शेयरमूल्य समायोजन गरी नेप्सेले ८५६ रुपैयाँ कायम गरेको छ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभाँश वितरण गर्ने प्रस्ताव गरेर कम्पनीको आठौं वार्षिक साधारणसभा आह्वान गरेको छ। लघुवित्तले चैत १६ गते धुलिखेलस्थित जुगल होटलको सभाहलमा विहान ११ बजे सभा बोलाएको हो।

सभामा लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादैछ।

यसअनुसार लघुवित्तले सभाबाट पारित भएपछि २ करोड ५२ लाख रुपैयाँ बराबरको बोनस शेयर र १३ लाख ३० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

असार मसान्तसम्म १० करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस पश्चात चुक्ता पूँजी १२ करोड ६३ लाख रुपैयाँ पुग्नेछ।

सभामा अन्य उपयुक्त वित्तीय संस्था गाभ्ने तथा गाभिने प्रयोजनको लागि गर्नुपर्ने सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत लैजादैछ।

त्यस्तै सञ्चालक समितिको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत अघि सारेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले फागुन ३० गतेदेखि बुकक्लोज गरेको हो। यस अनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

दुबै कम्पनीको समायोजित मूल्यलाई आधार मानेर आइतबार शेयर कारोबार खुल्नेछ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।