कोरोना भाईरसको महामारीः शेयर लगानीको रणनीति

May 11, 2020 07:10 PM Merolagani

आनन्द कुमार भट्टराई

भट्टराई कोरोना भाईरसलाई विश्व स्वास्थ्य संगठनले विश्वब्यापी महामारी भनेर घोषणा गरिसकेको छ । चिनको बुहानबाट शूरु भएको यो माहमारी बिश्वका २१२ देशमा फैलिसकेको छ। चिन्ताको अर्को विषय भनेको यसले विश्वब्यापी माहामारीको रुप लिईसकेको अवस्थामा यसलाई छिटै नियन्त्रण गर्न नसकेमा यो पनि सन १९१८ को फ्लु माहामारी जस्तो हुने त हैन ।

सन १९१८ को फ्लु को माहामारीले तत्कालिन विश्वको करिब एक तिहाई जनसंख्या अर्थात ५० करोड जनसंख्यालाई संक्रमित गरेको थियो जस मध्ये करिब ५ करोडले ज्यान गुमाएका थिए ।

अर्को तर्फ विश्व अर्थ ब्यवस्था चकनाचुर हुँदैछ । कतिपय देशले रेष्टुरेन्ट, बार, मलहरु बन्द गरिसकेका छन् भने हवाई तथा जल एवम थल मार्गबाट आवत जावतमा समेत प्रतिबन्ध लगाईसकेका छन् । मानिसहरुले डरले काममा जान, बजार गर्न, मनोरन्जनको गर्न, रेष्टुरेन्ट तथा बारमा जान बन्द गरिसकेका छन् । स्कूल कलेजहरु तथा धेरै जमघट हुने स्थानहरुको कार्यक्रम बन्द गरिएका छन् । यी सबैको असर समग्र विश्व बजारमा गंभिर रुपले पर्नेनै हुनाले ठूलो मन्दीको संकेत दिईसकेको छ ।

यसबाट विश्वकै शेयर बजारका लगानीकर्ताहरु अत्यधिक प्यानिक भई विक्री बढाउँदा विक्री दबाव पर्न गई अधिकांश देशका शेयर बजारमा पहिरो  गएको अवस्था छ र यसबाट कसरी मुक्ति पाउने भन्ने चिन्ताले सारा देशका सरकार गंभिर भएर लागि परेका छन् । 

बजारलाई टाईमिङ नगरी राम्रा कम्पनीका अण्डर भ्यालुड शेयरमा लगानी गर्ने हो

बजार यहाँ सम्म जान्छ (Timing the Market) भन्ने प्रयास गर्नु भनेको आफ्नो मुनाफालाई कमजोर बनाउने बिश्वसनीय तरिका हो । लगानी गर्ने मामलामा म अरु भन्दा उत्तम छुँ भनेर कहिले पनि आफूलाई मूर्ख बनाउने कार्य लगानीकर्ताले गर्नु हुँदैन ।

विगतको ईतिहास हेर्ने हो भने जब जब बजार कुनै प्रतिकूल अवस्थाको आगमनले संत्रस्त भएर तल जान्छ त्यसले अनपेक्षित रुपले र अचानक रिबाउन्स गर्छ । त्यो भनेको १ दिन, १ हप्ता, १ महिना वा १/२ वर्ष पनि हुन सक्छ । तर जुन बेला तपाँईले महसुस गर्नु हुन्छ बजार अब पुरानै लयमा फर्क्यो त्यतिबेला सम्म ढिलो भईसकेको हुन्छ । त्यसैले सफल लगानीकर्ताले कहिले पनि बजारलाई टाईमिगं गर्दैनन् अपितु जब कुनै राम्रो कम्पनीको शेयर अण्डर भ्यालुड भएको हुन्छ त्यति बेलानै लगानी बढाउने गर्दछन् । तर नबुझेका तथा भिडको पछाडी कुदने लगानीकर्ताहरुले बजार सूचक यति तल जान्छ अथवा यति माथि जान्छ भनेर समयमै शेयर खरिद विक्रिको निर्णय गर्न नसक्दा घाटा ब्यहोर्नु परिरहेको हुन्छ ।

वारेन बफेटले भनेका छनः प्रत्येक दशकमा अर्थ ब्यवस्थामा कालो बादल मडराउँछ र तिनले विस्तारै स्वर्ण वर्षा गर्दछन् र जतिबेला तपाँईलाई लाग्न थाल्छ की कालो बादलले स्वर्ण वर्षा गर्न थाल्यो त्यो समय ढिलो भईसकेको हुन्छ र तपाँईले अवसर गुमाउनु हुन्छ । त्यसैले मार्केटलाई टाईमिङ्ग गर्नुको सट्टा कम्पनी विश्लेषण गरेर राम्रो कम्पनीमा लगानी गर्नु दिर्घकालिन हिसाबले उत्तम मानिन्छ ।

किताबी नोक्सानी रोज्ने की वास्तविक नोक्सानी

शेयर बजारमा किताबी नोक्सानी र वास्तविक नोक्सानीको ठूलो महत्व हुन्छ । कुनै लगानीकर्ताले रु. ३०० को दरले खरिद गरेको कुनै शेयर बजारमा देखा परेको प्यानिक सेलको अवस्थाबाट घटदै गएको कारणले आत्तिएर रु. २५५ मा विक्रि गर्यो भने उसले रु. ४५ वास्तविक नोक्सानी ब्यहोर्छ तर उसले धैर्य धारण गरेर विध्यमान अवस्थाको विश्लेषण गरेर बस्ने हो भने बजारको चरित्र अनुसार बजार केही समय पश्चात पुन: रिबाउण्ड भएर उक्त शेयरको मूल्य पुनः रु. ३०० भन्दा माथि गएको अवस्थामा उसले घाटा ब्यहोर्नु पर्दैन ।

अतः बजार तल गयो भनेर आत्तिएर किताबी नोक्सानीलाई वास्तविक नोक्सानीमा परिवर्तन गर्नुको सट्टा संभव भएसम्म प्यानिक सेलरबाट शेयर खरिद गरेर राख्न सकियो भने बजार रिबाउण्ड हुँदा आफ्नो पोर्टफोलियोलाई किताबी लाभमा सहजै पुर्याउन सकिन्छ ।

बाघले खान्छ भन्ने थाहा हुँदा हुँदै उसको अगाडी गएर घाँस चर्ने मृगलाई बाघले त खान्छ नैः

शेयर बजार घटदै जाँदा पनि खरिद भईरहेकै हुन्छ । आज खरिद गरेको शेयर भोली घटेको थाहा हुँदा हुँदै पनि खरिद गर्ने खरिदकर्ता भएकै हुन्छन् । खरिद गर्नेले पनि भोली बजार बढने आशालेनै खरिद गरिरहेका हुन्छन् । त्यसैले एक दुई दिनको घटाईबाट आत्तिएर शेयर विक्री गर्नु भनेको बाघको आहारा बन्नु हो । किनकी बजारमा थुप्रै बाघहरु हुन्छन् जो मुर्ख मृगहरु आहारा बन्न आउँछन भनेर घात लगाएर बसेका हुन्छन् । त्यसैले लगानीकर्ताले बाघको आहारा बन्नु भन्दा बजार उतार चढावबाट फाईदा लिन सक्नु पर्छ । "बजारको उतार चढावलाई आफ्नो शत्रु होईन मित्र ठान्नुस र बजारको मुर्खतापूर्ण ब्यवहारमा सहभागि हुनुको सट्टा त्यसबाट फाईदा उठाउनु होस" भन्ने वारेन बफेटको भनाईलाई मनन गरी विक्री गरी मुर्ख बन्नुको सट्टा सकिन्छ भने खरिद गर्नुस वा होल्ड गरेर राख्नुस ।

  • बजारका ब्वाँसाहरुबाट जोगिनु पर्छः

बियर ट्र्यापमा पारी तपाँईबाट खोसेको शेयर  चलाख तथा खेलाडी लगानिकर्ताले भोलीका दिनमा कोरोनाको भ्याकसीन तयार भयो अब त कोरोनाको डर छैन जस्ता उत्साहित समाचारहरु सम्प्रेषण गर्न लगाई बजार बढाएर पुनः तपाँईलाईनै भिडाउन सक्छन् । शेयर बजार भनेको एक्टिभ लगानीकर्ता ( छिटो छिटो खरिद विक्री गर्ने) को सम्पती धैर्यवान तथा चलाख लगानीकर्ताको खल्तीमा हस्तान्तरण गर्ने ठाँउ भएकोले यसबाट जोगिनु पर्छ । यो किन पनि भनिएको हो भने शेयर मात्र यस्तो वस्तु हो जुन लगानीकर्ताहरु बढेको बेलामा खरिद गर्दा खुशी हुने गर्दछ । र लगानीकर्ताको यही मानसिकतालाई बजारका खेलाडीले आफू अनुकूल प्रयोग गर्दछन् ।

बजार खुले पछि के गर्ने भन्नु भन्दा पहिले केहि कुराको बारेमा मन्थन् गर्नु सान्दर्भिक हुनेछः

  • कोरोनाको प्रभाव अर्थ ब्यवस्थामा कस्तो पर्छः

विश्वभरि फैलिएको यो महामारीले पुरा विश्व लकडाउनको अवस्थामा छ । सम्पूर्ण आर्थिक गतिविधिहरु ठप्प भएको छ । लाखौं श्रमशक्ति बेजोरगार भएर बस्नु परेको कारणले अर्थब्यवस्थामा गंभिर धक्का लाग्नु स्वभाविकनै हो । त्यसैले विश्व बैंकले पछिल्लो पटक चालु आर्थिक वर्षको बृद्धिदर करिब ३ प्रतिशत रहने अनुमान गरेको छ जबकी सरकाले शुरुमा ८ प्रतिशतको बृद्धिको लक्ष्य राखेको थियो ।

साराशंमा भन्नु पर्दा यसको कारणले गर्दा हाम्रो शेयर बजारमा सूचिकृत होटल क्षेत्र, बैंक तथा वित्तिय संस्था क्षेत्र, ब्यापार क्षेत्र, निर्माण क्षेत्र लगायत सबै क्षेत्रमा नकारात्मक प्रभाव पर्नु स्वभाविकै हो ।

  • तपाँई लगानीकर्ताको कुन वर्गिकरणमा पर्नु हुन्छः

बजारमा विभिन्न थरिका लगानीकर्ताहरु हुन्छन् ।

सक्रिय लगानीकर्ताः यस्ता लगानीकर्ताले आफूले खरिद गरेको शेयर तथा लगानीको निरन्तर रुपले निरिक्षण गरिरहेका हुन्छन् । यिनीहरु सक्रिय हुन्छन् तथा दैनिक आर्थिक समाचार तथा प्रबृतिहरुको सुक्ष्मरुपले अध्ययन गरिरहेका हुन्छन् । यिनले बजार प्रबृतिको निरिक्षण गर्दछन् र तदअनुरुप शेयर खरिद विक्रि गर्दछन् । यिनले दिर्घकालको लागि लगानी गर्दैनन् तर आफ्नो लगानीमा सुक्षम ध्यान दिईरहेका हुन्छन् ।

निष्क्रिय लगानीकर्ताः यस्ता लगानीकर्ताले ठूलो मुनाफाको लक्ष्य राखेका हुँदैनन् अपितु अल्पकालमा हुने सानो नाफालाई पनि बुक गरिहाल्छन् । यस्ता लगानीकर्ताहरु दबावमा बस्न नरुचाउने भएकोले दिर्घकालको लागि लगानी गर्दैनन् र उपयुक्त मुनाफा हुने वितिकै लगानी विक्रि गरि हाल्दछन् ।

ग्रोथ ईन्भेष्टरः यस्ता लगानीकर्ताले क्रमशः उकालो लाग्दै जाने संभावना भएको कम्पनीको शेयरमा लगानी गर्दछन् । त्यसैले लगातार लाभांश बढाउदै दिने कम्पनी यिनको छनौटमा पर्दछन् ।

भ्यालु ईन्भेष्टरः यस्ता लगानीकर्ताले कम्पनीको आधारभूत सूचकहरुमा ध्यान केन्द्रित गर्ने हुनाले शेयरमा हुने उतार चढावलाई ध्यान दिदैनन् र बलियो दिर्घकालिन आधारभूत सूचक भएका कम्पनीको शेयरमा लगानी गर्दछन् । त्यस्ता शेयर जुन कुनै कारणले अण्डरभ्यालुड भएको छ तर दिर्घकालसम्म राम्रो प्रतिफल निकाल्न सक्षम हुने कम्पनी यिनको रोजाईमा पर्दछ । याँहा विचारणीय कुरा के पनि हो भने सबै अण्डरभ्यालुड शेयर राम्रा हुन्छन् भन्ने छैन ।

बार्गेन हण्टर ईन्भेष्टरः यस्ता लगानीकर्ता चिल जस्ता हुन्छन् । यिनले कुनै कमजोर तथा घायल लगानीकर्ता न्यून मूल्यमा शेयर विक्रि गर्न तयार नहुन्जेल कुरेर बस्छन र आफूले चाहेको मूल्यमा प्राप्त हुनै वितिकै खरिद गरिहाल्छन् ।

खेलाडी लगानीकर्ताः यस्ता लगानीकर्ता बजारलाई आफू अनुकूल चलाउन सक्षम हुन्छन् । यिनको समूह हुन्छ । त्यस्ता समूहले कुनै निश्चित शेयरमा क्रमशः लगानी बढाउदै लगि एउटा उचाईमा पुर्याउछन् र अरु लगानीकर्ताले खरिद बढाईरहेको बेला पारि आफ्नो सबै शेयर विक्रि गरि बाहिर निस्कन्छन् । यस्ता लगानीकर्ता थोरै समयमा आफ्नो सम्पती वढाउन तर्फ सदैव चनाखो हुन्छन ।

अहिले लगानी गर्ने की नगर्ने ?:

कुनै कारणले त्रासको वातावरण श्रृजना भई बजार तल जाने संभावना भएको बेलामा लगानी गर्नु भनेको बुद्धिमानी होईन । यो भनेको आफ्नो आर्जनलाई आगोमा राखे जस्तो हो । अतः अर्थ ब्यवस्था छिन्न भिन्न भएको तथा मन्दीमा जाने प्रवल संभावना भएको बेलामा लगानी किन गर्ने ?

तथापी अहिले लगानी गर्ने केहि कारण हरु नभएका होईनन् । तर अहिलेको लगानीले लाभ भन्दा हानी गर्ने संभावना पनि उतिकैछ ।

  • मन्दीको बेलामा लगानी किन गर्नेः

लगानीकर्ताको लागि अहिलेको समय निकै कठिन हो, किनकी मन्दीले बजारलाई काँहा पुर्याउँछ केही भन्न सकिन्न । मन्दीको बेलामा शेयरको मूल्य न्यून हुन जान्छ जसको मतलब लगानीकर्ताले आफूले चाहेको शेयर बार्गेन मूल्यमा पाउन सक्छ ।

अन्ततोगत्वा घटेको शेयर बजार आफ्नो पहिलेकै लयमा आउनेछ जुनकी ईतिहासले देखाईसकेको छ । यसले धेरै समय लिन सक्छ तर समयको अन्तरालमा बजार आफ्नो पहिलर्कै ट्र्याकम आउछनै । त्यसैले अहिले लगानी गर्नु भनेको अगाडीको सिटमा बसेर रिकभरीको साक्षी बन्नुको साथै समयको अन्तरालमा राम्रो प्रतिफलको अनुभव गर्नु पनि हो ।  अर्को शव्दमा भन्ने हो भने अहिले लगानी गर्नु भनेको न्यून मूल्यमा खरिद गरी उच्च मुल्यमा विक्रि गर्ने अवसर पाउनु हो ।

अहिले लगानी गर्नु भन्नुको अर्थ आफैलाई भयभित गराउनु जस्तो हो तर बजार भोलीको दिनमा माथि जानेनै छ । अहिले बजारको अवस्था खराब भए पनि यो संधै यस्तै भईरहदैन । अतः यदि तपाँई बजार बाउन्स ब्याक होला र लगानी गरुला भनेर कुरेर बस्नु भयो भने तपाँईले न्यून मूल्यमा शेयर खरिद गर्ने मौका गुमाउनु हुन्छ र महगो मूल्यमा शेयर खरिद गर्नुपर्ने हुन्छ ।

  • अहिले लगानी गर्ने बेला किन होईनः

अहिलेको अवस्थामा शेयरमा लगानी उपयुक्त लगानी अवसर भए तापनी त्यसको अर्थ सबैले आफ्नो पसिना बगाएर कमाएको पैसा शेयर बजारमा लगाउनु पर्छ भन्ने चाँही होईन । एक पटक लगानी गरिसके पछि त्यसलाई लामो समय सम्म थामेर राख्न सक्नु पर्छ । यसको अर्थ निकट भविष्यमा जुन रकमको तपाँईलाई आवश्यक्ता पर्दैन सोही रकम मात्र लगानी गर्नु पर्छ । यदि तपाँईले भविष्यमा चाहिन सक्ने रकम भोली बढेमा बेचुला भनेर शेयरमा लगानी गर्नु भयो भने तपाँईलाई चाहिने बेलामा बजार प्रतिकूल अवस्थामा रहन गई घाटा ब्यहोर्नु पर्ने हुन्छ । त्यसैले यदि त्यस्तो अवस्था छ भने अहिले लगानी नगर्नुनै बुद्धिमानी हुन्छ ।

कस्तो रणनीति अपनाउनेः

हाम्रो देशमा कोरानो संक्रमित निकै न्यून भएको बेलामानै सरकारद्धारा लकडाउन गरिएको र शेयर कारोवार पनि बन्द भएकोले शेयर बजारमा लकडाउनको प्रभाव अनुभव गरिएको छैन । अन्य धेरै देशमा लकडाउन भए तापनी शेयर कारोवार भने खुलै भएकोले महामारीको प्रभाव बजारमा पर्न गई २०, ३० प्रतिशत सम्म् बजार घटन गएको थियो ।

नेपालमा शेयर बजार बन्द भए यता कोरोनाको प्रभाव झन ब्यापक भएको र अर्थ ब्यवस्थाका प्रायः सूचकहरु उत्साहजनक नरहेको अहिलेको अवस्थामा बजार खुले पछि कस्तो असर हुन्छ भन्ने कुरा यसै भन्न सकिन्न । बजारलाई लगानीकर्ताको मानसिकताले डोर्याउने हुनाले कोरोना माहामारीको प्रभाव लगानीकर्तामा नकारात्मक रुपले पर्न गएमा सेलिङ्ग प्रेशर बढन गई बजार घटने संभावना तडकारो देखिन्छ । तर अहिले शेयर विक्रि गर्नु घातक हुन्छ भन्ने मानसिकता लगानीकर्तामा हावी भएमा भने बजार घटने संभावना रहदैन । तसर्थ बजार सुचारु भएमा कस्तो रणनीति अपनाउने भन्ने कुरा लगानीकर्ताले मनन् गर्नु आवश्यक हुन्छ ।

  • बियर तथा बुल ट्र्यापमा पर्नबाट आफूलाई सुरक्षित राख्नेः

अहिलेको अवस्थामा साना तथा सोझा लगानीकर्ताहरुले आफूलाई बियर तथा बुल ट्र्यापबाट सुरक्षित राख्नु पर्छ । अहिले शेयर बजार घटाउन कोरोनाको महामारी खेलाडी लगानीकर्ताको लागि अचुक अस्त्रको रुपमा रहेको छ । बजार घटाएर सस्तोमा शेयर उठाउन तिनले कोरोनारुपी अस्त्रलाई प्रयोग गरी बजार घटाएर लगानीकर्तालाई बियर ट्र्यापमा पार्ने संभावनालाई नकार्न सकिदैन ।

तर आत्तिएर शेयर विक्रि गरी वास्तविक नोक्सानी ब्यहोर्नु भन्दा शेयर होल्ड गरी किताबी घाटा ब्यहोर्नु बुद्धिमानी हुनेछ । वास्तविक नोक्सानीलाई फर्काउन सकिदैन तर किताबी नोक्सानी त बजार पुनः रिबाउन्स भएपछि पहिलेकै अवस्थामा आउने हुनाले लगानिकर्ताले यसतर्फ विचार गर्नु पर्ने हुन्छ ।

अर्को तर्फ कुनै सेक्टर वा सेक्टरका कुनै कम्पनीको बारेमा विभिन्न अफवाह फैलाई मूल्य बढाएर आफ्नो शेयर विक्रि गरि खेलाडी तथा ठूला लगानीकर्ता बाहिरिने अवस्थालाई पनि नकार्न सकिदैन । अतः लगानीकर्ताहरुले कम्पनीको आधारभूत सूचक तथा अर्थ ब्यवस्थाको अहिलेको अवस्थाले कस्तो असर गर्छ भन्ने कुरा विचार गरी त्यस्तो बुल ट्र्यापबाट आफूलाई सुरक्षित राख्नु पर्दछ ।

यो नै अहिलेको अवस्थाको सुरक्षित रणनीति हो भन्नुमा कुनै अतिशयोक्ती नहोला ।

  • जगेडा रकमको सदुपयोग गर्नेः

राम्रा कम्पनीका शेयर मूल्य उपयुक्त स्तरमा भएको अहिलेको अवस्थामा निकट भविष्यमा आवश्यक नपर्ने जगेडा रकम भएका लगानीकर्ताले बजार घटदै गएको अवस्थामा एकै पटक खरिद नगरी थोरै थोरै मात्रामा खरिद गर्दै गएमा पछि बजार रिबाउन्स भएमा उच्च मूल्यमा विक्री गरी राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।

साराशः

शेयर बजार भनेको धेरैको सल्लाह लिने तर निर्णय आफ्नो विवेकले गर्ने क्षेत्र भएकोले आफ्नो अमूल्य सम्पती लगानी गर्दा वा विक्री गर्दा कम्पनीको अवस्था, भविष्यमा त्यसले गर्न सक्ने ग्रोथ, महामारीको भविष्यमा पर्ने सक्ने असर समेतलाई विचार गरी आफूलाई ग्रोथ ईन्भेष्टर, भ्यालु ईन्भेष्टर तथा बार्गेन हण्टर ईन्भेष्टरको रुपमा प्रस्तुत गर्नुको साथै बियर ट्र्याप तथा बुल ट्र्यापबाट आफूलाई सुरक्षित गर्न सकेमा सफलता टाढा रहने छैन ।

(भट्टराई अर्थ मन्त्रालयका अवकास प्राप्त उपसचिव हुन)

email: anandakbhattarai@gmail.com

(नोटः माथिको विश्लेषण उपलब्ध तथ्याङ्क तथा चलेका सुत्रका आधारमा प्रस्तुत गरिएको हो । यसैको आधारमा शेयर खरिद विक्रि गर्नु भन्दा पहिले आफैले पनि विश्लेषण गरि निर्णय लिनु राम्रो मानिन्छ ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।