गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड २९ लाख रुपैयाँ यस्तो नाफा कमाएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म) मा बैंकको खुद नाफा १५ लाख ५७ हजार रुपैयाँ ऋणात्मक रहेको छ।
बैंकको खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी घटेसँगै इम्पेरिमेन्ट चार्ज बढेपछि खुद नाफा घट्न पुगेको हो।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २ करोड ७० लाख रुपैयाँ रहेको छ। यो गत आवको सोही अवधिको तुलनामा २१ लाख ६ हजार रुपैयाँ कम हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ७६ लाख ९७ हजार रुपैयाँ घटेर १ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ।
१६ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ करोड ५९ लाख रुपैयाँ र शेयर प्रिमियममा ८७ लाख ३७ हजार रुपैयाँ सञ्चित छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा ६२ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरी ६४ करोड ४१ लाख रुपैयाँ कर्जा परिचालन गरेको यस बैंकले चालु आवको तेस्रो त्रैमासको अन्त्यसम्ममा ७२ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरी ७२ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको निष्क्रिय कर्जा १.३८ प्रतिशतबाट घटेर ०.६४ प्रतिशतमा झरेको छ। बैंकको आधार दर १०.२१ प्रतिशतबाट बढेर १४.०८ प्रतिशत पुगेको छ भने स्प्रेड दर ६.७१ प्रतिशतबाट घटेर ५.७९ प्रतिशतमा सीमित भएको छ।
गत आवको चैत मसान्तसम्ममा १६ रुपैयाँ ८७ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आवको सोही अवधिमा घटेर १० रुपैयाँ ५९ पैसामा झरेको छ। बैंकको शेयर कारोबार २०७४ जेठ २६ गतेदेखि बन्द रहेको छ। देवः विकास बैंकसँग गरिएको एक्विजिशन सम्झौता भएदेखि बैंकको शेयर कारोबार भएको छैन। बैंकले देवः सँगको एक्विजिशन प्रक्रिया रद्द गरिसकेको छ।
लामो समय शेयर कारोबार रोक्का रहेका कारण लगानीकर्ताहरु सम्पत्ती बन्धक भएका धेरै गुनासा आएपछि मेरोलगानीले गत मंसिरमा बैंकका सीईओ विनय कुमार शाहसँग कुरा गरेको थियो। सो क्रममा सीईओ शाहले २०७६ पुसभित्रै मर्जर अथवा एक्वीजिशनमा जाने बताएका थिए। तर, अहिलेसम्म बैंक न कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनमा गएको छ न त सो सम्बन्धि कुनै जानकारी दिएको छ।