अवरोधकै कारण उत्पादन लागत समेत बढ्न थालेको व्यवसायीले बताएका छन्। पछिल्लो समय पूर्वाञ्चलका उद्योगहरूलाई सबैभन्दा बढी समस्या परेको मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले बताए।
सरकारले उद्योग सञ्चालन गर्ने भनेको भए पनि यति बेला पूर्वाञ्चलमा २० प्रतिशत पनि उद्योग सञ्चालनमा आउन सकेका छैनन्। मजदुर,कच्चा पदार्थ र प्रशासनको समन्वय अभावका कारण उद्योग पूर्ण क्षमतामा चल्न नसकेको हो। ‘ उद्योग खोल्ने भनेको छ। प्रहरीले मजदुरलाई बाटैमा रोकेको अवस्था छ। कच्चा पदार्थ बोकेका गाडीलाई घण्टौँ रोकिन्छ। उद्योगबाट लोड भएर हिँडेका गाडीलाई ठाउँ ठाउँमा रोकेर हैरान पारिएको छ। दुई दिनमा पुग्नु पर्ने गाडी बाटाे खाली हुँदा समेत चार दिनमा पुग्न थालेका छन्। जिल्ला र प्रदेशका आ आफ्नै नियम छन्। एक अर्कामा समन्वय छैन ’ मुन्दडाले मेरो लगानी सँग भने।
सरकार, उद्योगी बिचको समन्वय अभावकै कारण लागत बढेको व्यवसायीको गुनासो छ। ‘यसरी दुई दिन लाग्ने ठाउँमा चार दिन लाग्ने भएपछि ब्याज लागत त निश्चित बढ्छ। कम क्षमतामा उद्योग सञ्चालन हुँदा यसै लागत बढेको छ। उता प्रशासनको समन्वय अभावका कारण थप लागत बढ्दा झन् धेरै समस्या बढेको छ’ मुन्दडाले भने। सरकारले कि उद्योग नचलाउने भन्नु पर्ने वा चलाए त्यसलाई अवरोध गर्न नहुने व्यवसायीको भनाइ छ।
यता ट्रान्सपोर्टमा सरकारले गरेको अवरोधका कारण चालक समेत त्रसित हुन थालेका छन्। धेरै जसो चालक काममा जान नचाहिरहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घ, मालवाहक गाडी तर्फका उपाध्यक्ष यादवलाल श्रेष्ठले बताए। उनका अनुसार यति बेला मालवाहक गाडीलाई निर्बाध कुद्न दिइएको छैन। दुई दिन लाग्ने ठाउँमा चार दिन लागिरहेका छ। कतै लोड भएको गाडी समेत रोकिएका छन्। जसले चालक र उद्योगी दुबैलाई समस्या भएको छ।
यति बेला चालक सामाजिक तिरस्कारबाट गुज्रिरहेका छन्। उनीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जाँदा कोरोना बोकेर आएको आरोप लाग्ने गरेको छ। चालकहरूले यति बेला तिरस्कारसँगै खान समेत नपाउने स्थिति रहेको छ। लामो दुरीमा हिँडेका चालक चाउचाउको भरमा हिँडिरहेको यादवले बताए।
चाउचाउका भरमा हिँडेका चालकलाई ठाउँ ठाउँमा प्रहरीको अवरोध हुन्छ। त्यसमा उनीहरूलाई गर्ने व्यवहार समेत राम्रो नहुँदा चालक नै कममा जान मानिरहेका छैनन्। ज्यानको बाजी राखेर खाद्य बस्तु बोकेर हिँडेको मान्छेलाइ समेत व्यवहार राम्रो नभएको भन्दै उनीहरू कममा जान नमानिरहेको यादवले बताए।
सामान्य अवस्थामा करिब अढाई लाख मालबाहक गाडी मुलुक भर गुड्ने गर्छन्। तर यति बेला १५ प्रतिशत पनि मालवाहक गाडी कुदेका छैनन्। पहिलो लोड नपाएर र दोस्रो तिरस्कारका कारण समेत सोचे अनुरूप गाडी नकुदेको यादवको भनाइ छ।
लोड बढाउन उद्योग सञ्चालनमा सहजीकरण गर्नु पर्छ। बढी गाडी कुदाउन चालकलाई प्रोत्साहित गर्नु पर्छ। उद्योगलाई सहजीकरण गर्न मजदुर, कच्चा पदार्थ र स्वास्थ्य सुनिश्चितताको ग्यारेन्टी हुनुपर्छ। लामो दुरीमा चालकलाई खाने निश्चित व्यवस्था गरिनु पर्छ। त्यसकालागि सके सरकारले ,नसक्ने भए उनीहरूकै पैसामा किनेर खाने व्यवस्था गरिदिनु पर्छ। त्यसका लागि निश्चित ठाउँमा स्वास्थ्य मापदण्ड अपनाएर होटेल खोल्ने व्यवस्था गर्नु पर्ने यादवको सुझाव छ।
मालवाहक गाडीले सामान नबोके सर्वसाधारण भोकै पर्ने स्थिति हुन्छ। तर सर्वसाधारण भोकै नपरुन् भनेर ट्रान्सपोर्ट व्यवसायीले ज्यानकै बाजी राखेर काम गरिरहेका छन्। दुई दिन लाग्ने ठाउँमा चार दिन लागे पनि भाडा कत्ति पनि बढाइएको छैन। यस्तोमा सबैले सहयोगको भावना राख्नु पर्ने भन्दै भाडा नबढाइएको हो। तर व्यवसायीको लागत त बढेको छ। यस्तो गरी काम गर्दा समेत समन्वय नभएको देख्दा काम गर्ने उत्साह मर्दै गएको गुनासो यादवले गरे।