त्यसैगरी आन्तरिक तथा वाह्य क्षेत्र स्थायित्व कायम राख्न, प्राथमिकता प्राप्त क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, रोजगारी सिर्जना एवम् उद्यमशीलता विकासतर्फ वित्तीय साधन प्रोत्साहित गरी आन्तरिक उत्पादन प्रवद्र्धनमा जोड दिइने र भुक्तानी प्रणालीको विकासमार्फत वित्तीय मध्यस्थताको समय तथा लागत कटौती गर्ने, सर्वसाधारणको वित्तीय पहुँच अभिवृद्धि गर्ने र वित्तीय क्षेत्रको सवलीकरण गर्ने कार्यलाई जारी राखिने राष्ट्र बैंकले जनाएको छ।
कोभिड—१९ महामारीले पार्न सक्ने थप प्रभावलाई समेत ध्यानमा राखी अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटसँग सामञ्जस्यता कायम हुने गरी वार्षिक मौद्रिक नीति तर्जुमा केन्द्रिय बैंकले जनाएको छ।
- रेमिट्यान्स घटेपनि शोधानान्तर बचतमै रहने प्रक्षेपण
लकडाउनका कारण कारण अन्य मुलुकहरु जस्तै नेपालको पनि उत्पादन, वितरण तथा आपूर्ति प्रणाली प्रभावित भएको छ भने यसको प्रभाव अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमा देखिन थालेको छ ।
चालु आर्थिक वर्षको नौ महिनामा औसत उपभोक्ता मुद्रास्फिीति ६.५३ प्रतिशत रहेकोमा वार्षिक औसत मुद्रास्फीति ६.५० प्रतिशतको हाराहारीमा रहने अनुमान केन्द्रिय बैंकको छ ।
चालु आर्थिक वर्षको नौ महिनासम्म शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचतमा रहेको छ । विप्रेषण आप्रवाहमा कमी आएपनि आयात समेत घट्दो क्रममा रहेका कारण आर्थिक वर्षको अन्त्यमा पनि शोधनान्तर बचतमा नै रहने राष्ट्र बैंकको अनुमान छ।
२०७६ चैतमा वार्षिक विन्दुगत आधारमा विस्तुत मुद्राप्रदायको वृद्धिदर १५.३ प्रतिशत र निजीक्षेत्रतर्फ लगानीमा रहेको कर्जाको वृद्धिदर १५.४ प्रतिशत रहेको छ । विद्यमान आर्थिक परिदृष्यलाई दृष्टिगत गर्दा चालु आर्थिक वर्षमा विस्तृत मुद्रा प्रदायको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा वृद्धिदर १५ प्रतिशत रहने अनुमान छ ।
कोभिड—१९ संक्रमण पछि अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्न राष्ट्र बैंकले चालेका नीतिगत कदमहरुका कारण तरलता स्थिति सहज रहने र कर्जाको ब्याजदरमा कमी आउने देखिन्छ ।
कोरोना भाइरसका कारण अर्थतन्त्रको ब्यवस्थापन चुनौतीपूर्ण बनेको छ । आर्थिक संकटको विश्वव्यापी क्षति अकल्पनीय हुने अनुमान सार्वजनिक भइरहेका छन् । विगत ३ वर्ष लगातार उच्च आर्थिक वृद्धिको बाटोमा हिडिरहेको नेपालका लागि पनि अर्थतन्त्रको विस्तार र व्यवस्थापन चुनौतीपूर्ण बनेको राष्ट्र बैंकले जनाएको छ।
आन्तरिक आर्थिक क्रियाकलापमा देखिएको शिथिलता, वैदेशिक रोजगारीमा उत्पन्न धक्का र आपूर्ति श्रृंखलामा देखापरेको असहजताका कारण बस्तु बजार, श्रम बजार र वित्तीय बजारको सन्तुलन प्रभावित हुने जोखिम बढेको हो।
कोभिड—१९ महामारीका कारण विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष तथा एशियाली विकास बैंक लगायतका संस्थाहरुले विश्व आर्थिक मन्दीतर्फ उन्मुख भएको बताएका छन् । सन् २०२० मा विश्व अर्थतन्त्र ३ प्रतिशतले संकुचित हुने अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपण छ ।
पछिल्लो समय उत्पादन तथा आपूर्ति व्यवस्थामा उत्पन्न अनिश्चितताका कारण खाद्यजन्य मुद्रास्फीतिमा भने चाप पर्न थालेको राष्ट्र बैंकले जनाएको छ।