ग्रामीण सडकमा बिहानै साइकल कुद्न थाले,पूर्वका औद्याेगिक क्षेत्रमा चहल पहल बढ्याे

Jul 05, 2020 09:45 AM Merolagani



सुवास निरौला

स्वास्थ्य मन्त्रालयले प्रत्येक दिन चार बजे कोरोनाको ताजा अपडेट गराउँदै आएको छ। हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।

पछिल्लो अपडेटमा सङ्क्रमितको १५ हजार माथि उक्लिएको छ। सुरुवाती दिनमा हरेक दिन थपिने सङ्क्रमित सङ्ख्यामा मानिसको असाध्यै धेरै चासो हुने गरेको थियो। तर यति बेला सङ्क्रमितको सङ्ख्या जति बढे पनि मानिसहरूलाई खासै फरक परेको देखिन छाडेको छ।

सुनसरी मोरङका ग्रामीण क्षेत्रमा मानिसहरू बिहानै घरबाट निस्कन थालेका छन्। महिला,पुरुष हुलका हुल साइकलमा दौडिएको पुन: देख्न थालिएको छ। आठ बजे गन्तव्यमा पुग्नै पर्ने गरी उनीहरू हरेक दिन बिहान घरबाट निस्कन्छन्। सामाजिक दुरी र स्वास्थ्यको भने थोरै ख्याल गरेको देखिन्छ। मुखमा मास्क लगाउने र कसैले खल्तीमै स्यानिटाइजर समेत बोकेको भेटिन्छ।

बिहानै विभिन्न गाउँबाट साइकलमा निक्लिएकाहरूको गन्तव्य यति बेला सुनसरी मोरङका उद्योग हरू हुने गरेको छ।उद्योग अगाडि साइकलका ताँती देखिन्छ।उद्योग परिसरमै साइकलको व्यवस्थापन गरिएको छ।

गएको तीन महिनादेखि सुनसान भएका उद्योग रूमा यति बेला श्रमिक हरूको चहल पहल बढेको छ। उद्योगमा अगाडिको साना साना चिया खाजाको पसल समेतमा लकडाउन अघिकै चहल पहल देख्न थालिएको छ।  एक किसिमको मन्द त्रास अझै यथावत् देखिन्छ।

लामो समय देखि घरमै बसेका श्रमिक बाहिर निस्कन थालेका हुन्। उद्योग खुले सँगै बिस्तारै श्रमिक पुरानै काममा फर्किएका छन्। आउने दिन कसरी बिताउने भन्ने चिन्तामा देखिएका श्रमिकलाई उद्योग खुलेसँगै राहत मिलेको छ। काममा पुन: फर्किन पाउँदा उनीहरू खुसी देखिन्छन्। तर उनीहरूको खुसीमा एक किसिमको बाध्यता समेत झल्किन्छ।    

पूर्वका ८० प्रतिशत भन्दा बढी उद्योग पुन: सञ्चालनमा आएका छन्। "आंशिक रुपमा लकडाउन खुकुलो भएसँगै ८० प्रतिशत उद्योग सञ्चालनमा आएको छ" उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले भने।

खुलेका उद्योगमा बिस्तारै उत्पादन सुरु भएको छ। उत्पादन सुरु भए पनि अझै पूर्ण क्षमतामा भने उद्योगहरू सञ्चालनमा आउन सकेका छैनन्। उत्पादित बस्तुको माग नआएका कारण पूर्ण रुपमा उद्योग सञ्चालनमा आउन नसकेका हुन्।

उद्योग खुल्यो तर उपभोक्ताको क्रय शक्ति घट्यो। बजारमा प्रशस्त सामान गएको छ,तर खरिदकर्ता अझै आएका छैनन्। मानिस यति बेला गर्नै पर्ने खर्च मात्रै गर्दै छन्। जसका कारण भनेजस्तो अझै उपभोग बढेको छैन । उपभोग नबढेकै कारण पुर्ण क्षमतामा उद्योग नचलेको घिमिरेले बताए।

उद्योग चलाउन यति बेला थोरै कठिनाइ छन्। जुन बिस्तारै समाधान हुँदै जाने उनीहरूको अपेक्षा छ। बैक ऋणको व्याज,कर बुझाउने समय र श्रमिकको खप्किएको ज्यालाको बढी चिन्ता उद्योगीमा रहेको घिमिरेले बताए।

मोरङ व्यापार संघका सचिव कृष्ण गिरीका अनुसार सबै समस्याको तालुक निकायमा सुनाइएको छ। सबै समस्या लिखित मै समेत बुझाइएकाे छ। मौद्रिक नीतिले समाधान गरिदिनु पर्ने बैंक व्याज मिनाहा र छुट गरिदिन नेपाल राष्ट्र बैकलाई अनुरोध गरिएको छ। कर छुट र तिर्ने समयको विषयमा राजस्व विभागलाई भनिएको छ। आयातमा हुने ढिलाइ र डिटेन्सन/ड्यामरेजको विषयमा भन्सारलाई अनुरोध गरिएको छ।

बजार चलायमान भएको कारण थोरै राजस्वमा समेत सरकारलाई सहयोग पुगेको छ। उद्योग खुलेको कारण थप राजस्व बढ्दै जाने छ। जब सम्म बजार चलायमान हुँदैन तब सम्म सरकारलाई समेत राजस्वमा सहयोग पुग्दैन। सोही कारण बजार चलायमान बनाउन व्यवसायलाई राहत हुने व्यवस्था सरकारले मिलाउनै पर्ने उनको जिकिर छ।  




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।