कोभिड १९ विश्वभर फैलिरहँदा ती व्यापारी यस विषयमा खासै सजग रहेनन् तर नेपालमा लकडाउनको घोषणा भएसँगै उनी गाउँ लाग्नु पर्यो ।लकडाउनको केहि दिन अघि कम भएको व्यापार केहि समयमा पछि ठीकै होला भन्ने सोचेका उनी गाउँ पुगेर भने सोचमग्न बने । कोरोना सम्बन्धित समाचार र विश्व नै बन्दाबन्दीको अवस्थामा रहँदा काठमाडौंमा पुनः स्थापित भइएला भन्ने उनको आशा जिवित रहन सकेन । अन्तत : उनले पसल खाली गर्ने विचार गरे । बारम्बार घरबेटीले भाडा मिनाहा गर्न सकिँदैन भन्न थाले । पसल खरिद गर्ने ग्राहक पनि नपाउँदा उनीसँग पसल खाली गर्ने अलावा अन्य कुनै विकल्प रहेन ।
यो कथा हो सिन्धुपाल्चोकका टंक प्रसाद अर्यालको । टंक २०७५ वैशााखमा वैदेशिक रोजगारीलाई विदाई गर्दै स्वदेशमा केहि गर्ने सपना बुनेर आएका थिए । सपनालाई विपनामा उनले परिणत पनि गरे । तर व्यापारको सुरुवातमा लिएको पाँच लाख ऋणको भार अहिलेसम्म पनि उनले बिसाउन पाएका छैनन् । 'छोरीहरुको शिक्षा र परिवारको लालनपोषणमा नै आम्दानी सकियो । बचत सबै किस्ता तिर्दा नै ठिक्क हुने,यसो केहि होला कि भन्ने बेलामा कोरोना आयो,चुर्लम्म डुबेँ । मसँग केहि उपाय नभएपछि पसल र कोठा खाली गराउनुप¥यो । अब गाउँतिर कुखुरा पाल्नुपर्ला,' उनले हरेश भने खाएका छैनन् ।
मःम भन्दा मुख नरसाउने मानिस नेपाली समाजकालागि अपवाद बन्ने गरेका छन् । नेपाली खाजा मै मिठो मःम । भक्तपुरको एक सटरमा सामान्यतया ५० देखि १०० प्लेट मःम बेच्ने दम्पतीले साउन १ गते सटर खाली गरी सामान अर्को चोकमा सारे । जोमसोमका यी थकाली दम्पत्ति एक वर्ष अघि मात्र विवाह बन्धनमा बाँधिएर अनेक योजना सहित काठमाडौं छिरेका हिरा र अमृत शेरचनले जानेको काम मःम बनाउने थियो र सोही कामलाई व्यवसाय बनाए । सानो रेस्टुरेन्टमा गरेको लगानी उठ्यो र बचत पनि हुन थाल्यो । तथापी कोरोना कसैकालागि अवसर बन्दै गर्दा यी दुईकालागि भने निकै धेरै प्रश्नचिन्ह बोकेर आयो । 'स्वास्थ्य नै धन हो,सानैदेखि सुन्दै र पढ्दै आएको हो तर धन चाहिने रहेछ नि,'हिरा भन्छिन् ।
हिराले नसक्दै अमृत थप्छन्, 'कोरोनाबाट बच्नु नै ठुलो कुरा हो तर पेट कसरी पाल्ने र व्यापार कसरी थेग्ने ? भविष्यमा के गर्ने ? बालबच्चा कसरी पाल्ने ? यी सबकालागि बचत चाहिन्छ ।' अमृत हिराको गर्भमा रहेको बच्चातर्फ अंकित गर्दै भन्छन् ।'बचतकालागि कमाइ हुनुपर्छ र यस्तो महँगो सटर भाडा तिर्न सक्ने हाम्रो अब अवस्था छैन,भएको पैसा यतिका दिन खाँदा र भाडा तिर्दा सकियो,त्यसैले सस्तो सटर कोठामा सर्दैछौँ',दुबैजनामा अनौठो तथा अन्यौलतको भाव झल्किन्छ ।
अहिले अन्यौलता यस्ता कैयौँ घरमा बस्ने डेरावालाहरुमा छ । सिभिल मलका व्यवसायीहरुले भाडा तिर्न नसक्ने भन्दै गरेको आन्दोलन बिहीबार मात्र ६० प्रतिशत छुट पाएपछि टुंगिएको छ । काठमाडौंका पर्यटन हब मानिने ठमेलका पर्यटन तथा अन्य केहि व्यवसायीले भने महंगो भाडा तिर्न नसक्ने भनेर कोठा खाली गरेका समाचार पनि बेला बेला प्रकाशित भएकै छन् । कोभिड १९को मार साना देखि मझौला खालका सबै व्यवसायीमा परेको स्पष्ट छ । यद्यपी यसको यकिन तथ्यांक भने पाइँदैन ।
- काठमाडौँमा मात्रै ३० लाख भाडावाला
साउन ७ गते,बुधबारबाट लकडाउन अन्त्य भयो । कतिपय रोकिएका व्यवसाय संचालन हुने भए । लकडाउन अन्त्यको औपचारिक घोषणा नभएपनि व्यवसाय तथा कार्यालय केहि समयदेखि नै खुला रहेका छन् । तथापि विश्वभर परेको कोरोना महामारीको असरबाट सर्वसाधारण भने अछुतो छैनन् । दैनिक ज्याला मजदुरी गर्नेदेखि सामान्य जीवन बिताइरहेकासम्मलाई कोरोना कालो बादल सरी बनेर आयो । अलिअलि भएको बचत लकडाउन अवधिभर खाएर सकियो भने कसैको भकारी रित्तियो ।
आय आर्जनको बाटो नहुनासाथ काठमाडौं उपत्यकामा बस्ने कैयन् परिवार गाउँघरतिर लागे भने कैयनले चलिरहेको व्यवसाय बन्द गर्नुपर्यो । विभिन्न अनौपचारिक अध्ययन अनुसार काठमाडौंमा ३० लाख मानिस भाडामा बस्छन् । अक्सर कोठा पाउन कठिन हुने यहाँका कैयौं घरहरु लकडाउन र कोरोनाका कारण खाली हुँदैछन् । गाउँ लागेका मानिस उपत्यका फर्कन चाहन्नन् । कतिपयले कृषिमा नै जीवन धान्ने सोच सहित साना व्यवसायको सुरुवात गरे । सानातिना पसल गर्नेले सटर छोड्न बाध्य बने । यस्तै केहि कार्यालयहरुका कोठा खाली गरिए ।
- घरबेटी र भाडावालाबीच द्वन्द बढ्न सक्छ
सरकारको अधुरो नीति र घरबेटीको मानसिकताका कारण भाडावाल र घरधनीको सम्बन्ध बिग्रिन सक्ने नेपाल डेरावाला मञ्चको बुझाई छ । राम्रो कमाई गर्ने र कम आय भएका सबैलाई एकै डालोमा राखेर छुटको कुरा गर्ने सरकारको नीति ठीक नभएको मञ्चका अध्यक्ष रामकृष्ण शर्मा बताउँछन् ।‘काठमाडौंमा ३० लाख मानिसहरु डेरामा रहेको अनुमान छ । तर यो उपत्यकाको मात्र समस्या होइन देशभरका शहरी क्षेत्रमा यो समस्या विद्यमान छ । त्यसैले राम्रो कमाई गर्ने,नगर्ने सबैलाई एकै डालोमा राखेर छुटको कुरा गर्ने सरकारको नीति ठिक छैन । कम आम्दानी भएका मानिसलाई छुट दिइनु पर्छ ।’
आम्दानी र रोजगारी गएका कारण फ्ल्याट भएका मानिस दुई वटा कोठा र तथा दुई वटा भएका मान्छे एउटा कोठामा सिमित भएका छन् भने केहि शहर छोड्न बाध्य भएका छन् । यस्तो अवस्थामा घरभाडा छुट दिने तह छुट्याउनुपर्ने अध्यक्ष शर्माको धारण छ । 'कस्लाई छुट चाहिने हो ,यकिन गर्ने जिम्मा स्थानीय तहलाई दिएर सरकारले सहज बनाउनु पर्ने थियो । सरकारले अझै स्थानीय सरकारमार्फत सर्वेक्षण गराएर छुट चाहिएकालाई छुट दिने गरी निर्णय गरेन भने डेरावाल र घरबेटी बीच द्धन्द्ध बढ्न सक्छ,' उनी सावधान बनाउँछन् ।