काराेना संक्रमित थपिएकाे थपियै,स्वास्थ्यकर्मी नै संक्रमित भएपछि समस्यामा काेशी अस्पताल

Aug 06, 2020 03:10 PM Merolagani



मोरङमा दिनहुँ जसो कोरोना संक्रमितको संख्या बढिरहेको छ । दुई सय भन्दा बढिमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेकोे र मृत्यु संख्या पनि बढेपछि यस जिल्लामा पछिल्लो समय संक्रमणको अवस्था थप जटिल बनेको छ । 

समुदायस्तरमा नै कोरोना महामारी फैलिएको भन्दै साउन १७ गते देखि विराटनगर महानगरपालिकामा १४ दिनकालागि लकडाउन सुरु गरिएको छ ।

कोशी अस्पतालको प्रयोगशालमा बुधबारसम्ममा २० हजार २४७ कोरोना परीक्षण भइसकेको छ जसमध्ये बुधबार मात्र १२ जनामा संक्रमण पाइएको हो । यसैगरी विराटनगरस्थित कोशी अस्पतालका १५ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जोखिममा खटिरहेका स्वास्थ्यकर्मी र अस्पतालको अवस्थाबारे कोशी अस्पतालका प्रमुख डा. चुमन लाल दाससँग मेरोलगानीले कुरा गरेको छ । सोहि कुराकानीमा डा. चुमन लाल दासको भनाई जस्ताको त्यस्तै :

अहिलेको परिस्थिती कठिन छ । अस्पतालका १५ जना कर्मचारीमा कोरोना संक्रमण भेटिएको छ । यस्तो अवस्थामा पोजिटिभ देखिएकालाई आइसोलेसनमा पठाउनुपर्छ भने तिनका कन्ट्याक्टमा आएका व्यक्तिहरुलाई पनि क्वारेन्टिनमा राख्नुपर्ने हुन्छ । जसकारण अस्पतालमा बिरामीलाई सेवा प्रवाह गर्न अत्यन्त मुस्किल परेको छ ।

विराटनगर लकडाउन भएका कारणले अलिकति बिरामीको चाप घटेको छ तर कर्मचारीलाई भने देखिन थालेको छ । लकडाउनका बाबजुद पनि संक्रमण फैलिएकाले बिरामी थपिइरहेकै छन् ।

लक्षण भएका केस देखिन थालेको छ जुन पहिले भन्दा भिन्न छ । अस्पताल आएका कोरोना संक्रमितको मृत्यु पनि भइरहेको छ । बुधबार ल्याइएका एक जनाको अस्पताल ल्याउनु अघि नै मृत्यु भएको थियो भने अर्का एक जनाको उपचारका क्रममा मृत्यु भयो । दुबै जनामा कोरोना संक्रमणको पुष्टि भएको छ,अवस्था जटिल रहेको छ ।

महानगरपालिकाले क्न्ट्याक्ट ट्रेसिङ गरिरहेको छ । फिभर क्लिनीक, आइसोलेसन हामीले हेर्दछौँ र यहाँ पनि संक्रमित भेटिन थालेका छन् ।

यस अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले निकै जोखिम मोलेर सेवा दिइरहनुभएको छ । यद्यपी जुन वार्डमा पोजिटिभ देखिएको छ,त्यहाँ पुरा रुपमा स्यानिटाईज गरी सेवा प्रवाह गरिरहेका छौँ । स्वास्थ्यकर्मी नै कन्ट्याक्ट ट्रेसिङमा परेका र क्वारेन्टिनमा भएकाले पनि जनशक्तिको कमी छ ।  भएकामध्यको जनशक्तिले नै धेरै समय ड्युटी गरेर धानेका छौँ । अवस्था कठिन छ किनभने एक जनाको सम्पर्कमा आएका १० देखि १५ जना कर्मचारी,चिकित्सक र नर्सहरु क्वारेन्टिनमा रहन्छन्, सेवालाई निरन्तरता दिनुपर्छ भने बिरामीको हकमा पनि पुन : परीक्षण गर्नुपर्ने र केहि डिस्चार्ज भइसकेकालाई पनि होम क्वारेन्टिनमा राख्नुपर्ने अवस्था भएको छ । जनशक्ति व्यवस्थापन,अस्पताल स्यानिटाईजेशन, बिरामी व्यवस्थापन र सेवा प्रवाह गर्ने कक्षको अभाव जस्ता कठिनाई रहिरहेता पनि हामी अघि बढिरहेका छौँ ।

राज्यबाट हुनुपर्ने सहयोग र पहल भइरहको छ, केहि भन्नुपर्ने जस्तो लाग्दैन । तर संक्रमण नै यसरी बढ्नु ठूलो समस्या हो । यद्यपी अभाव रहेका कुराकालागि पहल गरिरहेका छौँ ।

अहिले यस क्षेत्रमा जनचेतनाको कमीका कारण संक्रमण फैलिएको भन्ने भन्दा पनि खुल्ला सीमा नजिक भएकाले मानिसहरुको आवतजावत भइरहेकै छ । संक्रमण बाहिरबाट आएको हो । जनचेतनाकालागि धेरै पहल भइसक्यो,कारण त्यो मात्र होइन । संक्रमणको जोखिम बढेको छ । नगरपालिकाले गरेको ट्रेसिङमा पनि थपिएको छ ।

सर्वसाधारणहरुको हकमा हतास भइ हाल्नुपर्दैन तर सुरक्षाका सबै विधि भने निरन्तर रुपमा अपनाउनुपर्छ,भीडभाडमा जानुहुँदैन । लकडाउनको समयमा अत्यावश्यक बाहेकको काममा बाहिर ननिस्कनु राम्रो हो,सकेसम्म घरमै रहनुहोला । सामाजिक दुरी कायम राख्नु मै सबैको हित छ । यस्तो जोखिमपुर्ण परिस्थितीमा कसैको घरमा नजाने तथा कसैलाई आफ्नो घरमा नबोलाउन पनि आग्रह छ ।

समुदायमा फैलिएको भन्ने अनुमान गरिएको छ । तर यसको उचित परिभाषा राज्यले नै देला । यद्यपी कन्ट्याक्ट ट्रेसिङ नभएको,ट्राभल हिस्ट्री नभएका पनि केसहरु देखिएकाले हामीलाई समुदायमा फैलिएको हो कि भन्ने महसुष भएको छ ।त्यसैले स्वयं सचेत तथा अनुशाषित भई सम्पुर्ण नियम पालना गरेमा संक्रमणबाट बच्न सकिन्छ ।सामाजिक दूरी,लकडाउन ,मास्क अनिवार्य, सेवा प्रवाह गर्ने स्थानमा आवश्यक मापदण्ड बमोजिम काम भइरहेका छन् । यसैगरी सीमा नाकामा निकै कडा निगरानी तथा देखिएको केसमा तदरुपताका साथ कन्ट्याक्ट ट्रेसिङ पनि गरिएको छ ।

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।