एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओ बाँडफाँड, ९७ हजार ३४४ जनाको हात खाली

Aug 11, 2020 09:21 AM Merolagani



एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको करिब ३४ करोड रुपैयाँ बराबरको आईपीओ आज (साउन २७ गते) मंगलबार बाँडफाँड गरेको छ। कम्पनीको आइपीओ सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो।

आइपीओमा कुल ४ लाख १७ हजार ९५८ जना आवेदकबाट १ अर्ब ५३ करोड रुपैयाँ बराबरको आइपीओ खरिदको लागि आवेदन परेको थियो। कम्पनीको आइपीओमा आवेदन गर्ने ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले शेयर हात पारेका छन् भने ९७ हजार ३४४ जना आवेदकले शेयर नपाउने भएका छन्।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो।

कर्मचारीका लागि सुरक्षित गरिएकोमध्ये ४५ हजार ९५७ कित्ता शेयर बिक्री नभएपछि सो शेयर समेत थप गरी सर्वसाधारणमा ३२ लाख ६ हजार १४० कित्ता शेयर बाँडफाँड गरिएको हो। 

आर्थिक वर्ष २०७५/७६ सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ६ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ४ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीले १ करोड ६३ लाख १९ हजार रुपैयाँ सञ्चित नाफा आर्जन गरेको थियो।

त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कम्पनीले २ करोड ४१ लाख ७० हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ। यस अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ १३ पैसा र प्रतिशेयर आम्दानी २ रुपैयाँ ४ पैसा कायम हुने प्रक्षेपण गरेको छ।

आईपीओको नतिजा अबको केही बेरमा मेरो लगानीमा हेर्न सक्नुहुनेछ।