हालसम्म २१ ब्रोकर कम्पनीहरूले मार्जिन कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट अनुमति पाएका छन्। अनुमति पाएका कुनै पनि ब्रोकर कम्पनीले मार्जिन कर्जा भने दिन सकेका छैनन्।
मार्जिन कर्जा प्रवाह गरेको दोस्रो कारोबार दिनको १२ बजेसम्ममा नेप्सेलाई जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ। तर ब्रोकर कम्पनीबाट हाल मार्जिन कर्जा प्रवाह गरेको कुनै जानकारी नआएको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन्। अहिले बैंकहरुले नै न्युन ब्याजदरमा मार्जिन कर्जा लगानी गरिरहेको कारण ब्रोकरहरुबाट प्रवाह हुने मार्जिन कर्जा जान नसकेको उनको बुझाइ छ।
वाणिज्य बैंकहरुले अहिले ८ प्रतिशतभन्दा कम ब्याजदरमा नै शेयर धितो कर्जा लगानी गर्न थालिसकेका छन्। कतिपय विकास बैंकहरुले पनि एकल अंकमा नै यस्तो कजा लगानी गरिरहेका छन्। यसले गर्दा पछिल्लो समय बैंकहरुबाट मार्जिन कर्जा लिने लगानीकर्ताहरु बढेका छन्। तर ब्रोकरबाट लिइएको मार्जिन कर्जा आफुले चाहेको कम्पनीमा चाहेजति लगानी गर्न नपाउने भएपछि लगानीकर्ताले उक्त कर्जामा चासो नदेखाएका हुन्।
कार्यविधिमा भएका कतिपय व्यवस्थाहरुकै कारण ब्रोकर कम्पनीहरुले कर्जा लगानी गर्न नसकेको ब्रोकरहरु बताउछन्। बैंकले दिने मार्जिन कर्जा भन्दा ब्रोकरले दिने मार्जिन कर्जा सजिलाे भए मात्रै ब्रोकरहरुले मार्जिन कर्जा लगानी गर्न सक्ने नेपाल स्टक ब्रोकर एशोसिइसनका अध्यक्ष भरत रानाभाट बताउछन्।
कार्यविधि अनुसार ब्रोकर कम्पनीबाट लिएको ऋणले एउटा कम्पनीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउँछन्। त्यसमा पनि नेपाल स्टक एक्चेञ्जले तोकेको कम्पनीहरूमा मात्रै लगानी गर्न पाइन्छ। "रिक्सकाे पाटोलाई हेरेर कार्याविधिमा यस्तो व्यवस्था गरिएको होला," रानाभाटले भने "लोन नै नगएपछि रिक्स मात्र हेरेन पनि भएन।"
बैंकहरुले अहिले न्यून ब्याजदरमा कर्जा लगानी गरिरहेको भएपनि सोहि अनुसार ब्रोकरहरुले पनि ब्याजदर घटाएर कर्जा लगानी गर्न सक्ने उनी बताउँछन्। तर कार्यविधिमा भएका व्यवस्थाले लगानीकर्ता ब्रोकरबाट मार्जिन कर्जा लिन चासो नै देखाउदैनन्।
ब्रोकर कम्पनीहरूको मार्जिन कारोबार सफल हुन नसकेपछि नेपाल स्टक एक्सचेन्जका कर्मचारीकै संयोजकत्वमा मार्जिन कारोबारको अध्ययन गर्न एक समिति नै बनेको थियो भने उक्त समितिले नियामक निकाय धितोपत्र बोर्डलाई सुधार गर्नुपर्ने विषयहरू समेटेर झन्डै ७ महिना अघि प्रतिवेदन पनि पेस गरेको थियो। समितिले मुख्य तीन बुँदा संशोधन गर्न सुझाव दिएको थियो जसमा मार्जिन कर्जाको सिमा बढाउनुपर्ने विषय बोर्डले सम्बोधन गरिसकेको छ।
उक्त समितिले पनि एक कम्पनीमा १० प्रतिशतमात्र लगानी गर्नुपर्ने प्राबधान हटाउनुपर्ने सुझाव दिएको थियो। बोर्डले बजार चलायमान बनाउन भन्दै ल्याएको मार्जिन कारोबार नै विफल हुने अवस्थामा पुगेको छ। केहि नीतिगत सुधार गरेमा मात्रै उक्त योजना सफल हुने ब्रोकरहरु बताउछन्।
अहिले बैंकहरुमा उच्च तरलता भएको कारण सहजै रुपमा कर्जा उपलब्ध गराउँदै आएका छन्। न्यून ब्याजदरमा सहजै कर्जा पाउने भएकै कारण बैंकहरुको शेयर कर्जा बढ्दै गएको छ। "बैंकबाट सजिलै कर्जा पाउने भएपछि सजिलो छोडेर अफ्ठयाराेमा को जान्छ," रानाभाटले भने "नियमले नै नदिएपछि हामीले ह्वारह्वारती कर्जा दिने कुरा पनि भएन। बैंककाे भन्दा सजिलाे बनाउन सकियाे भने मात्र कर्जा जान्छ।"
मार्जिन कर्जा विफल हुने अवस्थामा पुगेपछि धितोपत्र बोर्ड पनि संशोधन गर्ने कुरामा सकारात्मक देखिएको छ। बजार चलायमान बनाउन भन्दै ल्याइएको उक्त योजना सफल हुन नसकेपछि बोर्ड पनि सकारात्मक देखिएको हो।
आफुहरुले संशोधनको लागि आग्रह गरेका कुराहरुमा बोर्ड पनि सकारात्मक देखिएको रानाभाटले बताए। "हामीले केहि संशोधनको लागि भनिरहेका छौ र बोर्ड पनि पछिल्लो समय यसमा केहि सकारात्मक देखिएको छ" उनले भने।
मार्जिन कर्जाको अध्ययन गर्न बनेको समितिले ७ महिना अघि नै उक्त प्रस्ताव बोर्डमा पठाएको भए पनि त्यसमा बोर्डले चासो देखाएको थिएन। तर सो व्यवस्थाहरुमा संशोधन नगरी मार्जिन कर्जा नजाने देखिएपछि बोर्ड सकारात्मक बनेको हो। उक्त व्यवस्थाहरु संशोधन भएपछि मात्रै राम्रोसंग कर्जा जानसक्ने ब्रोकरहरु बताउछन्।