उपभोक्ता बनेर मन्त्री भट्ट आफै कालीमाटी पुगे,प्याजमा कालो बजारी गर्ने चार व्यवसायी समातिए

Sep 16, 2020 03:47 PM Merolagani



प्याजको कालो बजारी गरेको आरोपमा चारजना व्यवसायीलाई सरकारले नियन्त्रणमा लिएको छ। बुधवार बिहानै गएको अनुगमन टोलीले ती व्यवसायीलाई नियन्त्रणमा लिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बुधवार बिहानै बाणिज्य विभागको टोली कालीमाटी बजारमा अनुगमनको लागि पुगेको थियो। अनुगमन टोलीको नेतृत्व उद्योग तथा आपूर्ति मन्त्री लेखराज भट्ट आँफैले गरेका थिए। उनी ग्राहकको रुपमा बजारमा मालसामान खरिद गर्न बजार भित्रिएका थिए। उनले विभिन्न पसलबाट आलु र प्याज खरिद गरेका थिए। उनले खरिद सकेपछि मूल्यमा निकै ठुलो अन्तर पाएपछि तत्काल कारबाही प्रक्रिया अघि बढाएका थिए।

मन्त्री भट्टको निर्देशनमा प्रहरी प्रशासनले चार जना आलु प्याज व्यवसायीलाई नियन्त्रणमा लिएको छ। मंगलबार पनि अनुगमन टोलीले कालीमाटीमा अनुगमन गरेको थियो। मंगलबार छ जनालाई पत्र थमाइएको थियो । पत्र पाएकाहरू बुधवार बयानका लागि उपस्थित भएका छन्।

केही दिनदेखि मुलुकले प्याज अभाव खेप्दै आएको छ। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि उपभोक्ताले प्याज अभाव खेप्दै आएका छन्। यही अभावको मौका छोप्दै व्यवसायीले कालो बजारी गरेको गुनासो बढे पछि मन्त्री आफै अनुगमनमा निस्किएका थिए।    




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।