पछिल्लो केही दिनदेखि शेयर बजारमा हाइड्रोपावर कम्पनीहरुको वर्चस्व रह्यो। यही क्रम यस साताको बजारमा पनि देखियो। एकसय भन्दा पनि कम बजार मूल्य भएका र खराब मानिएका हाइड्रोपावरको शेयर मूल्य दिनानुदिन सकारात्मक सर्किटको लेभलमा पुगे। साताभर सबैभन्दा धेरै शेयरमूल्य बढ्ने र कारोबार पनि सबैभन्दा धेरै हुने कम्पनीहरुमा पनि हाइड्रोपावर कम्पनीहरु नै रहे। यसअनुसार हाइड्रोको शेयर हुने लगानीकर्ताहरुले अधिक कमाए भने अन्य क्षेत्र मध्यम रह्यो।
यस साताको शेयर बजार कस्तो रह्यो भन्ने सन्दर्भमा मनिल श्रेष्ठ भन्छन्, 'समग्रमा यो साता बजार राम्रै भयो भन्न पर्याे। यो साता नै बजारले १६ सयको अंक पार गर्याे। मार्केट पोजिटिभ नोटमै रह्यो। साताको अन्तिम कारोबार दिन बिहीबार अलि करेक्सन भएपनि समग्रमा भोलुमको हिसाबले हेर्दा १३/१४ अर्बको कारोबार भयो। यो भनेको कुनै जोक हैन। औसतमा २ अर्ब बराबरको कारोबार भइरहेको छ।'
नेप्से १६०० को अंकभन्दा माथि बस्नु भनेको पनि मार्केटको लागि पोजिटिभ लक्षण भएको भन्न सकिने श्रेष्ठको भनाई छ। उनी भन्छन्, 'यो हप्ताभरी मेन लिडिङ हाइड्रोले गरेको छ। तर, हाइड्रोले लिडिङ गरेपनि अलिकति गहिरिएर हेर्ने हो भने विकास बैंकले पनि केही न केही हलचल गर्न थालेको देखिन्छ। प्राविधिक रुपमा हेर्दा हाइड्रोले हप्ताभरी नै र्याली गरेको देखेको छुँ मैले। त्यसको मतलब डेभलपेन्टमा त्यति हल्ला नभइसकेपनि अब चाहिँ डेभलपमेन्टतिर पनि अलिकति 'पुश' आउने खालको सम्भावना देखिन्छ।'
माइक्रोफाइनान्स र नन लाइफ दुबै एक किसिमले सुस्ताएको उनको भनाई छ। माइक्रोफाइनान्स र नन लाइफ तल आउन पनि नसकेको र माथि जान पनि नसकेकाले यी दुबै एक किसिमले साइड वेजमा, केही न्यूजको पर्खाईमा बसेको जस्तो देखिने श्रेष्ठको विश्लेषण छ।
उनी भन्छन्, 'मुख्य सूचक नै माथि जानका लागि बैकिङ क्षेत्र अगाडि नगएससम्म अलि सम्भव हुँदैन। बैकिङ चाहिँ रेन्जमा हुन्छ। बैकिङ ११७० देखि १३०० को रेन्जभित्र नै घुमिरहेको छ। तर, ११७० देखि १३०० को रेन्जमा पनि अत्यन्तै भीडको हिसाबले अप ट्रेन्डमा छ तर अझै ढिलो हिसाबको अप ट्रेन्ड छ।'
श्रेष्ठका अनुसार, यो हप्ता त हाइड्रोले नै लिड गरेको छ। हाइड्रोले जुन हिसाबले लिड गरेको थियो, त्यो हिसाबले करेक्सन हुने पनि देखिएकाे उनकाे विश्लेषण छ। बिहीबारदेखि शुरू भएको करेक्सन एक दुई दिन अरु जान सक्ने उनी बताउँछन्। यो करेक्सनमा राम्रो खालको हाइड्रोमा इन्ट्री अपरच्यूनिटी हुनसक्छ भने ठीकठाक खालको हाइड्रोमा एक्जिट अपरच्यूनिटी पनि हुनसक्ने उनकाे भनाइ छ।
आगामी साता बजार के हुने जस्तो देखिन्छ भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, 'समग्र सूचक पोजिटिभ नै छ। सूचक १५०० माथि नै बसेको छ। सर्वसाधारणको हिसाबले यो पोजिटिभ नै छ। ट्रेडिङ भोलुमले पनि पोजिटिभ सिनारियो देखाइरहेको छ। अब सायद हाइड्रोमा केही करेक्सन आएर फेरि माथि जाने अवस्था हुन्छ भने अरु सेक्टरतिर मुभ हुने अवस्था देखिन्छ।'
उनका अनुसार, माइक्रोफाइनान्स, नन लाइफ साइड वेजमा बसिसकेको छ। त्यसैगरी, डेभलपमेन्ट बैंक यो हप्ता नै माथि जान खोजेको देखिन्छ। यसमा विस्तारै मुभमेन्ट देखिन थालेको छ। डेभलपमेन्ट बैंकतिर विस्तारै मानिसहरुले नोटिस गर्न थालेका छन्। अब आउने हप्ता डेभलपमेन्ट बैंकको सेक्टर माथि जान सक्छ। हाइड्रोको पनि साथ होला, तर डेभलपमेन्ट बैंक, त्यसपछि माइक्रोमा केही बढोत्तरी हुनसक्छ।