सरकारी नीतिकै बिरूद्ध सरकारकै कर्मचारी,कोरोनाको सङ्क्रमण हुने बित्तिकै कार्यालय बन्द

Oct 14, 2020 07:44 AM merolagani



सुवास निरौला

दैनिक कोरोना संक्रमणको ग्राफ बढ्दो छ। सजगताका बिच कामलाई निरन्तरता दिँदै जानु पर्ने बाध्यता छ। किनकि काम बिना मामको जोहो गर्न मुस्किल छ। सोही कारण पनि चाहेर नचाहेर कामलाई निरन्तरता दिनै पर्ने बाध्यतामा सर्वसाधारणदेखि सरकारसम्म छन्।

जोखिमका बिच पनि सबै भन्दा बढी कामको बाध्यता सर्वसाधारणमा देखिन्छ । तुलनात्मक रुपमा कम बाध्यतामा रहको अनुभूति सरकारी कार्यालयमा देखिएको छ। किनकि कोरोनाकै बिचमा पनि उनीहरूले कामलाई बिस्तारै निरन्तरता दिन थालेका छन्। उनीहरू कोरोनामा अभ्यस्त हुन थालेका छन्। काम गर्ने परिसरमा कसैलाई सङ्क्रमण देखिए उक्त व्यक्ति आइसोलेसनमा पठाएर अरूले भने कामलाई निरन्तरता दिने अभ्यास सुरु गरिसकेका छन्। सधैँ बन्द गरेर अघि बढ्न नसकिने उनीहरूको निष्कर्ष हो। ‘पहिले उद्योगमा कसैलाई कोरोना देखिए सम्पूर्ण उद्योग नै सिल गरिन्थ्यो तर अहिले सङ्क्रमितलाई मात्रै आइसोलेसनमा पठाएर कामलाई निरन्तरता दिन थालिएको छ” उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले मेरो लगानीसँग भने।

त्यस अनुपातमा सरकारी कार्यालयले भने कम जाँगर देखाउन थालेका छन्। काम गरे पनि र नगरे पनि मासिक तलव पाइने भएकोले पनि केही सरकारी कार्यालयमा भने कुनै एक कर्मचारीलाई सङ्क्रमण भए लगत्तै सम्पूर्ण कार्यालयको काम नै प्रभावित हुने गरेको छ। काम मात्रै प्रभावित भएको छैन। कार्यालय नै बन्द हुँदै आएका छन्।जागिरे प्रबृतिमा बढी रमाउने सरकारी कार्यालयलेको रवैयाका कारण पनि आर्थिक गतिविधिमा समस्या देखिन थालेको नागरिक समाजले बताउन थालेको छ।

कोरोनाकै कारण सरकारी कार्यालय बन्द गर्ने सरकारी नीति छैन। कर्मचारीलाई कोरोना भएकै कारण सरकारी कार्यालय बन्द गर्न पाइँदैन। तर जिल्ला स्थित धेरै जसो सरकारी कार्यालय कर्मचारीलाई सङ्क्रमण देखिएकै कारण हप्तौँ बन्द हुँदै आएका छन्। जिल्लाका सरकारी कार्यालयको अवस्था दयनीय त छदै छ। यता राजधानीमै पनि कतिपय सरकारी कार्यालयले जिल्लाकै रवैयालाई पछ्याएका छन्।

पछिल्लो समय सिंह दरबारमै मानिसहरूको चहल पहल कम हुँदै गएको छ। सिंह दरबार भित्र रहेका सरकारी कार्यालयमा कर्मचारी कम आएको कारण त्यँहाको चहलपहल कम हुँदै गएको हो। सिंह दरबारले नै कामलाई बेवास्ता गरेपछि बाहिरका कार्यालयले थप आड भरोसा पाएका छन्। जसले गर्दा यातायात कार्यालय, मालपोत कार्यालय, उद्योग विभाग र भन्सार विभागमा समेतको काम प्रभावित छ ।

सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने प्रमुख कार्यालय र लगानीको वातावरण कायम गर्ने निकाय नै सुस्त हुँदा आर्थिक गतिविधिमै धक्का लाग्ने सम्भावना बढ्दै गएको छ।

तर यही बिचमा आन्तरिक राजस्व विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयले भने सङ्क्रमण देखिनेलाई छुट्टी दिएर अरूले कामलाई निरन्तरता दिँदै आएको दावी गरेका छन्।

केही कार्यालय र कार्यालयका जिम्मेवार व्यक्तिका कारण केही सरकारी कार्यालयका कामले निरन्तरता पाएका छन्। तर धेरै जसो कार्यालयका हाकिम देखि तल्लो तहका कर्मचारीले जिम्मेवारी बिर्सँदै गएका छन्। राष्ट्र सेवामा समर्पित रहनु पर्ने कर्मचारीले कामलाई निश्चित जागिर मात्रै सम्झँदा कार्यालय नै बन्द भएको नागरिक समाजका एक अगुवाको भनाइ छ।  “केही सरकारी कार्यालयका कर्मचारीले राष्ट्र सेवा भन्ने भाव नै बिर्सिए। सङ्कटको बेलामा अग्र मोर्चामा काम गर्नु पर्ने कर्मचारीले फगत जागिर सम्झिएकाले यो अवस्था आएको हो” ती अगुवाले मेरो लगानी सँग भने।

यसमा कार्यालयका हाकिम बढी जिम्मेवार नभएको उनको आरोप छ। यसमा मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्मले गम्भीरता पूर्वक लिनु पर्ने उनको भनाइ छ। नभए सरकारी कार्यालय चाहिँ बन्द गर्ने सर्वसाधारण चाहिँ काममा निस्कनु पर्ने । यस्तो रवैयाले आर्थिक सबलीकरणको सपना देख्नु फगत एक दिवा स्वप्न बाहेक अरू केही हासिल नहुने उनले बताए।   




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।