यो हप्ताको भोलुम एनालाइसिस गर्नुपर्दा भोलुममा त्यति ठूलो परिवर्तन देखिएको छैन। तर, पछिल्लो हप्ता अलिअलि कम भएको देखिन्छ। यद्यपि, बजारमा एकदमै स्ट्रङ्गली सबै सेक्टरका बायर आएका छन्। बैकिङ, इन्स्योरेन्स, हाइड्रोमा खरिदकर्ताहरु उच्च रुपमा आएका छन्। त्यो भन्दा पनि डेभलपमेन्ट बैंक सेक्टरमा एउटा राम्रो बुलिस ट्रेन्ड देखिनुका साथै सो सेक्टरमा डिमान्ड पनि ठूलो मात्रामा आएको देखिन्छ।
मैले केही बैंकहरुको फण्डामेन्टल एनालाइसिस गर्दा के भेटेँ भने, कतिपय बैंकहरुले अहिले रिकभरीको फेजमा छन्, अर्थात असारमा नउठेको ब्याज अहिले उठाउने प्रयासमा लागेको, लगानी विस्तार पनि राम्रो ठाउँमा भएको, त्यसमा पनि कतिपय विकास बैंकहरुले त आफ्ना बण्डहरु, आफ्ना शेयरहरु बेचेर आफ्ना नाफालाई बुक गरेको अवस्थाले गर्दाखेरी राम्रो देखेको छुँ। अब फस्र्ट क्वाटरमा प्रायः राम्रा विकास बैंकहरुको कमाई अलि राम्रो आउने सम्भावना देखिएको भन्ने केही खबर सुनिएकाले पनि बजारमा विकास बैंकले यो हप्तामा अलि बढी खरिदबिक्री गरेको देखिन्छ।
बैंकिङ सेक्टरमा पनि एउटा राम्रै पोजिशनको पिकअपको अवस्थामा छ, तरपनि अझै सप्लाई ठूलो मात्रामा नभएको कारणले गर्दाखेरी बैकिङ सेक्टरमा अब विस्तारै विस्तारै लगानीकर्ता आउने देखिन्छ। यसैगरी, इन्स्योरेन्स सेक्टरमा विगत एक महिनादेखि बजार साइडवेजमा चलेको र कोभिड–१९ को प्रभावले अलि असर गर्ला कि भन्ने आशंका लगानीकर्तामा देखिएका छन्।
तर, नन लाइफ सेक्टरमा मैले बुझेअनुसार त्यस्तो कुनै पनि असर देखिने अवस्था छैन। किनभने, बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई एक अर्ब रुपैयाँ बराबरको दायित्वका लागि मात्र बीमा गरेका हुन्। त्यसैगरी महाविपत्ती कोषले ५० करोडको दायित्व हुन्छ, त्यसपछि पुर्नबीमा कम्पनीको एक अर्ब हुन्छ। त्यस्तो पनि नभए बीमा समितिको कोषमा भएको एक अर्ब प्रयोग गर्ने कुरा छ। त्यसपछि नसकेपछि मात्रै नेपाल सरकारले प्रयोग गर्नेछ। भनेपछि अहिले बजारमा नन लाइफ सेक्टरमा अलि बढी साइज वेज देखिएको छ।
तर अहिले २० वटा नन लाइफ कम्पनीहरुले कोरोना बीमा बापत लगभग ८० करोड पैसा उठाइसकेको देखिन्छ, र उहाँहरुको दायित्व भनेको जम्मा एक अर्ब हो। एक अर्बमा पनि त्यो सबैले मिलेर तिर्ने हुदाँ कोरोनाको कारणबाट नाफामा त्यस्तो ठूलो कमी आउने देखिदैन। बरु उनीहरुको व्यापारबाट चाहिँ नाफा घट्छ भने त्यो फरक कुरा हो, तर कोरोनाकै कारणबाट चाहिँ नन लाइफ कम्पनीहरुको बिजनेशमा कमी देखिएको छैन। विस्तारै अबको दिनमा नन लाइफ सेक्टरको पनि राम्रै डिमाण्ड हुन्छ भन्ने मलाई लाग्छ।
अब लाइफ इन्स्योरेन्स सेक्टरमा भन्नुपर्दा, कोरोनाको त्यस्तो ठूलो असर छैन। तर बीमा गराउने व्यक्तिहरु आफ्नो पोलिसी बिक्री गर्न घरघरमा जानुपर्याे। कोरोनाको कारणले गर्दा घर–घरमा जाने अवस्था कम भएको कारणले गर्दाखेरी अलिकति पोलिसी बिक्री कम भएको देखिन्छ। तरपनि बैकिङ सेक्टरमा बैंक अफ काठमाण्डुले बोनस शेयर घोषणा गर्दा एक किसिमको माहौल सिर्जना भएर बैकिङ सेक्टरमा अलि डिमाण्ड आए जस्तै भोलीको दिनमा लाइफ इन्स्योरेन्स सेक्टरमा नेपाल लाइफले लाभांश घोषणा गरेपछि सो सेक्टरलाई अलि माथि लैजाला। त्यस्तै, नन लाइफमा शिखर इन्स्योरेन्सले गर्दा त्यसैगरी माथि जाला। त्यसकारणले मलाई लाग्छ भने अबको दिनमा दशैँ पछाडि वा तिहार पछाडि लाइफ इन्स्योरेन्स, नन लाइफ सेक्टरमा राम्रो हुने देख्छु।
त्यस्तै माइक्रोफइनान्स सेक्टरमा चाहिँ आगामी दिनमा अलि शंकास्पद छ। राष्ट्र बैंकले पनि ६ महिनासम्ममा ब्याज तिर्नका लागि अहिले फोर्स नगर्नु भनेका कारणले पनि अहिले केही गरी ब्याज उठेन भने फेरि नाफा घट्ने हो कि, फेरि पनि कुनै कम्पनी मर्जमा जाने हो कि भनेर अलिकति डिमाण्ड कम आएको देखिन्छ। तर, माइक्रोफाइनान्सको इण्डेक्समा पनि विस्तारै केही परिवर्तन आउला जस्तो लाग्छ मलाई।
समग्रमा गएको हप्ताको विश्लेषण गर्नुपर्दा हाइड्रोपावर सेक्टर करेक्सनमा गयो, इन्स्योरेन्स साइडवेजमा चलेको देखियो, विकास बैंकमा एक किसिमको बुलिस नै आयो, बैकिङ सेक्टरमा विस्तारै विस्तारै डिमान्ड सिर्जना भइरहेको अवस्था छ।
यो हाम्रो चाडपर्व नजिकिदै आएको हुनाले केही मान्छेहरु आफ्नो शेयर बेचेर कसैको ब्याज तिर्नुपर्ने होला, कसैको कता मिलाउनुपर्ने होला। त्यसैले, मेरो विचारमा यो हप्ता बजार सामान्य–सामान्य रह्यो भन्छु म। बजारमा एकदमै ठूलो गिरावट आउने परिवर्तन आउने भन्ने कुरा छैन।
कात्तिकदेखि दशैँको बिदा पनि भएकाले सरकारी कार्यालयहरु बन्द गर्ने, किनकि कोभिड–१९ ले गर्दा डर पनि भयो भनेर नेपाल सरकारका सचिवहरुले पनि दशैँभन्दा केही पहिले नै बिदा गरौँ भन्ने योजना बनाएको भन्ने खबर बाहिरिएकाले बजारमा करेक्सन आएको हो।
सरकारी कार्यालयहरु बन्द भयो भने बजारमा एक किसिमको माहौल सिर्जना हुन्छ। चाडपर्वको अवस्था रहेपनि बजारमा सामान्य अवस्था नै रहन्छ। आगामी हप्ता कारोबार भएपनि बजार झन् त घट्दैन, बढ्छ नै।
मेरो विचारमा आगामी हप्ता बजार बढ्नुमा तीनवटा लजिक रहेका छन्ः
पहिलो, जहिल्यै पनि पूँजी बजारमा ब्याजदरले भूमिका खेलेको हुन्छ। जबसम्म ब्याजदर कम हुन्छ, तबसम्म स्टक मार्केट बढ्छ। अहिले पछिल्लो समय ब्याजदर घटिरहेको हुनाले स्टक मार्केट बढ्छ अर्थात् स्टक मार्केट पोजिटिभ हुन्छ।
दोस्रो, धेरै लामो समयको प्रतीक्षापछि अनलाइनमा पछिल्लो पटक नयाँ सिस्टम चेन्ज हुदाँ अनलाईन प्रयोगकर्ताहरु बढेको कारणले गर्दा विस्तारै विस्तारै यो चाडपर्वमा अनि अरु समयमा पनि घरमै तथा अफिसमै बसेर कारोबार गर्न पाउन सकिने अवस्था हुदाँ स्टकको माग बढ्छ। माग धेरै भएसँगै आपूर्ति कम हुन्छ र मूल्य आफैँ बढिहाल्छ। त्यसकारणले पनि बजार बढ्छ ।
तेस्रो कारण चाहिँ अहिले कोभिडको कारणले गर्दा अरु कुनै नयाँ क्षेत्रमा लगानीका लागि गइहाल्ने अवस्था छैन। त्यसकारण प्रायः सबैजनाले स्टक मार्केटमा नै लगानी गर्न चाहनुहुन्छ। किनभने अहिले राम्रा कम्पनीले न्यूनतम १०/१५ प्रतिशत प्रतिफल दिएको छ। तर, बैंकमा अहिले सामान्य बचत गर्दा ५/७ प्रतिशत प्रतिफल पाइन्छ। त्यसकारणले बैंकले भन्दा शेयर बजारले बढी प्रतिफल दिएसम्म चाहिँ बजार बढ्ने भयो। जसले गर्दा आगामी दिनमा बजार बढ्ने सम्भावना उच्च छ। मात्र कोरोना महामारीको अवस्था कस्तो हुने भन्ने कुरा कसैले आँकलन गर्न सकिरहेको छैन। त्यसकारणले गर्दा मानिसहरुको मनोविज्ञान कमजोर भएको देखिन्छ।
तर, हामीले उदाहरणका रुपमा हाम्रा छिमेकी मुलुक भारतको इण्डेक्स हेरौँ। त्यहाँको मार्केट इण्डेक्स ४० हजारबाट झरेर २५ हजारको हाराहारीसम्म पनि आयो। तर अहिले त्यहीँ पुरानै ठाउँ ४० हजारमा नै पुगेको छ। हामीकहाँ भन्दा झन् त्यहाँ महामारी तीव्र रुपमा दैनिक वृद्धि भइरहेको अवस्था छ।
अबको हप्ता बैंकिङ क्षेत्रमा राम्रो हुन्छ तर, अझै पनि सम्भावना इन्स्योरेन्स सेक्टरमा देख्छु। सबै क्षेत्रमा सुधार हुने भएपछि इन्स्योरेन्समा तुलनात्मक रुपमा बुम हुने अवस्था देख्छु।
यसैगरी अब ३ फेजको बियरिस ट्रेण्ड सकियो। हामी २०७३ साल साउनबाट हामी बियरिस ट्रेन्डमा झरेर अब माथि गएपछि हाम्रो बजार १६ सयको हाराहारीमा छ। जहिले पनि मार्केटमा यस्तो हुन्छ कि, कोही लगानीकर्ताहरु कसैले रातारात कमाउने भनेर आउनुहुन्छ, उहाँहरु फस्नुहुन्छ। तर मार्केट सधैँ घट्दैन पनि र सधैँ बढ्दैन पनि। अब हामी बियरिस ट्रेन्ड सकिएर बुलिस ट्रेन्डमा छौँ र यो ट्रेन्ड अब लगभग लगभग ३/४ वर्ष नै रहन्छ।
(शेयर बजार विज्ञ तथा अनुसन्धानकर्ता भीम प्रसाद पन्तसँग मेरो लगानीका संवाददाता सबिना बजगाईले गरेको कुराकानीमा आधारित)