माउन्टेन इनर्जीकाे आइपीओ बुधबार बाँडफाँड हुने

Nov 29, 2020 04:21 PM Merolagani



माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओ आगामी बुधबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आज प्रि अलटेमन्ट सकिएकोले बुधबार आइपीओ बाँडफाँड गर्ने जनाएको छ। 

माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओमा साढे सात गुणाभन्दा धेरै आवेदन परेको छ। कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। यो मागभन्दा ७.६१ गुणा धेरै हो।

धितोपत्र बाँडफाँड निर्देशिका अनुसार कम्पनीले बिक्रीमा ल्याएको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउने छन्। यसअनुसार हालसम्मको तथ्याँक अनुसार आइपीओमा आवेदन गर्ने बाँकी ४ लाख ९१ हजार जना आवेदकको भने हात खाली हुने भएको छ। यो कुल आवेदकको ७२ प्रतिशत हो।

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो। यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर भने सर्वसाधारण लगानीकर्ताको लागि बिक्री खुल्ला गरिएको थियो।

यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो।

आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन्।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको जनाउछ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।