तामाकोशीको शेयर संचयकोषका कर्मचारीलाई बढी दिनु घुस दिए जस्तै हो

Jan 18, 2021 06:13 PM Merolagani

डा. सूर्यराज आचार्य
विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण अवयव पूर्वाधार नै हो । हाम्रो जस्तो विकासशील देशहरुमा पूर्वाधारमा गरिएको लगानीले अर्थतन्त्रलाई विकासको चरणमा प्रवेश गराउने र त्यसपछि उत्पादन प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

धेरै पहिलादेखि नै राजनीतिक संक्रमण सकिएपछि विकास र समृद्धितर्फ अघि बढने सरकारका अभिव्यक्ति र नीतिमा आएका थिए ।

सरकारले मात्र होइन, निजी क्षेत्रले पनि पूर्वाधार निर्माणमा सरकारले ल्याएका बजेटका कार्यक्रम र नीतिगत विषयलाई सहयोग गर्नुपर्ने हुन्छ । निजी क्षेत्रले पूर्वाधारका लागि चाहिने निर्माण सामग्री (सिमेन्ट, बालुवा, छड, ढुङा, इटा, ब्लग) उत्पादन गर्ने गर्छ ।

पूर्वाधार बनाउनेमा पनि निजी क्षेत्रका निर्माण कम्पनीहरु छन्। पूर्वाधार निर्माणका लागि विश्वभरी नयाँ अवधारणा आएको छ । पहिला सरकारले गर्ने काम अहिले निजी क्षेत्रले गर्न थालेको छ । पूँजी लगानी समेत निजी क्षेत्रले गर्न थालेको छ । नयाँ मोडल नेपालमा पनि आइरहेको छ ।

नेपालमा सबैभन्दा पहिले निजी क्षेत्रले सफताका साथ पूर्वाधारमा लगानी गर्न थालेको हाइड्रोपावर क्षेत्रमा हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुले पूँजी लगानीदेखि निर्माण गर्ने र त्यसलाई सञ्चालन गर्ने सम्मका काम गरेका छन् । हामीले त्यसलाई ‘बुट मोडल’ पनि भन्ने गरेका छौं । बुट मोडललाई लगानी ऐनले विस्तारित गरेर अहिले यातायात तथा केवलकार लगायतका क्षेत्रमा पनि त्यही मोडल अपनाउँदै छौं । केवलकार पनि निजी क्षेत्रबाट निर्माण हुने सफल पूर्वाधारको काम हो ।

सडक, एयरपोर्टदेखि अन्य पूर्वाधारका काम पनि बुट मोडलमा जाने योजना अघि बनाएको छौं । त्यो बुट मोडल एकदमै उचित मोडल हो ।

नेपालमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र र आम नागरिकको तहमा पनि विकास निर्माणमा जोडिने काम भएको छ । यो अत्यन्तै राम्रो काम हो ।

पछिल्लो समयमा नेपाली युवाहरु विदेशमा गएर पूर्वाधार निर्माणको काम गर्ने र त्यो अनुभव नेपालमा पनि लागु गर्ने काम हुँदै आएको छ । विशेषगरी मध्यपूर्व र खाडी मुलुकमा जाने नेपाली पनि पूर्वाधार निर्माणको काम गरेर फर्केर आउने गरेका छन् । उनीहरुको अनुभवले नेपालमा पूर्वाधार निर्माण सहयोग गरेको छ ।

हामी पूर्वाधार निर्माणको काम भन्ने वित्तिकै दक्ष जनशक्ति इन्जिनियरलाई मात्र सम्झिने गछौं । त्योसँगसँगै पूर्वाधार निमार्णका लागि अर्धदक्ष जनशक्तिको आवश्यकता पनि हुने गर्दछ ।

विदेशमा ठूला आयोजनामा काम गरेर फर्केका युवाहरुले शीप पनि लिएर आएका हुन्छन् । ठूला आयोजनाको सुरुङ निर्माणलगायतका काममा त्यो जनशक्तिले ठूलो मदत गरेको छ । निर्माण व्यवसायी पनि ठूलो आयोजना निर्माण गर्ने तहमा पुगेको देखिन्छ ।

समग्रमा सार्वजनिक क्षेत्र,निजी क्षेत्रले आम युवालाई स्वदेश भित्र रोजगारी सिर्जना गर्न सक्ने सम्भावना देखिएको छ ।

निर्माण सामग्री उद्योगहरु पनि पछिल्लो समय निजी क्षेत्रले स्थापना गर्न थालेका छन् । केही वर्षअघिसम्म सरकारले सिमेन्ट उद्योगहरु स्थापना गरेको थियो । उदयपुर सिमेन्ट, हेटौडा सिमेन्टलगायतका उद्योगहरु सरकारले स्थापना गरेको थियो । निजी क्षेत्रले सिमेन्ट उद्योगहरु स्थापना गरेका थिएनन् । पछिल्लो १० देखि १५ वर्षयता सिमेन्ट उद्योग व्यापक रुपमा निजी क्षेत्रबाट स्थापना हुन पुगे । अहिले निजी क्षेत्रबाट स्थापना भएका सिमेन्टले मुलुक आत्मनिर्भर हुने अवस्थामा पुगेको छ ।

सिमेन्टमा ठूला उद्योगहरुमा वैदेशिक लगानी पनि आएका छन् । निजी क्षेत्रले डण्डी, छड र रड बनाउने काम गरिरहेका छन् । निजी क्षेत्रबाट स्थापना भएका यस्ता उद्योगले गर्दा पूर्वाधारमा छलाङ मार्ने अवस्थामा पुगेका छौं ।

विकास निर्माणमा पनि निजी क्षेत्रले योगदान पुर्याउँदै आएको छ । पूर्वाधार बनिसकेपछि त्यो पूर्वाधारले पर्यटन क्षेत्र, व्यवसायिक कृषि वा आधुनिक कृषिमा आमुल परिवर्तन ल्याउने देखिएको छ । यो सकारात्मक हो ।

पूर्वाधार निर्माणका लागि सरकार र निजी क्षेत्र मिलेर इन्फ्रास्टक्चर बैंक सञ्चालनमा ल्याएका छन् । यसरी यो बैंक आउनु सकारात्मक हो । पूर्वाधारका लागि पूँजीको समस्या भन्छौं । पूँजी निर्माणका लागि नीति नियममा पनि अपुरो बुझाइ रहेको छ ।

पूर्वाधारको क्षेत्र पूँजी सिर्जना गर्ने क्षेत्र हो । सामाजिक क्षेत्रमा गरेको लगानीको प्रतिफल आउन धेरै वर्ष लाग्ने गर्छ । तर पूर्वाधार क्षेत्रमा गरेको लगानीले सामाजिक क्षेत्रमा भन्दा कैयाैं गुणाबढी धेरै क्षेत्रमा सकारात्मक असर पार्छ ।

पूर्वाधारमा सरकारले १ अर्ब लगानी गरेको छ भने त्यसले पहिला रोजगारी दिने, निर्माण सामग्रीहरुको प्रयोग गर्ने र त्यसबाट अनेकौ सुविधा दिने गर्छ । पूर्वाधारमा १ अर्बको लगानी गरेको खण्डमा त्यसले अनेकौ फाइदा पुर्याएर पूँजी सिर्जना पनि गर्ने गर्छ ।

पूर्वाधार बैंक भन्ने तर अरु बैंकले जस्तो काम गर्नु भएन । नाम इन्भेष्टमेन्ट बैंक र विकास बैंक राख्ने काम अरु गर्नु भएन । इन्भेष्टमेन्ट बैंकले अरु ‘रिटेल’ बैंकजस्तै काम गर्नु भएन ।

नेपाल राष्ट्र बैंकले पनि इन्भेष्टमेन्ट बैंक, इन्भेष्टमेन्ट कोषको भूमिका के हुने, सञ्चालन कसले गर्ने भन्ने विषयमा अलिकति गाजेमाझै तर्क गरिरहेको छ ।

पूर्वाधार विकास बैंकको लगानी दीर्घकालीन प्रकृतिको हुनु पर्छ । त्यो भरपर्दो पनि हुन्छ । पूर्वाधारको महत्वपूर्ण बिषयको कुरा के हो भने सस्तो ब्याजदरमा ऋण पाउनु पर्छ । वाणिज्य बैंकको प्रकृति नै अल्पकालीन रुपमा ऋण दिने र ब्याजदर बढी हुने गर्छ ।

निक्षेपकर्तासँग ४,५ प्रतिशत ब्याजमा रकम संकलन गर्ने र १० प्रतिशतमा लगानी गर्ने काम वाणिज्य बैंकले गर्छन् । त्यसरी गरिएको लगानीबाट ५ प्रतिशतको हाराहारीमा वाणिज्य बैंकले नाफा लिने गर्छन् ।

पूर्वाधार विकास बैंकको ब्याजदर सस्तो हुनुपर्छ । ब्याजदर महंगो हुँदा वित्तीकै आयोजनाको लागत बढ्छ ।

सरकारले वित्तीय पूँजी व्यवस्थापन गर्दै पूर्वाधारमा लगानी गर्नलाई छुट्टै किसिमका कोषहरु सञ्चालन गर्नु पर्ने हुन्छ । अरु देशको उदाहरण जापान, कोरिया, चीन, भियतनाम, भारतमै पनि सार्वजनिक निजी सझेदारी (पीपीपी) नीति ल्याएका छन् । त्यसका लागि अबौ डलरका उनीहरुले कोष बनाएका छन् । जुन कोष पूर्वाधारमा मात्रै लगानी गर्न पाइन्छ । पेन्सन फन्डलगायतका कोषबाट पनि पूर्वाधारको विकास गरेका छन् ।

तर नेपालको अवस्थाका कस्तो छ भने माथिल्लो तामाकोशीमा संचय कोषले लगानी गरेको छ । त्यो कोषमा ठूलो लगानीयोग्य रकम छ । पेन्सन फन्ड, सैनिक कल्याणकारी कोष, नागरिक लगानीकोष थुप्रै कोषहरुमा रहेको रकम त्यतिकै बसेको छ ।

सरकारले त्यस्ता कोषमा भएको रकम पूर्वाधारमा लगानी गर्ने भनेको उत्पादनमा लगानी गर्ने हो र त्यसबाट प्रतिफल सर्वसाधारणले पाउने बनाउनु पर्छ ।

पूर्वाधारमा गरेको नराम्रो उदाहरण माथिल्लो तामाकोशीको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा संचय कोषले लगानी गर्दा प्राधिकरणले संचयकोषका कर्मचारीलाई बढी शेयर दिनु पर्यो । त्यहाँ बदमासी भएको छ ।

संचय कोषको पैसा त संचय कोषका कर्मचारीको पैसा होइन । त्यो त नेपाल सरकारका आम नेपाली कर्मचारीको पैसा हो । त्यो कोष सरकारको नै हो । त्यो कोषमा त्यतिकै रहेको रकम लगानी गर्नका लागि संचयकोषका कर्मचारीले बढी शेयर दिनु कुनै पनि हालतमा राम्रो काम होइन ।

सरकारको कोषमा त्यतिकै थन्किएर रहेको रकम सरकरी कर्मचारीलाई नै बढी शेयर दिएर ऋण लिनु भनेको त्यो त अप्रत्य रुपमा घुस हो । त्यसैले पूर्वाधार लगानी मैत्री हुने काम अझै भएको छैन ।

पछिल्लो समय इन्फ्रास्टक्चर बैंकले पूर्वाधारमा लगानी गर्ने भनेको छ । त्यो सकारात्मक काम हो तर यसलाई नियमनमा कडाइ गर्नुपर्छ । इन्फ्रास्टक्चर बैंकलाई फेरी कमर्शिय बैंकजस्तो बनाएर उच्च ब्याजदरमा जानु हुँदैन त्यसमा सुधारको जरुरी छ ।

पूर्वाधारमा लगानी भनेको छुट्टै प्रकृतिको लगानी हो । सबैमा नाफा हुन्छ भन्ने होइन । जापानको कुरा गर्ने हो भने १९५० पछि पूर्वाधार निर्माणका लागि राम्रो नीति निर्माण गरे । छरिएर रहेको पूँजी कसरी परिचालन गर्ने भन्ने सम्बन्धमा जापानले हुलाक बैंकको अवधारणा अगाडि सार्यो । सरकारी तवरबाट स्थाना भएको त्यो संसारकै ठूलो पूर्वाधारमा लगानी गर्ने बैंक बन्यो ।

हरेक ठाउँमा हुलाक पुगेको हुन्छ । नीतिगत रुपमा नै हुलाकलाई नागरिकको बचत संकलन गर्ने बैंक बनायो । सरकारी बैंक भएकाले त्यस्तो बैंक कहिल्लै समस्याग्रस्त बन्दैनन् । पछिल्लो समय भियतनाममा जापानी मोडल लागु हुँदैछ ।

जापानले त्यसरी हुलाकमा जम्मा भएको रकम अर्थमन्त्रालयले खिचेर ट्रष्ट फन्ड बनायो । १९५० देखि १९९० सम्म अर्थमन्त्रालयले दुईवटा बजेट बनायो । एउटा बजेट निममित बजेट र अर्को चाँहि बिभिन्न कोषबाट खिचेको रकमलाई पूर्वाधारमा लगानी गर्ने गरी कोष निर्माण गर्यो । पूर्वाधार कोषबाट जलविद्युत आयोजना, प्रसारणलाइनको निर्माण, खानेपानी, रेलमार्ग, अपाटमेन्टलगायत निर्माण गर्यो । अपाटमेन्ट बनाएर भाडामा लगाउदा सर्वसाधारणलाई धेरै सस्ता र सरकारलाई फाइदा हुन गयो ।

हामीले अझै के ध्यान दिएका छैनौं भने अझै पूर्वाधार निर्माणका लागि २ प्रतिशत मात्रै पनि बढी ब्याज भयो भने त्यो आयोजना सम्भव हुँदैन। १५ देखि २० वर्षको पूर्वाधार बनाउँदा ब्याजदरले धेरै फरक पार्दछ । जापानले दीर्घकालीनका लागि पूर्वाधार तयार गर्दा कसरी सस्तो ब्याजदर उपलब्ध गराउने भन्नेमा नै ध्यान दियो । त्यो महत्वपूर्ण विषय पनि हो । हाम्रोमा सस्तो ब्याजदरमा पूर्वाधारमा लगानी गर्नु पर्छ भन्ने देखिदैन ।

अहिले निजी क्षेत्रले हाइड्रोपावर निर्माण गर्दा १० देखि १२ प्रतिशत ब्याजमा ऋण लिनु पर्ने हुन्छ । बिजुली डिजेल जेनेरेटरबाट बिजुली निकाल्ने त होइन । बगेको पानीबाट निकाल्ने बिजुली त सबैभन्दा सस्तो हुनु पर्ने हो । भारतमा भन्दा हाम्रोमा बिजुली महंगो छ । हामीले पूँजीलाई नै महंगो बनाइ दिन्छौं । पूँजी नै मंहगो भएपछि कि त आयोजना नै बन्दैन बनिहाल्यो भने हाम्रो सेवा महंगोमा बिक्री गर्नु पर्ने हुन्छ ।

चीनमा गएको २० वर्षमा १२ प्रतिशतसम्म आर्थिक वृद्धि भएको छ । इन्फ्रास्टक्चरमा गरिएको लगानीले आर्थिक बृद्धिमा सघाउ पुर्याउने गर्छ । लगानी गरेको भन्दा दोब्बरले राष्ट्रिय पूँजी निर्माणमा सहयोग पुर्याउने गर्छ ।

हामीले पूर्वाधारको लगानीलाई बोझको रुपमा लिएका छौं । आन्तरिक पूँजीलाई परिचालन गर्न सकेनौं । समस्या यहाँ निर छ ।

(पूर्वाधार बिज्ञ डा.सुरेशराज आर्चायसँग गरिएको कुराकानीमा आधारित लेख)

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।