गत साताको अन्तिम कारोबार दिन १२.७५ विन्दुमा बन्द भएको म्युचुअल फण्ड उपसमूहको परिसूचक, यस साता बढेर १३.४९ विन्दुमा बन्द भएको छ। जुन ५.८० प्रतिशत बढी हो। दोस्रो बजारका लगानीकर्ताहरु म्युचुअल फण्डमा आकर्षित भएसँगै सो उपसमूहको परिसूचक बढ्न पुगेको हो। म्युचुअल फण्डहरुको एनएभी बढेपनि दोस्रो बजारमा डिकाउण्ट मूल्यमा कारोबार भइरहेका कारण लगानीकर्ताहरु म्युचुअल फण्डतर्फ आकर्षित भएको हुन्। यसका साथै, यस वर्ष यी फण्डहरुले राम्रो लाभांश वितरण गर्ने अपेक्षा पनि लगानीकर्ताहरुले गरेका छन्।
यस साता कारोबारमा आएका १२ उपसमूहमध्ये म्युचुअल फण्ड र हाइड्रोपावर उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ४.६४ प्रतिशत घटेको छ। त्यसैगरी, अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ८५१.९० अंक घटेको छ। जुन ४.६२ प्रतिशत हुन आउँछ।
यस साता समग्रमा नेप्से परिसूचक ३.१३ प्रतिशत घटेको छ। गत साता २६३६.६८ विन्दुमा बन्द भएको नेप्से यस साता ८२.५५ अंक घटेर २५५४.१३ विन्दुमा झरेको छ। त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स ४.१५ प्रतिशत, फ्लोट इण्डेक्स ३.२२ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६१ प्रतिशत घटेको छ।
यस साता नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। गत साता ४४ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस साता ३४ अर्ब ६० करोड रुपैयाँ बराबरको मात्र शेयर कारोबार भएको छ। सातामा कारोबार रकम ९ अर्ब ५४ करोड रुपैयाँ अर्थात २१.६२ प्रतिशत घटेको हो। बजार ओरालो लागेसँगै लगानीकर्ताहरुको आत्मविश्वासमा कमी आएपछि कारोबार रकम पनि कमी आएको हो।
यस साता नेप्सेमा विभिन्न १५ कम्पनीको १७ करोड ३६ लाख ९१ हजार ५९९ कित्ता शेयर सूचीकृत भएको छ। यस साता १२ कम्पनीको बोनस शेयर, एक कम्पनीको हकप्रद शेयर, एक ऋणपत्र र एक म्युचुअल फण्ड सूचीकृत भएको हो।
हालै मात्र नेप्सेमा सूचीकृत भई कारोबारमा आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक पूँजीकरणका आधारमा छैठौँ स्थानमा पुगेको छ। यस साता सर्वाधिक पूँजीकरण भएका १० शीर्ष कम्पनीहरुको कुल बजार पूँजीकरण १२ खर्ब ८९ अर्ब पुगेको छ। यो यस साताको अन्तिम कारोबार दिनको कुल बजार पूँजीकरणको ३६.६३ प्रतिशत हो।
यस साताको मोस्ट पपुलर बाइ स्टकको सूचीमा नेरुडे लघुवित्त, रैराङ हाइड्रोपावर, हिमालयन पावर पार्टनर लगायतका कम्पनीहरु परेका छन्। त्यसैगरी, यस साताको मोस्ट पपुलर सेल स्टकको सूचीमा बोटलर्स नेपाल (तराई), सिद्धार्थ इन्भेष्टमेन्ट एण्ड ग्रोथ स्किम, सिटिजन्स म्युचुअल फण्ड २ लगायतका कम्पनीहरु परेका छन्।