एक म्युचुअल फण्डले बढाउन थाले अर्को म्युचुअल फण्डको इकाइमा लगानी, नयाँ लगानीकर्ताको नजरमा किन पर्दैन म्युचुअल फण्ड?

Mar 30, 2021 08:57 AM Merolagani



रबिन पाैडेल

म्युचुअल फण्डहरुले एक आपसमा लगानी बढाउन थालेका छन्। दोस्रो बजारमा म्युचुअल फण्डहरुको इकाई ४० प्रतिशतसम्म डिस्काउन्टमा पाइरहेको अवस्थामा म्युचुअल फण्डहरुले पनि एक आपसमा नै इकाई खरिद बिक्री बढाएका हुन्।

अहिले म्युचुअल फण्डले प्रकाशित गरेको रिपोर्ट हेर्दा एक म्युचुअल फण्डले अर्को म्युचुअल फण्डहरुको इकाई खरिद गरिरहेका देखिन्छ। ग्लोबल आइएमई समुन्नत स्किम १ ले मात्रै अन्य म्युचुअल फण्डहरुको १ करोड ७९ लाख इकाई खरिद गरेको देखिन्छ।

पछिल्लो समय म्युचुअल फण्डहरुको वास्तविक भ्यालुभन्दा निकै सस्तोमा पाइरहेको कारण नै म्युचुअल फण्डहरुले एक अर्काको इकाइ खरिद बढाएको एनआइसि एशिया क्यापिटलका मर्चेण्ट हेड दामोदर रायमाझि बताउछन्। "बुझेको मान्छेहरुले विस्तारै म्युचुअल फण्डहरुको इकाइ खरिद गर्न थालेका छन्," उनले भने, "एक म्युचुअल फण्डले अर्को म्युचुअल फण्डको इकाई खरिद बढाउदा विस्तारै क्रस होल्डिङ बढ्न थालेको छ।"

  • हेराैँ कुन म्युचुअल फण्डकाे कस्ताे छ अन्य म्युचुअल फण्डमा लगानी

म्युचुअल फण्डहरु वास्तविक भ्यालुभन्दा कम मूल्यमा नै पाइरहेको अवस्थामा पनि नयाँ सर्वसाधारण लगानीकर्ताको नजरमा भने म्युचुअल फण्ड पर्न सकेको छैन। भर्खरै बजार प्रवेश गरेका लगानीकर्ताहरुको लागि म्युचुअल फण्डमा कम जोखिम देखिएपनि त्यसतर्फ भने लगानीकर्ताको ध्यान जान सकेको छैन।

शेयर बजारमा धेरै समय दिन नसक्ने र बजारको कम ज्ञान भएका लगानीकर्ताको लागि म्युचुअल फण्ड उपयुक्त मानिन्छ। तर म्युचुअल फण्डको महत्व बुझाउन नसक्दा त्यसमा लगानीकर्ताको आकर्षण बढ्न नसकेको रायमाझि बताउछन्।

नयाँ लगानीकर्ताहरुले छोटो समयमानै धेरै नाफा खोज्दा पनि यस्ता इकाइहरुमा ध्यान जान नसकेको जानकारहरु बताउछन्। म्युचुअल फण्डहरुले राम्रो प्रतिफल दिइरहेको अवस्थामा पनि पूँजीगत लाभमा लगानीकर्ताको बढी ध्यान जाँदा म्युचुअल फण्डको इकाइ ओझेलमा परेका हुन्।

म्युचुअल फण्डहरुले कुनैपनि शेयर खरिद गर्दा रिसर्च गरेर र ग्रुप डिस्कसनबाट मात्रै खरिद बिक्री गर्ने गर्छन्। यसमा पनि म्युचुअल फण्डहरुको इकाइ नै पनि पर्न थालेको रायमाझिले बताए।

चालु आर्थिक वर्षमा शेयरबजारले गति लिँदा म्युचुअल फण्डहरुले पनि राम्रो नाफा कमाएका छन्। आगामी वर्ष उनीहरुले राम्रो प्रतिफल दिनसक्ने क्षमता राख्छन्। गत वर्षहरुमा भन्दा आगामी वर्ष म्युचुअल फण्डहरुको लाभांश समेत बढ्ने जानकारहरु बताउछन्।

एनआइबिएल प्रगति फण्डको न्याभ १६ रुपैयाँ माथि भए पनि दोस्रो बजारमा उसको इकाई ११ रुपैयाँमा खरिदबिक्री भइरहेको अवस्था छ। त्यस्तै सानिमा इक्वीटि फण्डको न्याभ १८ रुपैयाँ माथि रहेपनि उसको इकाइ १४ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यो त केहि उदाहरण मात्रै हो धेरैजसो म्युचुअल फण्डहरुको अवस्था यस्तो छ। लगानीकर्ताले म्युचुअल फण्डको वास्तविक महत्व नबुझ्दा वास्तविक मूल्यभन्दा निकै तल कारोबार भएको रायमाझि बताउछन्।

त्यसैगरी, म्युचुअल फण्डको इकाइ लिक्वीड नभएको कारण पनि रियल भ्यालुभन्दा कममा कारोबार भएको उनको बुझाइ छ। अन्य कम्पनीको शेयर चाहेको बेलामा जति पनि कारोबार गर्न सकिने भए पनि म्युचुअल फण्डको भने कम कारोबार हुने हुँदा आफुले चाहेको समयमा खरिदबिक्री गर्न कठिन हुन्छ। यसले गर्दा पनि यसमा लगानीकर्ताको आकर्षण खासै देखिदैन। "म्युचुअल फण्डको इकाइ अन्य शेयरजस्तो लिक्वीड नभएको र म्युचुअल फण्डको महत्व बुझाउन नसक्दा आकर्षण बढ्न सकेन," रायमाझिले भने।

म्युचुअल फण्डहरुले ठुलो भोलुममा कारोबार गर्ने हुँदा उनीहरुले खरिद र बिक्रीलाई लगानीकर्ताले विशेष रुपमा हेर्ने गरेका छन्, म्युचुअल फण्डले बिक्री बढाउदा बजारमा सप्लाई धेरै बढ्ने गर्छ भने खरिद गर्दा पनि माग बढ्ने गर्छ।




comments powered by Disqus