विदेशमा बस्ने नेपालीले प्रत्येक दिन १ अर्ब ७६ करोड रकम नेपाल पठाउँदै

Apr 18, 2021 12:22 PM Merolagani

विदेशमा बस्ने नेपालीले प्रत्येक दिन १ अर्ब ७५ करोड ९२ लाख रुपैयाँ नेपाल पठाउने गरेका छन् । कामको सिलसिलामा विदेश जाने नेपालीहरु घट्दै गएपनि विदेशबाट नेपाल पठाउने रकममा भने उल्लेख्य बृद्धि हुँदै आएको छ ।

 विदेशमा बस्ने नेपालीले गएको आठ महिनामा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ नेपाल पठाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । उक्त रकम औसत रुपमा गणना गर्दा दैनिक करिव १ अर्ब ७६ करोड हुन आउँछ ।

विदेशमा गएका नेपालीले बैंकिङ प्रणालीबाट मात्र उक्त रकम भित्र्याउने गरेका हुन् । यसबाहेक विदेशमा गएका नेपालीले अनौपचारिक माध्यम (हुन्डि) मार्फत पनि त्यही हारहारीमा नै रकम नेपाल पठाउने अनुमान गरिदै आएको छ । तर, अनौपचारिक रुपमा कति रकम भित्रिन्छ भन्ने बारेमा भने वास्तविक रुपमा तथ्यांक कसैसँग छैन् ।

औपचारिक र अनौपचारिक माध्यमबाट आएको रकम गणना गर्ने हो भने दैनिक करिव ३ अर्ब भन्दा बढी रकम विदेशमा गएका नेपालीले पठाउने गरेको अनुमान गरिदै आएको छ ।

कोरोना भाइरसका कारण विदेशमा रहेका नेपालीहरु नेपाल फर्किने र विदेशबाट आउने रकम पनि कमी आउने अनुमान गरिदै आएको थियो । तर, उक्त अनुमान विपरित रेमिटयान्स रकममा बृद्धि हुँदै आएको छ ।

गत आर्थिक वर्षको फागुनसम्ममा भन्दा यो आर्थिकको उक्त अवधिसम्म रेमिटयान्स आप्रवाह ८.६ प्रतिशतले वृद्धि भएर ६ खर्ब ४२ अर्ब १४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिटयान्स आप्रवाह १.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिटयान्स आप्रवाह ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो ।
विदेश जाने घटेपनि विदेशमा रहेका नेपालीले झन धेरै रकम पठाउन थालेपछि रेमिटयान्स रकम बढेको हो ।

हाल करिब ४० लाख नेपालीहरू अध्ययन, व्यवसाय र रोजगारको सिलसिलामा विदेशमा छन् । उनीहरूले आफूले कमाएको रकम रेमिटयान्स कम्पनीमार्फत नेपाल पठाउँदै आएका छन ।

आपतविपत र चाडवाडमा विदेशमा रहेका आफन्तले पैसा पठाउने गरेको रेमिटेन्स कम्पनीका सञ्चालकहरू बताउँछन् । ‘कहिल्यै पैसा नपठाउने व्यक्तिहरू पनि यो समयमा परिवारलाई खर्च भन्दै पैसा पठाउने गर्छन,’ एक रेमिटेन्स कम्पनीका सञ्चालकले भने, ‘त्यसैले सामान्य समयको तुलनामा यसबेला रेमिटेन्स आप्रवाह बढी हुन्छ ।’

२०७२ सालको बैशाखमा आएको भूकम्पपछि पनि रेमिटयान्स बढी भित्रिएको थियो । त्यसबेला विदेशमा रहेका आफन्तले नेपालमा रहेको आफ्नो परिवार र नातेदारलाई समेत रकम पठाएका थिए । ‘आपत विपतमा सहयोग गरौं भन्ने भावना नेपालीमा छ,’ राष्ट्र बैंकका एक कर्मचारीले भने, ‘त्यसैले पनि भूकम्प पछिका दुई तीन महिनामा रेमिटयान्सको बाढी नै लागेको थियो ।’

अहिले कोरोना भाइरसका बेलामा पनि भूकम्पको बेलामा जस्तो ‘सेन्टिमेन्ट’ ले काम गरेको राष्ट्र बैंकका ती कर्मचारीले बताए ।

नेपालमा आपतविपत र चाडपर्वको समयमा सबैभन्दा बढी रेमिटयान्स भित्रिने गर्दछ । श्रमका लागि विदेश गएकाहरूले आपत विपत र चाडपर्वको अवसरमा घरमा पैसा पठाउने चलन भएकाले त्यस समयमा धेरै रेमिटयान्स भित्रिने गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले स्वदेशमा हुने आफन्तलाई आपविपत र चाडपर्व खर्च पठाउने हुँदा त्यो समयमा रेमिटयान्सको कारोबार बढने गर्छ ।

गत आर्थिक वर्ष ८ खर्ब ७९ अर्ब २७ करोड रेमिटयान्स नेपाल भित्रिएको थियो । बिभिन्न बैंक तथा सिटी एक्सप्रेस मनि ट्रान्सफर, आइएमई, प्रभु मनि ट्रान्सफर, वेस्टन युनियन मनि ट्रान्सफरलगायतका रेमिट कम्पनीहरूले रकम ल्याउने गर्छन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।