"एनआरएन नेपाल डेभलपमेन्ट फण्ड" अध्यक्षमा महतो, सिइओमा भट्टराई नियुक्त,१० अर्बको शेयर निष्कासन अर्को वर्ष

Apr 18, 2021 03:56 PM Merolagani



१० अर्ब रुपैयाँ बराबरको लगानी भित्र्याउने उद्देश्यले स्थापित कम्पनीले सञ्चालक समिति चयन गरेको छ। "एनआरएन नेपाल डेभलपमेन्ट फण्ड" का नामले स्थापित कम्पनीले व्यवसायी उपेन्द्र महतोको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको हो।

प्रस्तावित कम्पनीको शनिवार बसेको बैठकले महताेलाइ अध्यक्ष चयन गरेको बताइएको छ। शनिवारकै बैठकले अध्यक्ष सहित अर्थ मन्त्रालयका प्रतिनिधिका रुपमा अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा प्रमुख सहसचिव दीर्घराज मैनालीलाई सञ्चालक सदस्यको रुपमा चयन गरेको छ। अन्य सञ्चालक सदस्यहरूमा कुमार लम्साल, जीवा लामिछाने,डा. बद्री केसी, सोनाम लामा, महेश श्रेष्ठ,गौरी जोशी रहेका छन्।

शनिवार नै बसेको सञ्चालक समितिको पहिलो बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा पूर्व बैंकर अनलराज भट्टराईलाई नियुक्त गरेको छ। भट्टराईका अनुसार हाल कम्पनीले अस्थायी कार्यालयको रुपमा एनआरएनको  बालुवाटार स्थित भवनबाटै काम गरिरहेको छ। निकट भविष्यमै कम्पनीले आफ्नो छुट्टै कार्यालय स्थापना गर्ने छ।

कम्पनीले दर्ता प्रक्रिया सकि सकेको छ भने यति बेला प्रतिबद्धता जाहेर गरेका संस्थापकहरूबाट रकम माग गर्ने कार्यलाई अघि बढाएको छ। शनिवारसम्म कम्पनीको खातामा करिब तीन अर्ब रुपैयाँ दाखिला भइसकेको भट्टराईको भनाइ छ। अन्य संस्थापकहरूबाट रकम आउने क्रम जारी रहेको छ। कम्पनीमा करिब एक सय भन्दा बढी संस्थापक हुने बताइएको छ।

रकम संकलन पछि गैर आवासीय नेपालीका लागि कम्पनीले विदेशमै प्राथमिक शेयर निष्कासन गर्ने छ। प्रति कित्ता १० डलरका दरमा शेयर निष्कासन गर्ने कम्पनीको योजना छ। कम्पनीले निष्कासन गरेको शेयरमा नेपालमै बस्नेहरुले भने आवेदन दिन पाउने छैनन्। यो नितान्त गैर आवासीय नेपालीको लागि मात्रै हुने छ। जुन प्रयोग शेयर बजारको इतिहासमै पहिलो पटक गर्न लागिएको हो।    




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।