कोभिडको दोस्रो लहरले शेयर बजार घटाउला ? लगानीकर्ताको तर्क छ- घट्दैन बरु अझै बढ्छ

Apr 24, 2021 07:55 AM Merolagani



 सुवास निरौला

मुलुकमा यति बेला कोभिडको दोस्रो लहर शुरु भएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्ला दिनहरूमा संक्रमितकाे संख्यामा गुणात्मक वृद्धि देखिन थालेको छ।

यस अघि दैनिक एक सय जना भन्दा कम दरमा रहेको सङ्क्रमितको सङ्ख्या दुई हजार भन्दा माथि पुग्न थालेको छ। बढ्दै गएको सङ्क्रमणलाई मध्यनजर गर्दै सरकारले निश्चित क्षेत्रहरूमा प्रतिबन्ध समेत लगाइसकेको छ। सरकारले २५ भन्दा बढी मानिस भेला हुने गरी कुनै पनि काम गर्न रोक लगाएको छ। गत वैशाख ६ गते देखि सरकारले उक्त रोक लगाएको हो।

सरकारले केही ठाउँमा प्रतिबन्ध लगाए सँगै जनमानसमा भयको वातावरण देखिन थालेको छ। केही मानिसले आउने दिनमा पर्न सक्ने अप्ठ्यारोको अनुमान लगाउँदै रकमको समेत जोहो गर्न थालिसकेको बुझिएको छ। सर्वसाधारणले रकमको जोहो गर्न थाले सँगै शेयर बजार प्रभावित भएको इन्भेष्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए। "कोभिडको दोस्रो लहरको त्रासमा लगानीकर्ता देखिएका छन्। भोलि के होला भन्ने अनुमान सहित केही लगानीकर्ताले रकम जोहो गर्न भटाभट शेयर बिक्री गरिरहेका छन्" ढकालले मेरो लगानी सँग भने।

लगानीकर्ताले भटाभट शेयर बिक्री गरेकै कारण पछिल्ला केही दिन शेयर बजार निरन्तर ओरालो लागेको उनको भनाइ छ। कोभिडको असरले आर्थिक क्रियाकलाप बन्द हुँदा त्यसको असर शेयर बजारमा पनि पर्न सक्ने अनुमान सहित केही लगानीकर्ताले शेयर बिक्री बढाएको उनको भनाइ छ। 

केही लगानीकर्ताले अन्तर्राष्ट्रिय बजारलाई पनि नजिकबाट नियाल्न थालेका छन्। एक साता यता अमेरिकी लगायत भारतीय शेयर बजार प्रभावित हुँदै आएका छन्। छिमेकी राष्ट्र भारतकै प्रमुख शेयर बजार बिएसि सेनसेक्स एक साता यता बिहीबारसम्म १.९३ प्रतिशतले घटेको छ भने एक महिना यताको घट्ने क्रम अझै बढी छ। गएको एक महिनामा सेनसेक्सले ४.३८ प्रतिशत गुमाइ सकेको छ। एक महिना यता सेनसेक्सको प्राविधिक विश्लेषणले अत्यधिक बिक्री चाप "स्ट्रङ सेल" रहेको देखाएको छ। महिना दिन यता भारतमा कोभिडको सङ्क्रमण लगातार बढ्दो क्रममा देखिएको छ। बिहीबारसम्म सङ्क्रमितको सङ्ख्या एक करोड ५९ लाख नाघेको छ। मृत्यु हुनेको संख्या एक लाख ८४ हजार नाघी सकेको छ।

कोरोनाको सङ्क्रमण बढ्दै जाँदा भारत सरकारले संक्रमणको दर हेर्दै लकडाउन समेत गरिरहेको छ। जसका कारण मानिसहरूको चहलपहल समेत कम हुँदै गएको छ। भारतीय सञ्चार माध्यमका अनुसार कोभिडको दोस्रो लहरका कारण धेरै जस्तो आर्थिक गतिबिधि लगातार घट्दो क्रममा देखिएका छन्। क्रेडिट सुइसको रिपोर्ट अनुसार रिटेल र रि क्रिएसनको गतिविधि राम्रैसँग घटेको छ। गुगल मोबिलिटिका अनुसार ६ हप्ता अघिको गतिविधिको तुलनामा यस्तो गतिविधिमा ३६ प्रतिशतको गिरावट छ।  जसको कारण पनि शेयर बजारमा लगातार प्रभाव परिरहेको बताइएको छ।

नेपालमा पनि यस्तै हुने अनुमान केही लगानीकर्ताले गरेका छन्। जसको कारण उनीहरूले भटाभट शेयर बिक्रि गरिरहेका हुन्। तर केही लगानीकर्ता भने कोभिडको दोस्रो लहरले शेयर बजारलाई कुनै प्रभाव नपार्ने बताउँछन्। कोभिडको दोस्रो लहर बढ्दै गए शेयर बजारलाई बेफाइदा भन्दा फाइदानै बढी हुने तर्क गरिरहेका छन्। "कोभिडको असर बढ्दै जानु आफैमा ठिक होइन तर बढी नै हाल्यो भने पनि यसले कुनै फरक पार्दैन" शेयर बजारका लगानीकर्ता प्रकाश तिवारीले भने।

कोभिडको असरले किन फरक पार्दैन भनेर धेरै परको विश्लेषण गर्नै नपर्ने र विगतको अवस्थालाई मात्रै हेर्ने हो भने पनि कोभिडले शेयर बजारलाई घट्न भन्दा पनि बढ्न टेवा मिल्ने उनको भनाइ छ। कोभिडको असर बढ्दै गएमा आर्थिक गतिविधि सुस्त हुन थाल्छन्। अन्य क्षेत्रमा लगानीको वातावरण खस्किँदै जान्छ। अन्य तर्फ लगानीको वातावरण खस्किँदै जाँदा लगानीकर्ताहरू शेयर बजारमा आउन थाल्ने छन्। अन्य तर्फका लगानीकर्ता बजारमा आउँदै गर्दा शेयरको माग बढ्दै जाने छ। जसले शेयर बजारलाई माथि उक्लन टेवा मिल्ने छ। जुन यस अघिको अवस्थाले समेत पुष्टि गरिसकेको तिवारीको विश्लेषण छ।

शेयर बजारमा कुनै प्रभाव पर्दैन भनिरहेको भए पनि वैशाख लागे यता शेयर बजारले करिब एक सय अंक गुमाइ सकेको छ। सरकारले सावधानी अपनाउन भनेपछि बजार बिस्तारै घट्दो लयमा देखिएको छ। तर यो गिरावट कोभिडको कारणले भन्दा पनि त्रैमासिक वित्तीय विवरणका कारण घटेको तिवारीको विश्लेषण छ। लगानीकर्ताले पहिले नै यो अवधिमा शेयर बिक्री गर्ने भनेर तयारी अवस्थामा रहेका कारण यति बेला बजार घटेको उनको जिकिर छ।  




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।