कोभिड महामारीको समयमा पनि धेरै फाइनान्स कम्पनीहरुले आफ्नो नाफालाई घट्न दिएका छैनन्। तर यसमा फाइनान्स कम्पनीहरुकाे मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी भन्दा पनि अन्य आम्दानीको टेवा धेरै देखिन्छ।
खुद ब्याज आम्दानीमा गिरावटा आँउदा पनि फि कमिसन तथा सञ्चालन आम्दानीबाट फाइनान्स कम्पनीहरुले आफ्नो नाफा बढाएको देखिन्छ।
- धेरै नाफा कमाउनेमा मञ्जुश्री फाइनान्स
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा फाइनान्स कम्पनीहरुमा मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै ३७ करोड रुपैयाँ नाफा कमाएको छ।
यस अवधिमा १८ वटा फाइनान्सले औसतमा १० कोड ४१ लाख रुपैयाँ नाफा कमाएका छन् जसमध्ये मल्टिपर्पस फाइनान्सले सबैभन्दा कम ३० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ।
यस अवधिमा १३ फाइनान्स कम्पनीको नाफा बढेको छ भने ५ फाइनान्स कम्पनीको नाफा घटेको देखिन्छ।
- ब्याज आम्दानी घटेपनि, अन्य आम्दानी बढ्यो
कोभिड महामारीको असरका कारण यस अवधिमा फाइनान्स कम्पनीहरुको खुद ब्याज आम्दानी १४ प्रतिशतले घटेको छ। कोभिडको असरका कारण ब्याजदर घट्नु, ऋणीहरु ब्याज तिर्न नसक्ने अवस्थामा पुग्नु र त्रैमासको अन्तिममा उठ्नुपर्ने ब्याज समेत उठ्न नसक्दा उनीहरुको ब्याज आम्दानी घटेको छ।
ब्याज आम्दानी घटेपनि फाइनान्स कम्पनीहरुको नाफालाई पनि अन्य आम्दानीको टेवा मिलेको छ। यस अवधिमा फाइनान्स कम्पनीहरुको फि कमिसन आम्दानी २३ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी ३९ प्रतिशतले बढेको छ।
धेरै सञ्चालन आम्दानी गर्ने कम्पनीमा मञ्जुश्री फाइनान्स अगाडि छ भने फि कमिसनमार्फत आइसिएफसि फाइनान्सले धेरै कमाएको छ।
गत वर्षको तेस्राे त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा १४ वटा फाइनान्स कम्पनीको खुद ब्याज आम्दानी घटेको छ भने ४ वटाको मात्रै बढेको छ।

- युनाइटेड फाइनान्सको चुक्ता पूँजी सबैभन्दा धेरै, रिजर्भमा गोर्खाज फाइनान्स अगाडि
फाइनान्स कम्पनीहरुमध्ये नबिल बैंकसँग गाभिने सम्झौता गरेको युनाइटेड फाइनान्सकाे चुक्ता पूँजी सबैभन्दा धेरै १ अर्ब ४ करोड रुपैयाँ रहेको छ।
युनाइटेड फाइनान्स नबिल बैंकमा गाभिएपछि आइसिएफसि फाइनान्स सबैभन्दा धेरै पूँजी हुने फाइनान्स बन्नेछ। उसको चुक्ता पूँजी १ अर्ब २ करोड रुपैयाँ छ।
रिजर्भको आधारमा भने गोर्खाज फाइनान्स सबैभन्दा अगाडि देखिएको छ। उसको जगेडा कोषमा ८२ करोड रुपैयाँ छ। समृद्धि फाइनान्सको जगेडा कोष भने १४ करोड रुपैयाँले घाटामा छ।
- निक्षेप संकलन २० प्रतिशतले बढ्दा कर्जा लगानी १० प्रतिशतले मात्रै बढ्यो
चालु आर्थिक वर्षको ९ महिनामा फाइनान्स कम्पनीहरुको निक्षेप संकलन २० प्रतिशतले बढेको छ। फाइनान्स कम्पनीहरुमा आइसिएफसि फाइनान्सको निक्षेप संकलन सबैभन्दा धेरै १४ अर्ब ३३ करोड रुपैयाँ छ।
निक्षेप संकलनको तुलनामा फाइनान्स कम्पनीहरुको कर्जा लगानी भने कम देखिएको छ। यस अवधिमा उनीहरुको कर्जा लगानी १० प्रतिशतले मात्रै बढेको छ। कर्जा लगानीमा पनि आइसिएफसि फाइनान्स नै सबैभन्दा अगाडि देखिएको छ।
यस अवधिमा एक फाइनान्सको निक्षेप र ५ फाइनान्स कम्पनीको कर्जा लगानी घटेको छ।

- ललितपुर फाइनान्सको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै, प्रतिशेयर नेटवर्थमा गोर्खाज फाइनान्स अगाडि
चैत मसान्तसम्ममा ललितपुर फाइनान्सको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै ६३ रुपैयाँ रहेको देखिएको छ। त्यस्तै मञ्जुश्री फाइनान्सको पनि ५१ रुपैयाँ प्रतिशेयर आम्दानी कायम भएको छ। यस अवधिमा मल्टिपर्पस फाइनान्सको प्रतिशेयर आम्दानी सबैभन्दा कम १ रुपैयाँ रहेको छ।
प्रतिशेयर नेटवर्थको आधारमा भने गोर्खाज फाइनान्स सबैभन्दा अगाडि देखिएको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १९५ रुपैयाँ कायम भएको छ। समृद्धि फाइनान्सको प्रतिशेयर नेटवर्थ सबैभन्दा कम ६२ रुपैयाँ छ।
- मञ्जुश्री फाइनान्सको शेयरमूल्य सबेभन्दा धेरै, मल्टिपर्पसको पिई रेशियो २११ गुणा
बैशाख २१ गतेसम्ममा मञ्जुश्री फाइनान्सको शेयरमुल्य सबैभन्दा धेरै ४८९ रुपैयाँ रहेको छ। फाइनान्स कम्पनीहरुमध्ये यो सबैभन्दा उच्च मूल्य हो। गोर्खाज फाइनान्सको पनि शेयर मूल्य ४०० रुपैयाँभन्दा माथि छ।
मूल्य आम्दानी अनुपातका आधारमा मल्टिपर्पस फाइनान्स सबै भन्दा मह्गाे देखिएको छ। फाइनान्सको मुल्य आम्दानी अनुपात २११ गुणा धेरै छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा फाइनान्स कम्पनीहरुको खराब कर्जा औसतमा ४६ प्रतिशतले घटेको देखिएको छ।
यस अवधिमा प्रोग्रेशिभ फाइनान्सको खराब कर्जा सबैभन्दा कम ०.०३ प्रतिशत रहेको छ। ललितपुर फाइनान्सको खराब कर्जा सबैभन्दा धेरै ९६ प्रतिशत छ।
