तर, बुझेर लगानी गरे पनि डुब्न सकिन्छ किनकि जति बुझे पनि बुझाइ अपुग हुन सक्छ। लहलहैमा लाग्नेले पनि कमाउन सक्छन्। शेयर बजारमा एउटा मूल्यको सेरोफेरोमा धेरैले किनबेच गरेका हुन्छन्। हचुवाको भरमा किन्दा पनि सही मूल्यमा सही कम्पनी परेको हुन सक्छ।
पहिलो वर्गमा इन्साइडर इन्फरमेसन प्राप्त गरेर किनबेच गर्ने पर्दछन्। उनीहरुले सबैभन्दा धेरै कमाउन सक्छन्। केही व्यक्तिले कम्पनीहरुका आधिकारिक सूचना तथ्यांक सार्वजनिक हुनुअघि नै थाहा पाउँछन्। यो कार्य गैरकानुनी हो। तथापि व्यक्तिगत सम्पर्क र पहुँचको दुरुपयोग गरेर यस्तो कार्य हुने गर्दछ।
दोस्रो वर्गमा पर्ने मानिसहरु पहिलो वर्गका मानिसको पहिचान र अनुमान गरेर उनीहरुले कुन कम्पनीको के कति शेयर किनबेच गर्छन्? त्यो पत्ता लगाएर त्यसको फलो गर्छन्। यिनले पनि रामै्र फाइदा गर्ने सम्भावना रहन्छ।
तेस्रो वर्गमा खेलाडीहरु पर्छन्। केही व्यक्ति मिलेर ठूलो रकम हातमा लिएर बस्छन्। न्यून मूल्य रहेको कुनै साना कम्पनीको शेयर लगातार बढ्दो मूल्यमा किनबेच गर्दछन्। त्यो कम्पनीले भविष्यमा केही राम्रो गर्न लागेको रहेछ वा त्यसको मूल्य अझै बढ्छ भन्ने भ्रम बजारमा सिर्जना गर्न सफल हुन्छन्। मूल्य आकासिएको बेला आफ्नो सबै शेयर बिक्री गर्छन्।
चौथो वर्गका मानिसहरु टेक्निकल एनालाइसिस अनुसार कारोबार गर्छन्। यसमा कम्पनीको प्रतिफलसँग सरोकार हुँदैन। यसमा विगतदेखि वर्तमानको मूल्य हेरेर भविष्यको अनुमान गर्ने गरिन्छ। यो कम्पनीको मूल्य यतिसम्म पुग्ला, यो दिन यति नाघ्यो भने यतिसम्म पुग्ला भनेर अनुमान गरिन्छ।
आफूले टेक्निकल एनालाइसिस गर्न नजान्नेले अरुबाट त्यस्तो सेवा लिन्छन्। आम मानिसहरुको औसत मनोविज्ञान, बजारको तथ्यांक र प्रवृत्तिको आधारमा टेक्निकल विश्लेषणका टुलहरु बनाइएका छन्। उनीहरुले अप्रत्यक्ष रुपले पहिलो, दोस्रो र तेस्रो वर्गका मानिसहरुको पिछा गर्दछन्।
पाँचौ वर्गका मानिसहरु कुनै कम्पनीको विगतमा कतिसम्म माथि शेयर पुगेको थियो भनेर हेर्छन्। अहिले धेरै तल भएको देखे भने पहिले पुगेको ठाउँमा पक्कै पुग्छ होला भनेर किन्छन्। यिनीहरुले धेरै सूचना र विश्लेषणमा समय खर्चिदैनन् ।
छैटौं वर्गका मानिसहरु लामो समयदेखि स्थिर रहेको र तुलनात्मक सस्तो देखिएको शेयर किन्छन्। कुनै बेला बढ्ला भन्ने उनीहरुको अपेक्षा हुन्छ। यसको लागि मोटामोटी छोटो अध्ययन गरे पुग्छ ।
सातौं वर्गका मानिसहरु स्थिर भएको शेयर किन्दैनन्। कुनै कम्पनीको शेयर केही दिन उकालो लागेपछि अब बढ्न सुरु भएछ भनेर किन्छन्। थप केही दिन बढेपछि बेच्ने भन्ने उनीहरुको सोच हुन्छ। यसका लागि बजार हेरेर बसिराख्नुपर्छ ।
आठौं वर्गका मानिसहरु नाम चलेका चर्चित कम्पनीहरुको शेयर किन्छन्। उनीहरुले राम्रा कम्पनीको शेयर किनेकाले फाइदा हुन्छ भन्ने बुझाइ हुन्छ। ती कम्पनीको शेयर मूल्यसँग उनीहरुलाई मतलब हुँदैन। उनीहरुले शेयर किन्न केही मिहेनत नै गर्दैनन्।
नवौं थरीका मानिसहरु निजी क्षेत्रले स्वागत गर्ने खालको आर्थिक नीति आएपछि शेयर किन्छन्। उनीहरुलाई कम्पनी र शेयर मूल्यसँग मतलब हुँदैन। उदार नीति कार्यक्रम आएपछि शेयरको मूल्य बढ्छ भन्ने लाग्छ।
दशौं वर्गका मानिसहरु शेयरबाट त्यति धेरै नाफा कमाउने चाहना राख्दैनन्। बैंकको ब्याजभन्दा अलिकति बढी कमाइ हुने सुरक्षित लगानी गर्न चाहन्छन्। उनीहरुले कम्पनीले वर्तमानमा दिने प्रतिफल र भविष्यमा दिनसक्ने प्रतिफलबारे सूक्ष्म अध्ययन विश्लेषण गर्दछन्।
दशौं वर्गका मानिसहरु शेयरको मूल्य र प्रतिफललाई तुलना गर्दछन्। यति मूल्यमा शेयर किन्दा वार्षिक कम्तीमा यति प्रतिशत डिभिडेन्ट (प्रतिफल) आउँछ होला भन्ने प्रक्षेपण गर्दछन्। यसलाई फण्डामेन्टल एनालाइसिस भनिन्छ। यसका लागि विशेष ज्ञान क्षमता चाहिन्छ।
एघारौं वर्गका मानिसहरु शेयरको प्रतिफल र पूँजीगत लाभ दुवैको मिश्रण गर्न चाहन्छन्। उनीहरु फण्डामेन्टल एनालाइसिस गर्छन्। शेयरको मूल्य बढेन भने पनि कम्तीमा यति प्रतिफल आइहाल्छ र बढ्यो भने पुँजीगत लाभ पनि आउँछ भनेर हल्का जोखिम लिन्छन्।
बाह्रौं वर्गका मानिसहरु थोरै थोरै मूल्य भएका शेयरहरु किन्छन्। त्यसपछि उनीहरु निस्क्रिय बस्छन्। उनीहरुलाई तत्काल पैसाको खाँचो पर्दैन। उनीहरुले जति वर्षपछि जुन कम्पनीको मूल्य आकासिन्छ, त्यतिखेर त्यो कम्पनी बेच्छन्। यसरी पनि कमाउने सम्भावना हुन्छ किनकि जेजस्ता कम्पनीको मूल्य पनि कुनै न कुनै बेला कुनै न कुनै तरिकाले माथि जान सक्छ।
तेह्रौं वर्गका मानिसहरु माथिका बाह्रै वर्गका सिद्धान्तलाई मिश्रण गर्न खोज्छन्। केही लगानी सुरक्षित कम्पनीमा गर्छन। केही लगानी कम जोखिम, कम लाभमा गर्छन्। केही लगानी उच्च जोखिम, उच्च लाभमा गर्छन्। यसमा नाफाको सम्भावना बढी हुन्छ तर मानिसहरुको समय र क्षमताको सीमितता हुन्छ।
कुनै पनि वर्गका लगानीकर्ता पनि पूर्ण सुरक्षित भने हुँदैनन्। पहिलो वर्गको मानिसहरुको काम नै गैरकानुनी हो। फण्डामेन्टल एनालाइसिसबाट सुरक्षित मानिएका कम्पनी पनि भविष्यमा खराब हुन सक्छन्।
शेयरको मूल्यमा धेरै उतारचढाव आउने कम्पनीबाटै धेरै लाभ लिन सक्ने सम्भावना हुन्छ। त्यसमा गुमाउन सक्ने पनि उत्तिकै सम्भावना हुन्छ। छोटो समयमा धेरै कमाउने चाहना राख्ने जो कोहीका लागि फण्डामेन्टल एनालाइसिस झन्झट र बेकारको काम हुन्छ।
शेयर बजारमा सबैले कमाउने भन्ने हुँदैन। कसैले कमाउँदा कसैको गुमैकै हुन्छ। मूल्य कुनै विन्दुमा गएर घट्छ। हरेक वर्ष कम्पनीहरुले केही प्रतिफल दिन्छन्। त्यसैले कूल गुमाउनेभन्दा कुल कमाउने रकम केही धेरै भने हुन्छ।
उदाहरणको लागि पाँच जना तास खेल्दा कूल हारेको रकम १ हजार छ भने जितेको रकम पनि १ हजार नै हुन्छ। शेयरमा भने हारेको रकम १ हजार छ भने जितेको रकम ११ सय हुन सक्छ। तास जस्ता जुवा निश्चित समय खेलेर खत्तम हुने हुँदा हारहित स्पष्ट थाहा हुन्छ। शेयरमा लगातार खेल हुने, मानिसहरु प्रवेश गर्ने, होल्डमा बस्ने, बाहिरिने, नयाँ प्रवेश हुने हुँदा हारजित स्पष्ट थाहा हुँदैन।