बैंकको ब्याज तिर्न ‘करेक्सन’ भएको शेयर बजार पुनः लयमा फर्कियो, अझै बढ्ने संकेत

Jun 13, 2021 03:54 PM Merolagani



शेयर धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको जेठसम्मको ब्याज शेयर बिक्री गरेर तिर्न थाल्दा करेक्सन भएको बजार पुनः उकालो लागेको छ । लगानीकर्ताहरुले गत बिहीबारसम्ममा नै ऋणको ब्याज तिर्न शेयर बिक्री गरेर रकम जोहो गरिसकेकाले पुनः आज (आइतबार) देखि बढ्न थालेको हो ।

सामान्यतया बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज प्रत्येक तीन तीन महिनामा (असोज, पुस, चैत र असारको अन्त्य) तिर्ने गर्छन् । तर, केही बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज प्रत्येक महिना तिर्नु पर्ने हुन्छ । त्यसरी प्रत्येक महिना तिर्नुपर्ने कर्जाको ब्याजका लागि महिनाको अन्त्यतिर शेयर बिक्री गर्छन् । त्यस्तो अवस्थामा सामान्यता बजारमा करेन्सन आउने गर्छ ।

यतिबेला लगानीकर्ताले जेठ महिनाको अन्त्यसम्मको ब्याज भुक्तानीका लागि रकमको जोहो गरिसकेकाले बजार फेरी उकालो लाग्न पुगेको छ । गत मंगलबारसम्म नेप्सेले नयाँ उचाइ बनाउँदै २९६०.१९ अंकसम्म पुगेको थियो । त्यसपछिका दुई दिन नेप्से सामान्य करेक्सन भएर २९४४.७८ अंकमा आएको थियो । तर आज पुनः शेयर बजार बढेको छ ।

जेठको अन्तिममा बैंकको ब्याज बुझाउनेले रकमको जोहो गरिसकेकाले पुनः शेयर बजार उकालो लागेको लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए । ‘ब्याज तिर्नका लागि रकम जोहो गर्न थाल्दा महिनाको अन्त्यतिर बजारमा करेक्सन आउने गर्छ,’ उनले भने, ‘तर, अहिले बैंकको ब्याज बुझाउनेले समेत रकमको व्यवस्था गरिसकेकाले पुनः बजार बढेको हो ।’

धेरैजसो लगानीकर्ताले प्रत्येक तीन तीन महिनामा ब्याज तिर्ने भएकाले त्यति धेरै करेक्सन जेठको अन्तिममा नआएको लगानीकर्ताको भनाइ छ । तर, केही लगानीकर्ताले प्रत्येक महिनाको अन्तिममा शेयर बिक्री गरेर ब्याज तिर्न खोज्दा सामान्य बजार सामान्य तरिकाले घट्न पुगेको हो ।

अहिले फेरी साताको पहिलो दिन आज आइतबार नेप्से बढेर २९८३ अंक माथि पुगेको छ । नेप्सेले नयाँ उचाइ चुमेको छ । कारोबार रकम पनि करिव १९ अर्ब ५५ कराेड भएको छ ।

बैंकको जेठसम्मको ब्याज तिर्न गत बिहीबारसम्म नै शेयर बिक्री गर्नु पर्ने हुन्छ । गत बिहीबारसम्म बिक्री गर्नेले सोमबारसम्म रकम पाउने र बैंकको ब्याज तिर्न सक्ने सम्भावना भएको एक ब्रोकरले बताए । ‘बिहीबार शेयर बिक्री गर्नेले सोमबारसम्ममा रकम पाउने छन्,’ उनले भने, ‘त्यो रकमले जेठ मसान्तसम्मको ब्याज भुक्तानी गर्न सकिन्छ ।’

अहिले जेठ मसान्तसम्मको लगानीकर्ताले ब्याज तिर्नका लागि रकम जोहो गरिसकेकाले शेयर बजार पुनः उकालो लाग्न पुगेको ब्रोकरले बताए ।

विगत वर्षहरु भन्दा यस वर्षको जेठ मसान्तसम्मको ब्याज भुक्तानी गर्नका लागि ठूलो चाप नपरेको ब्रोकरहरुको भनाइ छ । ‘बिक्रीमा ठूलो दबाब आएको भए नेप्से निकै ओरालो लाग्न पुग्थ्यो,’ एक ब्रोकरले भने ।

तर यस वर्ष बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज तिर्न दबाब खासै नदिएको लगानीकर्ताहरुको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थालाई जेठको अन्त्यसम्म लगानी गरेको ऋणको ब्याज उठाउने चटारो हुने गर्छ । त्यसरी उठाएको रकमको नाफा घाटाको हिसाब–किताब गर्ने अन्तिम तयारीमा बैंक तथा वित्तीय संस्था छन् । उनीहरुले चालु अर्थिक वर्षको ११ महिनाको आम्दानी र खर्च कति भयो र लगानीकर्तालाई यो आर्थिक वर्षभित्रमा कति लाभांश दिन सकिन्छ भनेर मोटमोटी हिसाब गर्दै छन् ।

जेठको अन्त्यसम्म ब्याज भुक्तानी गर्नका लागि बिहीबारसम्म शेयर बिक्रीमा केही चाप परेको ब्रोकरहरु बताउँछन् । यता लगानीकर्ताहरु पनि शेयर बिक्री गरेको रकम लिएर भोलीसम्म ब्याज बुझाउने अन्तिम तयारीमा छन् ।

बैंक तथा वित्तीय संस्थाले बैंशाखसम्ममा करिव १ खर्ब रुपैयाँ शेयर धितोमा ऋण प्रवाह गरेका छन् । वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले ८–१० प्रतिशत ब्याजदरमा शेयर धितोमा ऋण दिइरहेका छन् । त्यसको ब्याज लगानीकर्ताले प्रत्येक महिनाको अन्तिम वा तीन तीन महिनामा तिर्ने गर्छन् ।

ब्याज बुझाउन समस्या परेका शेयर बिक्री गर्दा गत साताको अन्तिम दिन नेप्से घट्न पुगेको थियो । तर, त्यसरी घट्नुलाई केही ठूला लगानीकर्ताले अवसरको रुपमा लिएर शेयर खरिद गर्न पुगेको ब्रोकरको भनाइ छ ।

आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय वितरणमा अधिकांश कम्पनीले नाफा बढाएको र चौथौ त्रैमासमा पनि कम्पनीहरुको वित्तीय विवरण राम्रो आउने सम्भावना भएकाले बजार अझै बढ्ने विश्लेषकहरु बताउँछन् ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।