विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का बाबजुद पनि बीमा कम्पनीहरुले उल्लेख्य बीमाशुल्क आर्जन गर्न सफल भएका हुन । नेपालमा सञ्चालित १९ वटै जीवन बीमा कम्पनीहरुले बीमाशुल्क बढाएका छन् । २० निर्जीवन बीमा बीमा कम्पनी मध्ये २ बीमा कम्पनीको बीमाशुल्क भने घटेका छन् ।
अघिल्लो आर्थिक वर्षको असार सम्मको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क २८.१५ प्रतिशतले बढेर १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको जेठसम्ममा जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३८ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेका थिए ।
यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले पनि कुल बीमाशुल्क १६.७६ प्रतिशतले बढाएर ३१ अर्ब ७० करोड रुपैयाँ संकलन गरेका छन् । अघिल्लो आर्थिक वर्षको असारसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २७ अर्ब १५ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका थिए ।
नेपाल लाइफकाे अग्रता कायमै, व्यावसाय विस्तारमा नयाँ कम्पनीहरु आक्रमक बन्दै
जीवन बीमा अन्तर्गत नेपाल लाइफले आफ्नो अग्रतालाई कायम राख्दै एक्लैले ३२ अर्ब ८४ करोड रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २७.१५ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षको असारसम्ममा कम्पनीले २८ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
नेपाल लाइफले कुल बीमाशुल्क आर्जनमा आफ्नो अग्रता कायमै राख्दा अधिकाँश नयाँ जीवन बीमा कम्पनीहरुले भने आक्रमक व्यावसाय विस्तार गरेका छन् । प्रयाजसो नयाँ जीवन बीमा कम्पनीहरुले आफनो व्यावसाय आक्रमक रुपले बढाएका छन् ।
सबैभन्दा धेरै बीमाशुल्क बढाउनेमा सानिमा लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा सानिमा लाइफको बीमाशुल्क १३७.८० प्रतिशतले बढेर १ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ८२ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।
सन नेपाल लाइफको बीमाशूल्मा १ अर्ब ११ करोड रुपैयाँबाट शत प्रतिशतले बढेर २ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यस्तै आईएमई लाइफ, रिलायवल नेपाल लाइफ, रिलायन्स लाइफ र सिटिजन लाइफले पनि कुल बीमाशुल्क ८० प्रतिशत भन्दा धेरैले बढाएका छन् ।

सबै भन्दा कम भने राष्ट्रिय बीमा संस्थानको ५.११ प्रतिशतले मात्रै बीमाशुल्क बढेको छ । संस्थानको बीमाशुल्क ७ अर्ब ५ करोड रुपैयाँबाट बढेर ७ अर्ब ४१ करोड रुपैयाँ पुगेको हो ।
यस अवधिमा सबै भन्दा कम बीमाशुल्क आर्जन गर्नेमा भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको रहेको छ । कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको ०.८८ प्रतिशत मात्रै हो ।
महालक्ष्मी लाइफको बीमाशुल्क भने ८७ करोड रुपैयाँबाट २१.८४ प्रतिशतले बढेर १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।
बीमाशुल्क आर्जनमा शिखर पहिलो बन्दा दुई कम्पनीको बीमाशूल्क भने घट्यो
कुल बीमाशुल्क आर्जनमा शिखर इन्स्योरेन्सले आफुलाई निरन्तर अब्बल सावित गर्दै आएको छ । गत आर्थिक वर्षको असार समान्तसम्ममा पनि शिखरले ३ अर्ब ९७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको १२.५२ प्रतिशत हो ।
शिखर इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको असारसम्ममा ३ अर्ब ५२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
कुल बीमाशुल्कको आधारमा व्यवसाय बढाउनेमा भने सानिमा जनरल इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । सानिमाले यस अवधिमा सबैभन्दा ८५.७१ प्रतिशतले कुल बीमाशुल्क बढाएको छ । सानिमाको बीमाशुल्क ३५ करोड रुपैयाँबाट ६५ करोड रुपैयाँ पुगेको हो ।
सानिमा र जनरल इन्स्योरेन्सले सबै भन्दा कम ६५ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन छन् । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कमा २.०५ प्रतिशत मात्रै हो ।
कुल बीमाशुल्क बढाउनेमा युनाईटेड इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । युनाईटेडले यस अबधीमा ५९.०९ प्रतिशतले बीमाशुल्क बढाएको छ । यस्तै अजोड इन्स्योरेन्सको पनि ४७.६७ प्रतिशतले बीमाशुल्क बढेको छ ।
यसैगरी राष्टिय बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको बीमाशुल्क पनि २० प्रतिशत भन्दा धेरैले बढेका छन् ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा हिमालयन जनरल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको खुद बीमाशुल्क भने घटेका छन् । हिमालयनको कुल बीमाशुल्क १ अर्ब ३७ करोड रुपैयाँबाट ५.११ प्रतिशतले घटेर १ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ ।
यस्तै प्रभु इन्स्योरेन्सको बीमाशुल्क सवार्धिक १२.९० प्रतिशतले घटेर १ अर्ब ३५ करोड रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।