काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गर्ने, कति पाउँछन् सर्वसाधारणले शेयर ?

Jul 21, 2021 03:19 PM Merolagani



सुवास निरौला

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)ले सर्वसाधारणलाई शेयर जारी गर्ने भएको छ। छिट्टै बस्न लागेको साधारण सभामा कम्पनीले उक्त प्रस्ताव लैजाने भएको छ। कम्पनी स्थापना हुँदाका बखतमै सर्वसाधारणलाई १५ प्रतिशत शेयर जारी गर्ने व्यवस्था गरिएको थियो।

सोही व्यवस्थालाई कार्यान्वयनमा लैजान भन्दै आगामी साधारण सभामा प्रस्ताव लान लागिएको कम्पनीले जनाएको छ। “कम्पनी स्थापना हुँदै सर्वसाधारणको लागि १५ प्रतिशत छुट्टाइएको छ। कम्पनीको प्रबन्धपत्र नियमावलीमै सो व्यवस्था छ। सोही कारण पनि अब सर्वसाधारणलाई  शेयर निष्कासन गर्ने प्रस्ताव लान लागिएको हो” कम्पनीका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले मेरो लगानीसँग भने।

कम्पनीले यस अघि शेयर जारी गर्ने भनेको भए पनि उक्त व्यवस्था कार्यान्वयनमा लगेको थिएन। कम्पनीले हालै मेलम्चीको पानी उपत्यकामा वितरण गर्न सुरु गरेसँगै उसको बजार बिस्तार भएको छ। यद्यपि अहिले मेलम्ची बाढीकाे प्रभावमा परेको छ। तथापि दसैँ भन्दा अघि नै मेलम्चीको पानी उपत्यकामा पुन: वितरण गर्ने गरी काम सुरु भइसकेको कम्पनीको भनाइ छ। कम्पनीले मेलम्चीको पानी वितरण सुरु गरेसँगै उसको व्यवसायिक यात्रा थप बलियो बन्ने अनुमान गरिएको छ। जसको कारण पनि अब सर्वसाधारणलाई शेयर जारी गर्नु पक्षमा कम्पनी पुगेको शाक्यको भनाई छ।

कम्पनीमा सर्वसाधारणलाई शेयर जारी गर्दा कम्पनीप्रति सर्वसाधारणको समेत अपनत्व हुने र थप रकमले पानी सम्बन्धी बजार बिस्तारमा कम्पनीले लगानी गर्न सक्ने छ। आगामी दिनमा कम्पनीलाई मुनाफामा लैजाने गरी काम अघि बढाउन सर्वसाधारणका लागि शेयर जारी गर्न लागिएको शाक्यले बताए।

हाल कम्पनीमा सात संस्थापक रहेका छन्। सबैभन्दा बढी महानगरपालिकाको शेयर स्वामित्व छ।  काठमाण्डौ महानगर पालिका र ललितपुर महानगर पालिकाको जम्मा प्रति शेयर एक सय रुपैयाँ दरका एक लाख २० हजार कित्ता शेयर छन्।  सबैभन्दा बढी लगानी गर्ने संस्थापकहरूमा नेपाल सरकार दोस्रो स्थानमा छ। भौतिक योजना तथा निर्माण मन्त्रालयको ९० हजार कित्ता शेयर छ।  यसै गरी उद्योग वाणिज्य महासंघको नौ हजार कित्ता,नेपाल चेम्बर अफ कमर्सको २७ हजार कित्ता,भक्तपुर उद्योग वाणिज्य महासंघ र ललितपुर उद्योग वाणिज्य महासंघको ४५ सय कित्ताको दरको शेयर स्वामित्व छ।

हाल कम्पनीको जारी पूँजी ४४ करोड रुपैयाँ छ। जसमा कम्पनीले चार लाख कित्ता साधारण शेयर र ४० लाख कित्ता अग्राधिकार शेयर मार्फत सङ्कलन गर्ने कम्पनीको प्रबन्ध पत्र नियमावलीमा उल्लेख छ। प्रबन्ध पत्र अनुसार यति बेला कम्पनीको कुल चुक्ता पूँजी दुई करोड ५५ लाख रुपैयाँ छ। कम्पनीले जारी पूँजीको १५ प्रतिशत हुने बराबरको शेयर सर्वसाधारणको लागि छुट्टाएको छ। सोही छुट्टाएको शेयर जारी गर्न लागिएको हो।

कम्पनीले शेयर जारी गर्ने भनेको भए पनि तीन वर्ष यता साधारण सभा समेत गर्न सकेको छैन।  कम्पनीले रोकिएका सबै साधारण सभा एकै पटक गर्ने तयारी गरेको छ। कम्पनीको सबै हिसाब किताब मिलानको लागि  उसले कम्पनी रजिष्ट्रार कार्यालयको सहयोगमा लेखा परीक्षक नियुक्ति गरेको छ। उक्त नियुक्ति सँगै कम्पनीलाई साधारण सभा गर्न समेत बाटो खुलेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।