गत वर्ष फाइनान्स कम्पनीले कमाए झण्डै २ अर्ब नाफा, ४३ प्रतिशतले नाफा बढ्दा कुन फाइनान्स अब्बल ?

Aug 23, 2021 09:20 AM Merolagani



गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुले खुद नाफा ४३ प्रतिशतले बढाएका छन्। फाइनान्स कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे अपरिष्कृत वित्तीय विवरण अनुसार साढे ५९ करोड रुपैयाँले नाफा बढेको देखिएको हो।

गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार १५ फाइनान्स कम्पनीहरुले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लाे आर्थिक वर्षमा १ अर्ब ३७ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका फाइनान्स कम्पनीहरुको नाफा गत वर्ष ५९ करोड ५१ लाख अर्थात ४३.२४ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको भन्दा तीनवटा फाइनान्स कम्पनी घटेका छन्। गत वर्ष १७ फाइनान्स कम्पनी सञ्चालनमा रहेकोमा युनाइटेड फाइनान्स नविल बैंकसँग गाभिएको छ भने सिर्जना फाइनान्स सिटिजन्स बैंकसँग गाभिएको छ त्यस्तै ललितपुर फाइनान्स पनि नेपाल फाइनान्समा गाभिएको छ। यसरी तीन फाइनान्स कम्पनी घट्दा समेत फाइनान्स कम्पनीहरुको नाफामा भने उच्च बृद्धि देखिन्छ।

  • खुद नाफा र वितरणयोग्य नाफामा मञ्जुश्री फाइनान्स सबैभन्दा अगाडि

गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुले कुल १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाउदा शेयरधनीलाई बाँड्न मिल्ने वितरणयोग्य नाफा १ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ कमाएका छन्।

गत आर्थिक वर्षको चौथो त्रैमासमा मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै ५६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो फाइनान्स कम्पनीहरुमा सबैभन्दा धेरै हो। खुद नाफामा मात्रै होइन वितरणयोग्य नाफामा पनि मञ्जुश्री फाइनान्सकै सबैभन्दा धेरै ४८ करोड ५६ लाख रुपैयाँ कमाएको छ।

गोर्खाज फाइनान्सले २० करोड १८ लाख रुपैयाँ नाफा कमाएर दोस्रो स्थानमा देखिएको छ। उसको वितरणयोग्य नाफा १० करोड ३६ लाख छ। वितरणयोग्य नाफामा भने अन्य फाइनान्सले जितेका छन्।

गत वर्ष समृद्धि फाइनान्स खुद नाफा र वितरणयोग्य नाफा दुबैमा सबैभन्दा पछाडि देखिएको छ। उसले गत वर्ष ४५ लाख खुद नाफा कमाएको छ भने २८ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ।

  • साढे २ अर्ब ब्याज आम्दानी हुँदा साढे ४ अर्ब सञ्चालन आम्दानी

गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुले कुल २ अर्ब ४९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्दा ४ अर्ब ५८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेका छन्।

फाइनान्स कम्पनीहरुको मुख्य आम्दानीको स्रोत ब्याज आम्दानी भएपनि गत वर्ष ब्याज आम्दानी भन्दा अन्य स्रोतको आम्दानी धेरै रहेको देखिएको छ।

गत वर्ष ब्याज आम्दानीमा पोखरा फाइनान्स सबैभन्दा अगाडि देखिएको छ। उसले ३१ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

त्यस्तै सञ्चालन आम्दानीमा भने मञ्जुश्री फाइनान्स अगाडि देखिन्छ। उसले गत वर्ष १ अर्ब ८ करोड ९३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

  • आइसिएफसि फाइनान्सको पूँजी सबैभन्दा धेरै, जगेडामा गुडविल फाइनान्स अगाडि

गत आर्थिक वर्षमो चौथो त्रैमासको वित्तीय विवरण अनुसार फाइनान्स कम्पनीहरुको चुक्ता पूँजी ११ अर्ब ९० करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ५ अर्ब ९३ करोड रुपैयाँ छ।

चुक्ता पूँजीको आधारमा मञ्जुश्री फाइनान्स सबैभन्दा अगाडि छ। गत असार मशान्तसम्ममा उसको पूँजी १ अर्ब २ करोड रुपैयाँ पुगेको छ। यस्तै रिजर्भमा भने गुडविल फाइनान्स अगाडि छ । १ अर्ब १३ करोड रुपैयाँ गुडविल फाइनान्सको रिजर्भमा छ।

  • व्यवसाय विस्तारमा आइसिएफसि फाइनान्स अगाडि

गत असार मशान्तसम्ममा फाइनान्स कम्पनीहरुको कुल निक्षेप संकलन ८६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ६० अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।

फाइनान्स कम्पनीहरुमध्ये आइसिएफसि फाइनान्स सबैभन्दा अगाडि देखिएको छ। निक्षेप संकलन र कर्जा लगानी उसैको धेरै छ। उसले १५ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ५८ कराेड रुपैयाँ कर्जा लगानी गरेको छ।

यस्तै मल्टिपर्पस फाइनान्सको निक्षेप सबैभन्दा कम ३६ करोड ९७ लाख रुपैयाँ छ भने नेपाल फाइनान्सको कर्जा लगानी सबैभन्दा कम २९ करोड ७२ लाख रुपैयाँ छ।

  • प्रतिशेयर आम्दानीमा मञ्जुश्री फाइनान्स अगाडि, नेटवर्थ गुडविल फाइनान्सको धेरै

गत आर्थिक वर्षको चौथो त्रैमासको विवरण अनुसार मञ्जुश्री फाइनान्सको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै ५८ रुपैयाँ ८४ पैसा रहेको छ भने समृद्धि फाइनान्सको सबैभन्दा कम ८२ पैसा रहेको छ।

यसैगरी वितरणयोग्य प्रतिशेयर आम्दानी पनि मञ्जुश्री फाइनान्स नै अगाडि रहेको छ।

प्रतिशेयर नेटवर्थमा भने गुडविल फाइनान्स सबैभन्दा अगाडि छ। उसको प्रतिशयर नेटवर्थ २३० रुपैयाँ ५२ पैसा रहेको छ। समृद्धि फाइनान्सको प्रतिशेयर नेटवर्थ सबैभन्दा कम ७२ रुपैयाँ ६८ पैसा छ।

  • फाइनान्स सेक्टरको औसत पिई ११८.५८ प्रतिशत पुग्यो

गत आर्थिक वर्ष बढ्दो क्रममा रहेको नेप्सेमा फाइनान्स कम्पनीहरुको शेयरमूल्य पनि बढ्दै जाँदा मूल्य आम्दानी अनुपात समेत बढेर १०० गुणा भन्दा माथि पुगेको छ।

फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमासमा फाइनान्स कम्पनीहरुले कायम गरेको प्रतिशेयर आम्दानी र भदौ २ गतेको अन्तिम कारोबारमूल्य अनुसार गणना गर्दा औसत पिई रेशियो ११८.५८ गुणा पुगेको देखिन्छ।

  • खराब कर्जा भने उच्च

फाइनान्स कम्पनीहरुको खराब कर्जा भने उच्च देखिएको छ। गत वर्षको चौथो त्रैमासको विवरण अनुसार १५ फाइनान्सको खराब कर्जा औसतमा ६.०९ प्रतिशत रहेको देखिन्छ।

यस अवधिमा नेपाल फाइनान्सको खराब कर्जा सबैभन्दा धेरै ४४.८२ प्रतिशत छ भने गुह्वेश्वरी मर्चेण्टको सबैभन्दा कम ०.३२ प्रतिशत छ।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।