नेप्सेमा झिनो सुधार, कारोबार रकम सामान्य घट्यो

Sep 13, 2021 03:32 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ। मध्यान्हसम्म सकारात्मक रहेको नेप्से, त्यसपछिको समयमा भने ओरालो लागेको हो।

सोमबार नेप्से परिसूचक ०.२७ अंक बढेर २९४७.६९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.५५ अंक, फ्लोट इण्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक बढेको छ।

यस दिन नेप्से झिनो अंकले बढेपनि कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो दिन ९ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२६ कम्पनीको ९३ हजार २१८ पटकको कारोबारमा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ५६ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ। कारोबारमा आएको अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेको हो। त्यसैगरी, युनाइटेड इदी मार्दी र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यता कालिका पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्गको ०.८६ प्रतिशत, व्यापारको ०.८७ प्रतिशत र जीवन बीमाको ०.५२ प्रतिशत बढेको छ।

जलविद्युत उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक २.५४ प्रतिशत घटेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.३५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको यस दिन ४७ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।