जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले शेयर बजारमा मात्रै ६० अर्ब २ करोड ५४ रुपैयाँ लगानी गरेका छन् । यो जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले गरेको कुल लगानीको ११.८४ प्रतिशत हुन्छ ।
बीमा कम्पनीहरुले शेयर बजारसँग सम्बन्धित क्षेत्र सूचीकृत पब्लिक कम्पनीहरुको साधारण शेयरमा, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चर, सरकारी बचतपत्र तथा ऋणपत्र, म्युचुअल फण्ड र नागारिक लगानी कोषमा गरिएको लगानी समेटिएका छन् ।
जीवन बीमामा एलआईसी नेपालको मात्रै १० अर्ब भन्दा बढी लगानी
गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा जीवन बीमा कम्पनीहरुले ५४ अर्ब ८६ करोड रुपैयाँ शेयर बजारमा लगानी गरेका छन्।
जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीहरुको साधारण शेयरमा ११ अर्ब ९४ करोड ५९ लाख, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र १८ अर्ब २९ करोड ७९ लाख, सूचीकृत पब्लिक सुरक्षित डिबेन्चरमा २१ अर्ब ५४ करोड ९५ लाख रुपैयाँ, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा २ अर्ब ४ करोड ५३ लाख रुपैयाँ, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ७८ करोड ६१ लाख रुपैयाँ गरी सो बराबरको रकम लगानी गरेका हुन् ।
जीवन बीमा अन्तर्गत एलआईसी नेपालले सबैभन्दा धेरै १० अर्ब २३ करोड ८७ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेको छ । एलआईसीले सूचीकृत कम्पनीको साधारण शेयरमा २ अर्ब ६६ करोड, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा ७ अर्ब ४८ करोड र म्युचुअल फण्ड तथा नागरिक लगानी ८ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ ।
यस्तै नेशनल लाइफ इन्स्योरेन्सले पनि ८ अर्ब ४५ करोड रुपैयाँ बराबरको रकम शेयर बजारमा लगानी गरेको छ । नेपाल लाइफ र एशियन लाइफ इन्स्योरेन्सले पनि शेयर बजारमा ६ अर्ब रुपैयाँ भन्दा धेरै रकम लगानी गरेको छ ।
शेयर बजारमा सबैभन्दा कम लगानी गर्ने जीवन बीमा कम्पनीमा प्राइम लाइफ इन्स्योरेन्स रहेको छ । प्राइम लाइफ लाइफले यस अवधिमा सूचीकृत कम्पनीको साधारण शेयरमा ९ लाख २० हजार, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्रमा २७ लाख ९० हजार रुपैयाँ र म्युचअल फण्ड तथा नागरिक लगानीकोषमा १५ हजार रुपैयाँ गरी ३८ लाख ६० हजार रुपैयाँ मात्रै लगानी गरेको छ।
शिखर इन्स्योरेन्सको शेयर बजारमा एक अर्ब बढी लगानी
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २० निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ४० करोड रुपैयाँ शेयर बजारमा लगानी गरेका छन् ।
त्यस मध्ये सबैभन्दा धेरै रकम शिखर इन्स्योरेन्सले १ अर्ब ३ करोड ६५ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेको छ । शिखरले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ३७ करोड १९ लाख, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चरमा ६२ करोड ६८ लाख रुपैयाँ र म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ३ करोड ७८ लाख रुपैयाँ गरी एक अर्ब ३ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ ।
यस्तै राष्ट्रिय बीमा कम्पनीले पनि सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ८५ करोड ९५ लाख रुपैयाँ र म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ५ करोड ९९ लाख रुपैयाँ गरी ९१ करोड ९४ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेको छ ।
शेयर बजारमा सबैभन्दा कम लगानी गर्नेमा भने सानिमा जनरल इन्स्योरेन्स रहेको छ । सानिमाले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा १२ लाख र बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्रमा एक करोड ७३ लाख रुपैयाँ गरी एक करोड ८५ लाख रुपैयाँ मात्रै शेयर बजारमा लगानी गरेको छ ।